smart doko

मोदी महात्म्य

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख ३० आईतवार | प्रकाशित १९:१३:४७
मोदी महात्म्य

मोदी महात्म्य:

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुइ दिने राजकीय भ्रमण सकेर दिल्ली फर्किसकेका छन् । मोदीको भ्रमणले ल्याएको तरङ्गले भने नेपाली समाज हलचल भईरहेको छ । मोदी भ्रमणका सकारात्मक र नकारात्मक चर्चा गर्नको लागि नेपाली समाज विभक्त भएको छ । कसैले मोदी भ्रमणलाई सकारात्मक रुपमा व्याख्या गरिरहेका छन् भने कसैले मोदीको भ्रमणलाई निकै नकारात्मक रुपमा व्याख्या गरिरहेका छन् ।

खास गरि क्षेत्र विशेषलाई महत्व दिईएको मोदीको भ्रमणलाई प्रदेश नम्बर दुई केन्द्रित भ्रमणको रुपमा हेर्ने हरु पनि प्रसस्तै देखिए त्यो दृष्टिकोण लाइ प्रदेश नम्बर दुइका मुख्यमन्त्रीको लिखित भाषणले थप बल पुर्यायो । मुख्यमन्त्रीको भाषणको विद्वत वर्ग र सबै राजनैतिक दल हरुले समेत आलोचना गरे ।दुइ नम्बर प्रदेशका मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्री संग गरेको हार गुहार अत्यन्तै लज्जास्पद र हिनताबोध हुने किसिमको देखिएको थियो ।

लम्पसार वाद:

नेपालको राष्ट्रवादलाई नजिक बाट नियाल्दा ‘राष्ट्रवादको विविधता’ पहिल्याउन गाह्रो छैन । आजको अवस्थामा मुख्य राष्ट्रवाद मानिएको “पहाडिया राष्ट्रवाद”पुर्णतया नरेन्द्र मोदीको खिलाफमा रहेको स्पष्ट देखीएको छ भने मधेश केन्द्रित राष्ट्रवाद मोदी संग गुहार माग्न तछाड मछाड गरिरहेको देख्न सकिन्छ । मधेशका नेता हरु नेपाल सरकार संग भन्दा भारतीय सरकार संग बढी आशावादी रहेको समेत यो पटकको भ्रमणमा प्रष्ट संग देख्न पाइयो ।

छिमेकीको लागि प्रदान गरिने सम्मान जुनसुकै सरकारको आन्तरीक निर्णयको मामला मात्र होइन । त्यो सम्मान संग राष्ट्रिय स्वार्थ पनि जोडिएको हुने गर्दछ । बिदेशी पाहुनालाई गरिने सम्मानले राष्ट्रको स्वाभिमानमा आंच आउनु हुदैन ।नरेन्द्र मोदीलाई नेपालमा गरिएको सम्मानले बराबरीको कुटनैतिक मर्यादा कायाम राख्यो या राखेन त्यो समयले मुल्यांकन गर्ला तर भारतिय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले नेपाली जनको मन बाट आफ्नो सम्मान पुर्णरुपमा गुमाएका रहेछन त्यो प्रमाणीत भयो । 

विस्तारवादी अभिष्ट:

संसारभर ‘मोदी कुटनीति’को चर्चा हुने गरेको छ । तर मोदीको कुटनिती नेपालको संदर्भमा सम्पुर्ण रुपमा असफल रहेको तथ्य अहीले खस्कदै गएको मोदीकोलोकप्रियताले पुष्टी गरिसकेको छ। 

असफल भारतीय कुटनीतिको उदाहरण हेर्न अन्त जानै पर्दैन ।नेपालमा जारी हुनै लागेको संविधान प्रतिको गलत बुझाई, तराई आन्दोलन लाई भारतले गरेको समर्थन र भूकम्प लगत्तैको नाकावन्दी भारतिय कुटनिती असफल भएका उदाहरण हरु हुन् ।

एक समय थियो नेपालमा मोदीको जयजयकार हुने गरेको थियो । नेपालमै नेपालका नेता भन्दा मोदी लोकप्रिय थिए र उदाहरणीय थिए । तर समयमा उनले आफ्नो लोकप्रियतालाइ कायम राख्ने सही कदम उठाउन सकेनन । 

मधेसवादी नेता हरुलाई नयाँ संविधानको “सही स्पिरीट” मोदीले सम्झाउन सक्थे तर उनले त्यसो गरेनन र मधेसवादी शक्ती हरुलाई आन्दोलन गर्न उक्साए । यो सब हुनुमा मोदी एक्लै जिम्मेवार छैनन । उनकी विदेश मन्त्री सुसमा स्वाराज र उनका नेपालका लागी राजदुतलगायत मोदीको कुटनैतिक सल्लाहकार  टिम सबै यो विफलतामा उत्तीकै जिम्मेवार छन ।

