लभ लेटर

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ १९ शनिबार | प्रकाशित १५:४९:३८
लभ लेटर

न भुल्न सके तिमीलाई न पाउन सके
न आसुको धाराले नै बगाउन सके

मन नपरेको मान्छेले अमृतवाणी नै बोले पनि हामी आँखा चिम्लेर बिषको शंका गर्छाै । हो, तिमीले पनि ममाथि यस्तै ब्यवहार गरिरहेकी छौ । मलाई मन नपराउनु तिम्रो निजी कुरा तर मेरो कुरालाई त जाँच्न सक्थ्यौ नि । आफूले मन पराएकालाई ज्यान दिनुभन्दा आफूलाई मन पराउनेलाई ध्यान दिनु महानता हो प्रिय त्यसैले मेरो यो अन्तिम पत्र पढेर मात्रै जलाउनु ।

बर्षेझरी भनौ कि बाढीपहिरोको भेल ? आँधी भनौ कि समुद्रको छाल ? एटम बम भनौ कि पेस्टोलको गोली ? हाँडीबाट उछिटेको मकै भनौ कि असिनाको बर्षा ? पण्डितको पुराण भनौ कि दार्शनिकको दर्शन ?

आखिर जे भन्नुहोस् यो मनमा तिमीप्रतिको माया र जिज्ञासाको बेग त्यसरी नै चलिरहेको छ । मनबाट जिज्ञासाको ओइरो लाग्छ तर तिमीबाट जवाफ कहिले आउदैन । मेरो मनबाट मायाको मूल फुटेर तिमीतिर बगेको बग्यै छ तर तिम्रो बन्द मनमा मेरो माया कहिले पस्न पाएन । तिम्रो मनको बाँध न मेरो मायाले भत्काउन सक्यो न तिमीले नै खोल्न चाह्यौ ।

तिमीले मनको बाँध कसिलो पार्दा मेरो मायाहरु उकुसमुकुस बनिरहेका छन् । त्यही मायाले मेरो अंग प्रत्यंग ह्याङ भए । मन फुटेर भक्कानिए । मुटु फुटेर बेहोसी बने । आँखामा आसु बनेर तिल्पिलाए । नशा नशामा रगत बनेर बगिरहे । हरेक स्वासमा तिम्रो बास्ना छाइरह्यो ।

तर जे जति पीडा भए मलाई नै भए, तिमीलाई हाइसन्चो । न तिमीले मलाई बुभ्mयौ न मेरो मायालाई बुभ्mने कोसिस गर्याै । माया बुझाउन मैले के मात्र गरिन र ! नबुझेर होईन बुझेर पनि पचाईदियौ । कुरा चपाउने र माया पचाउनेको भर हुन्न भन्छन् तर के गर्नु भित्रैदेखि मन रसाएर आउँछ र त तिमीलाई माया नदिई बस्न सकिन । त्यसैले त पटक पटक तँ तँ म म हुँदा पनि सकी नसकी कयौदिन नबोली बस्दा पनि मै अघि सरेर बोलेँ । तिम्रो सबै गल्ती मेरै टाउकोमा राख्न मञ्जुर भएँ । तिम्रो हजार गल्ती मैले स्विकारे तर मेरो एक गल्तीलाई तिमीले लाखौँ ठान्यौ ।

सधैभरी सँगै बसौँला भनेर सपनाको महल ठड्याँए । तिम्रै काखमा निदाउला, मेरै काखमा बसाउला भन्ने कत्रो रहन बुनेको थिएँ । मायाले संसार चल्दैन भनेर त सिकायौ तर माया टिक्ने संसार बनाउछु भन्दा भन्दै किन तर्कियौ कुन्नी ? नङ मासुको सम्बन्ध थियो आज घाउ र नुनचुक जस्तै बनिदियौ ।

