पार्टी एक भइसकेपछि आलोपालोको सिद्धान्त नै समाप्त हुन्छ: योगेश भट्टराई

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १६:३०:०२
पार्टी एक भइसकेपछि आलोपालोको सिद्धान्त नै समाप्त हुन्छ: योगेश भट्टराई

एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई स्पष्ट वक्ता हुन् । एमाले माओवादी केन्द्रवीच हुन गइरहेको पार्टी एकताका सम्बन्धमा पार्टी सचिव भट्टराई के भन्छन् ? प्रस्तुत छ, केन्द्रबिन्दु डट कमकालागि पंकज बहादुर धामीसँगको ५ प्रश्न –

१. पार्टी एकता घोषणा भोली नै हुने भन्ने समाचार आएको छ, हो ?

– पार्टी एकताका लागि २ वटा कार्यदलले बनाएको प्रतिवेदन माथि दुबै पार्टी भित्र सहमति भइसकेको छ । आज २ वटै पार्टीका अध्यक्षहरुबीच पनि थप मिलाउनु पर्ने कुराहरुमा सहमति भयो । नेकपा एमाले स्थायी समिति बैठक र बिहिबार बस्ने केन्द्रिय कमिटि बैठक छ । ती बैठकहरुले दस्तावेजहरु अनुमोदन गर्छ ।

माओवादीको पनि सचिवालय बैठक बसिरहेको छ । उहाँहरुले पनि छलफल गरेपछि सम्भवतः भोली नै एकताको आधार तयार गरेर संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा पहिले नै पार्टी एकता हुन्छ ।

२. पछिल्लो समय आएर अलि हतार गरे जस्तो लाग्दैन, के के कुरा मिलेर एकताको टुंगो लाग्यो ?

– एमाले माओवादीबीचको एकताका कुराहरु बाहिरबाट हेर्दा अलि हतार हतार नै भएका छन् । हतार हतार भएपनि सही नै भएको छ । अहिले सबै कुरा भन्न मिल्दैन । बैठकपछि थाहा हुने नै छ । तर पनि विचार शिद्धान्तहरु मिलेको हुनाले नै एकताको क्षणमा आइपुगेका हौँ ।

३. ओली नेतृत्वको सरकार धरापमा पर्ने डरले पनि एकताका लागि हतार भएको हो भनेर भन्नेहरु पनि छन् नी ?

– एकता नभएपछि त अनेक असरहरु त देखिहाल्छन् नै । दुईवटा पार्टी रहेपछि हामीबीच भएका सहमतिहरु तोडिन सक्छन् । त्यसले अफ्ठ्यारो स्थिती पैदा गर्न सक्छ । सरकारलाई अफ्ठ्यारो आउन सक्छ । मुलुकलाई अफ्ठ्यारो बनाउँछ । त्यो त छँदैछ, पार्टी एकता भएन भने । तर त्यो बाटोतिर हामी गएनौँ ।

अब त्यो सोच नै राख्ने कुरापछि भएन । किनभने एकता प्रकृयामा गइसकेपछि नकारात्मक कुराहरु के होलान् भनेर सोचिएन । अब सकारात्मक कुराहरुको बारेमा सोच्नुपर्छ । स्थायी सरकार भनेको ५ वर्ष चल्ने भयो । यसले मुलुकमा परिवर्तन ल्याउँछ । प्रसासनिक क्षेत्रमा यसले दरिलो मानसिकताको विकास गर्छ ।

४. पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली नै रहने भनेर सहमति भएको हो ?

– त्यसको ठोस निर्णय भएको छैन् । तर पार्टी सरकारको नेतृत्व हामी सहमतिले नै निर्माण गर्छौ । हिजोका दिनमा पार्टी नेतृत्व र पार्टीमा प्रतिशतका कुराहरुमा विवाद रहेको बाहिर आएपनि सम्भवतः अध्यक्षको रुपमा दुबै अध्यक्षले काम गर्नुहुन्छ । पार्टीको चिह्न सूर्य नै हुन्छ । जनयुद्धलाई एउटा परिभाषामा राख्ने हो ।

विगतमा माओवादी जनयुद्ध गरेर आएको पार्टी हो, यो कुरा समीक्षामा हुन्छ । र आगामी कार्यदिशा जनयुद्ध वा सशस्त्र विद्रोह हुँदैन् । आगामी कार्यदिशा भनेको शान्तिपूर्ण र प्रतिस्पर्धात्मक ढंगले बहुदलिय व्यवस्थाबाट अगाडि बढेर समाजवादको आधार बनाउने हो । विगतमा भएका घटनाहरु समीक्षामा रहन्छन् ।

५. पार्टी अध्यक्ष दुबै जना हुने भएपछि प्रधानमन्त्रीका लागि पनि आलोपालो होला नी ?

– ती कुराहरु हाम्रो आन्तरिक सहमतिका आधारमा हुन्छन् । अहिले सरकार आलोपालो चलाउने भन्ने कुराको घोषणा भइसकेको छैन । पार्टी एक भइसकेपछि आलोपालोको शिद्धान्त नै समाप्त हुन्छ । अनि प्रतिशत तोकेर पार्टी एकता हुँदैन् । सम्मानजनक हुन्छ । दुबै पार्टीबाट केन्द्रिय नेतृत्वमा आउने साथीहरु छुट्दैनन् । सबैलाई अवसर दिईन्छ । सबैलाई मिलाएर लगिन्छ ।

धेरै पढिएको