नेपालमा संविधान जारी हुनै लाग्दा भारत संग संबिधान रोक्नको लागि विन्ति विसाउन पुगेका मधेसवादी नेता हरुले गरेको “ब्रिफीङ” लाइ मोदीले आँखा चिम्लेर बिश्वाश गर्नु नै मोदी आलोचित हुनुको प्रमुख कारक तत्व रहेको हामी सबैले बुझीरहेको कुरा हो । भारतीय हरुले नेपाली संविधानलाई त्यत्ति मात्र बुझ्ने चेष्टा गरे जति मधेसवादी नेता हरुले बुझाउन सके ।

संविधान रोक्नको लागी भारतिय हस्तक्षेप चाहीरहेका मधेसवादी दलका नेताहरुले स्वाराज र मोदीलाई दिएको जानकारी नै गलत थियो । नयाँ संविधानले मदेशको अधिकारलाई सम्पुर्णरुपमा सुरक्षित गरेको विषय लुकाएर गलत तरिकाले ब्रिफीङ गरेको कारण नै नाकावन्दीको लागी मोदी सहमत भएका थिए । जुन नाकावन्दी कालान्तरमा मोदीको लोकप्रियता घटाउने कारक तत्व बन्न पुग्यो । 

राजनैतिक आवरणमा देखीएका मधेशवादी नेता हरु र पृथकतावादी रुपमा देखीएका सिके राउतमा खासै तात्विक भिन्नता देखीन छाडेको छ । मधेस केन्द्रीत सबै शक्ति हरुको अन्तिम अभिष्ट भनेको मधेशलाई स्वतन्त्र बनाउने या भारतमा गाभ्ने जस्तो मात्र देखीन्छ।

कुनै प्रविधीको प्रयोग गरेर अव न सिके राउतको दिमागमा “राष्ट्रीय अखण्डता” ईनस्टल गर्न सकीन्छ न नेपाली राष्ट्रवादी हरुको दिमागमा मोदी प्रतिको सम्मान नै जगाउन सकीन्छ ।

यदी नरेन्द्र मोदीले आफ्नो गुमेको पुरानो सम्मान नेपाली जन बाट फिर्ता लिने हो भने उनले नाकावन्दी गल्ती थियो भनेर स्विकार्नुको विकल्प छदै छैन । 

भारतीय चाहना:

तर भारतिय ब्युरोक्रेसी त्यस्तो होओस भन्ने चाहदैन । नेपालमा स्थाई शान्ति र विकाश उनिहरुका एजेण्डा हुदै होईनन । हाम्रा पुराना सन्धी हरु ‘हतियारको आपुर्ती’ र सैनिक सहयोग समेत युद्द समाप्ती पछी प्रभावित भएको देखींदै आएको छ । भारत बाट हतियार आयात घटेको छ जुन भारतको लागी नोक्सानको विषय हो । 

माओवादी युद्द समाप्ती संगै भारत अर्को युद्दको पर्खाईमा छ । हतियार बेच्ने देश हरु सधैं यस्तै कुटनितीमा विस्वास गर्छन । मध्यपुर्वमा लामो समय देखि बल्झदै आएको अमेरीका-रसीया-ईजरायली चासो हरु हेरेर पनि यो मामला लाई बुझ्न अव ढीलो गर्नु हुदैन ।

त्यसमाथी तराईमा उब्जने अस्थिरताले भारतलाई हतियार विक्रीको मार्गमात्र खोल्दैन । त्यहाँको हस्तक्षेपले उनिहरुको “विस्तारवादी” सिद्दान्त लाई पनि आकर्षीत गर्नेछ । 

सिके राउत हरु आफु स्वतन्त्र हुन चाहन्छन या भारतिय स्टेट हुन चाहन्छन त्यो उनिहरुको दिर्घकालीन राजनैतिक दस्तावेजमा समेटीएको छैन तर अहीले देखीएका मधेसवादी नेतृत्व लाई र सिके राउतलाई समेत समेटेर नयाँ कीसीमको आन्दोलनको सुरुवात गराउन भारतिय सोचले पहल नगर्ला भन्न सकींदैन । 

अबुझ सामाजिक संजाल प्रयोगकर्ता :

मोदीको आलोचनामा केही केही कमजोरी हरु नेपाली सामाजीक संजाल प्रयोगकर्ता हरुका पनि देखीए । नेपाली हरु औपचारिकता बारे बुझ्दैनन् या बुझेर पनि बुझ पचाउछन त्यो यसै भन्न सकिने अवस्था रहेन किनकि - जस्तै –‘नगरको साँचो हस्तान्तरण’ सम्बन्धी औपचारीकता लाई नबुझेर त्यसको गलत ब्याख्या गरीयो । त्यसरी गलत ब्याख्या गर्ने हरुमा सर्वराधारण मात्र होईनन जानेमानेका पत्रकार कलाकार र बौद्दीक ब्यक्तित्व हरु समेत अग्रस्थानमा देखीए ।