रातारात बढेको तिम्रो भाउ देखेर पनि अचम्म लाग्छ । अचेल त तिम्रो एक छटाक मासुको भाउ पनि अमुल्य बन्यो । एक पलको भेट, एक क्लिक म्यासेज र एक कल फोनको भाउ पनि ह्वाट्टै बढायौ । फोन नउठाउने, उठाए पनि अनेक नाटक गरेर नबोल्ने, बोल्दाबोल्दै फोन काट्ने, न मलाई सन्चो बिसन्चो सोध्यौ न त मैले सोद्धा नै राम्ररी जवाफ दियौ ।

तिमी आपूmले आफैलाई हिराको भाउ तोक्यौ तर अरुले तिम्रो भाउ कति तोकेको छ कहिले ख्याल गरेनौ । सिकाउन खोज्दा तर्कियौ, बुझाउन खोज्दा पचायौ । कुनै दिन अपच भएर वाकवाकी लागेपछि मात्रै चाल पाउनेछौ प्रिय । तिमीले मसँग जतिजति भाउ खोज्दै थियौ, भाउ दिँदै गएँ तर तिमीले आप्mनो भाउ बढाबढ गर्दै लग्यौ । आफैलाई लिलामीमा राखे जस्तो । म भाउ दिँदै जाने, तिमी भाउ बढाउदै जाने । सायद तिमीले लाखौमा खेल्न चाह्यौ तर म हजारभन्दा माथि जान सकिन । र सम्बन्ध यहीबाट टाढिदै गयो ।

मायाको फूलले सजाउन चाहन्थे
तर कोपिलामै बिष हाल्यौ
जुनीभरी मुटुमा सजाउन चाहन्थे
तर त्यही मन मुटु फुटायौ

तिम्रो शरिरप्रति मेरो केही स्वार्थ थिएन । क्रिम पाउडर दलेको भन्दा फुक्का फेस राम्रो लाग्थ्यो । नक्कली बनेर नक्कली मायाजालमा रमाउनुपर्ने तिमीलाई मेरो सक्कली माया फिक्का लाग्यो सायद । कुकुरलाई स्वर्ग लगे पनि ...ची नै खोज्छ, भ्यागुताले कुवालाई नै संसार ठान्छ । कसैले उचालेर तिम्रो भाउ बढाई दियो भन्दैमा चुइचुइ गर्नु पर्दैनथ्यो । उचालेर टुप्पोमा पु¥याउनेले कुनै दिन थचारेर जमिनमा पुरि दिन पनि त सक्छ ।

रुपमा घमण्ड हो भने त्यो क्षणिक हो । जबसम्म तिम्रो गालामा रगत बहन्छ तबसम्म मात्रै अरुले पछ्याउने हो । गाला र ओठको ब्यापार कतिञ्जेल टिक्छ र ? अहिले तिमीले भनेजति भाउ दिनेहरु स्वार्थ सकिएपछि तिम्रै चरित्रमाथि प्रहार गर्न आउछन् प्रिय ।

अरु नपाएर होईन छोड्न नसकेर तिम्रो पिछा गरेको हुँ । मन नपरे संगै नबसौँला, ज्यान टाढा भए पनि मन नजिक बनाएर बसौ भनेर कति दोहो¥याएँ, कति तेह¥याएँ, कति चौह¥याएँ । म केही जबरजस्ती गर्नेवालामा थिएन किनकी तिमीलाई दुख्दा मलाई पोल्छ । तिमी देख्ने बित्तिकै मेरो आँखा रसाउँछ । मनदेखि मायाको मूल फुट्छ । अंगालोमा बेरेर भएभरको माया खन्याउन मन लाग्छ । मेरो भरिएको माया तिमीमा खन्याएर मेरो मनमा तिम्रो माया भर्न चाहन्थे । तर माया त पाइन पाइन, दयाको भिख समेत पाइन ।