नगरको साँचो बुझाउने साधारण औपचारीक प्रकृया मात्र हो जस्तो एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथी पद प्रदान गर्नु, मानार्थ नागरीकता प्रदान गर्नु, मानार्थ डाक्टरेट उपाधीले विभुषीत गर्नु अथवा नगरको साँचो हस्तान्तरण गर्नु -यी सबै कुटनैतिक मर्यादा र सम्मान आदान प्रदान गर्ने तरिका हरु मात्र हुन । केही ब्यक्ती हरु नगरको साँचो हस्तान्तरण कार्यक्रमको गलत ब्याख्या गर्न तदारुकताका साथ लागी परिरहेका छन । उनिहरु त्यसो किन गरिरहेछन यो कुरा भने स्पष्ट छैन । 

काठमाडौ महानगर पालीकाका पुर्व मेयर हरु पिएल सिंह र केशव स्थापित हरुले दर्जनौं पटक महानगरको साँचो बिदेशी पाहुना हरुलाई बुझाईसकेका छन । यो साधारण सम्मानको प्रकृया बाहेक केही होईन । यस्ता घटना हरुलाई अतिरन्जित गर्नुपर्ने कुनै कारण पनि देखीदैन । 

भारतीय संसद कृति आजादको बहुलठ्ठी टुईट :

नकारात्मक कुराको उठानमा नेपाली सर्वसाधारण भन्दा भारतिय हरुनै अगाडी छन । नेपाली हरु अर्काको राष्ट्रीयता या अरुको अखण्डतामा आँच आउने गरी प्रतिकृया दिदैनन तर यसको विपरीत भारतिय संसद सदस्य हरु समेत नकारात्मकता फैल्याउन खप्पीस छन । 

भारतिय लोकसभा सदस्य ‘कृति आजाद’ले जनकपुर लाई भारतमा गाभेर मिथिलान्चल प्रदेश बनाउन माग गरे । भारतमै समेत उनि अराजक किसिमका संसद सदस्य हुन् । मिथिलांचल नामको स्टेटको माग उनको पुरानो एजेन्डा हो तर नेपालको भूभाग समेत समेटेर मिथिलान्चलको निर्माण गर्ने उनको प्रस्ताव बहुलठ्ठीपूर्ण हो ।

आजसम्म कुनै नेपाली संसदले गोर्खाल्याण्ड आन्दोलनलाई समेत साथ दिन सकेका छैनन । सिक्कीम दार्जिलिङ लाई नेपालमा गाभ्ने कुरा गर्नु त धेरै परको कुरा हो । 

किर्ती आजादको अभिब्यक्तीले मोदीकै बारेमा थप भ्रम छर्यो । भारतिय जनता हरुमा मोदीको भ्रमणको कुनै चासो छैन । मुलधारका केही मिडीया र केही बुद्दीजीवी हरु बाहेक भारतिय जनता हरु आफ्ना प्रधानमन्त्री कहाँ छन र किन भ्रमणमा गईरहेछन भन्ने विषयमा चासो समेत राख्दैनन त्यसको विपरीत नेपालका हरेक तप्काका जनता मोदीको भ्रमण बारे जानकार मात्र छैनन् यो भ्रमणको बिरोध गर्ने या समर्थन गर्ने भन्ने बिषयमा समेत जानकार छन् ।

मोदीले जे पाए :

समग्रमा मोदीले यस पटकको भ्रमण बाट अरुण तेश्रो लगायत केही परियोजना हरु भारतिय कम्पनि हरुले निर्माण गर्ने गरी प्राप्त गरे । नाकावन्दीको कारण पुर्णतया चिन तर्फ फर्कदै गईरहेको नेपाल सरकारको चासोलाई पुन: भारत तर्फ नै फर्काउन सफल रहे । 

नेपालको भारत संगको परनिर्भरता लाई घटाउने केही प्रयास हरु लाई विचैमा रोक्न सफल रहे । हाईड्रो प्रोजेक्ट हरुमा प्रयोग हुने सम्पुर्ण सामाग्री भारत बाटै आयात गर्ने संझौताले भारत संगको ब्यापार घाटा बढ्ने नै छ । भारतीय दृष्टिकोण बाट हेर्दा प्रधानमन्त्री नरेन्द्र मोदीको यो भ्रमण अत्यन्तै सफल रहेको मान्न सकिन्छ ।

यसरी जनविस्वास गुमाएका मोदीले अव नेपाली जनताको नजरबाट गुमेको विस्वास पुन: प्राप्त गर्नको लागी -संझौता अनुसारका काम हरु समयमै सम्पन्न गराउनु पर्ने छ र घोषणा अनुसारको सहयोग रकम समयमै उपलब्ध गराउनु पर्ने देखीन्छ । यो सबै गर्नु भन्दा नाकावन्दी स्विकारेर माफी माग्ने हो भने सम्पुर्ण नेपाली हरु एकै पटक नरेन्द्र मोदीलाई माफी दिन तयार देखिएको बुझ्न सकिन्छ ।

 

दुर्गा पंगेनी

 

fasttrack
धेरै पढिएको