ओल्टे फेर्छु, कोल्टे फेर्छु, छट्पटाउछु र बेहोसीमै निदाउँछु । निद्रामै झसंग ब्युझिन्छु, सम्झीन्छु अनि फेरि उसै गरी निदाउने कोसिस गर्छु । रातभरी माया पलाउछ, कुराको बाढी आउछ तर कसलाई पोखौँ ? अचेल यसैगरी रात बितिरहेछ । सुत्दा होस्, कि ब्युझिँदा, खाँदा होस् कि पिउदा, घुम्दा होस् कि काम गर्दा । पलपल तिम्रै यादले सताईरहेछ । तिम्रै बोली, तिम्रै हाँसो, तिम्रै हिँडाई मेरो मानसपतलमा सल्बलाईरहन्छ ।

तिम्रो बेवास्ताले बिर्सिन बाध्य बनायो तर तिमीलाई बिर्सिने मेरो लाखौ कोसिस पनि बेकार बने । न म मर्न सकेँ न आनन्दले जिउन सकेँ । तिम्रोलागि सबै त्यागे तर अहिले तिमीले नै मलाई त्याग्यौ । र त अहिले मेरो हाल बेहाल बेहाल छ । यो मन सधै अनिकाल छ ।

जुनीभरी पिरतीकै गीत गाएर बिताउने रहर थियो तर अब गुनासो नै गुनासो पोखेर बिताउनपर्ने बनायौ । एकोहोरो त शंख मात्रै बज्छ भन्थे हो रहेछ एकोहोरो मायाले हाँस्ने बहाना देखाएर रुने बनायो । बरु समुद्र सुकेर जाला, सगरमाथा पग्लिएला तर तिमीप्रतिको मेरो माया कहिले रितिने छैन, कहिले सुक्ने छैन प्रिय । सधै अटल र अमर रही रहनेछ ।

तिमीले मौका दिए बाँकी कुराहरु भनौला । कुरा जहिले क्लियर हुनुपर्छ । चित्त दुखाई केमा हो खुलस्त भनेको भए त्यसको समाधान निस्किन्थ्यो तर न खुलेर गुनासो पोख्यौ न त माया नै । मनमनै ममाथि अनेकन शंका उपशंका गरेर बस्यौ । मन परेको मान्छेलाई रिस पोख्न पनि माया लाग्दो रहेछ । तिम्रो पारा देखेर उठेका रिसहरु सकि नसकी सहेको बसेको छु । कम्तिमा तिम्रो चित्त दुखाईप्रति माफी माग्ने मौका त दिनु प्रिय ।

मेरो अन्तिम बिन्ति छ प्रिय, तिम्रो बचन बाणहरु त मैले निलिसके, बिर्सि सके । मैले गल्ती गरे जस्तो लाग्छ भने तिमीले पनि सपना सम्झेर बिर्सिदेउ । सम्बन्धलाई अघि बढाऔँ । माया नसके दयाँ देउ तर घृणा नगर । मैले आप्mनै ठानेर जे जति मेरो ब्यक्तिगत कुरोको चुरो तिमीलाई पोखेको थिए त्यो कसैलाई नभनिदेउ । जे हुनु भैहाल्यो कुनै आपतविपत दुःख कष्ट पर्दा निर्धक्क भएर सम्झिदा हुन्छ । मबाट त्यस्तो नाईनास्ती अहिलेसम्म पनि गरेको थिइन र पछि पनि गर्दिन । पहिले जति माया गर्थे, अहिले पनि गर्छु । तिमी जहाँ पुगे पनि मनमा तिम्रो माया सजाई राख्ने छु । कुनै दिन म तिमीलाई सरप्राइज माया लिएर आउने छु । जुन दिन तिम्रो आँखाबाट सरप्राइज आसु बग्नेछ ।

मलाई पीडाको पोखरीमा डुबाए पनि प्रिय
तिमीलाई मायाको सागरमा डुबाउने रहर छ
मलाई कठोर वचनले घोच्नु घोचे पनि प्रिय
अझै पनि तिम्रै मायामा रमाउने रहर छ

तिम्रो अप्रिय मान्छे

fasttrack
धेरै पढिएको