smart doko

प्रधानमन्त्रीका ५ भयंकर चलाखी

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २१ सोमबार | प्रकाशित १७:०६:२५
प्रधानमन्त्रीका ५ भयंकर चलाखी

दिवस गुरागाईं । काठमाडौं

सरकार गठन भएको झण्डै ४ महिनाको वीचमा केपी ओली नेतृत्वको सरकारले के–के काम गर्‍यो ? ठोकेर भन्न सकिन्छ, विकास निर्माण र जनजिविकाको सवालमा यो सरकारले आशलाग्दो र भरपर्दो कामको लक्षण देखाउन सकेको छैन । तर सरकारलाई शक्तिशाली बनाउने सवालमा भने ओलीले छलाङ नै मारिसकेका छन् । उनले मारेको छलाङपछि के निश्कर्ष निकाल्न सकिन्छ भने ओली २००७ सालपछिको सवैभन्दा शक्तिशाली प्रधानमन्त्री बनेका छन् ।

तत्कालिन एमाले अध्यक्ष ओलीले सुरुमा सरकारको नेतृत्वगर्दा उनीसँग बहुमत पुर्‍याउने बैशाखी थियो, माओवादी केन्द्र । माओवादीसँगै संघीय समाजवादी फोरम र राजपाले समेत सरकारको समर्थन गरेका थिए । तर, यी सबै समर्थनहरु अस्थायी थिए । त्यही अस्थायी समर्थनलाई उनले स्थायी बनाउँदै लगेका छन् । सर्वप्रथम माओवादी केन्द्रसँग मिलेर नयाँ पार्टी नेकपा बनाएका छन् । जसले सरकारलाई स्थायी रुपमा बहुमतको बनाइदिएको छ ।

अस्थायी सरकारलाई स्थायी बनाइसकेपछि ओलीले फेरि दुई तिहाईको चक्कर सुरु गरे र फोरमलाई सरकारमा ल्याएर प्रतिनिधिसभामा ६९ प्रतिसत सांसद रहेको संदेश दिएका छन् । अर्थात ओली सरकार दुईतिहाइको भएको छ । सरकार बलियो बनाएसँगै उनले सम्भावित आन्दोलन र खतराहरु टार्ने प्रयास गरिरहेका छन् ।

कुनैैपनि सरकारलाई हुने पहिलो खतरा भनेको देश भित्र हुने आन्दोलन नै हो । यस हिसावले हेर्दा नेपालमा विद्यमान हुन सक्ने दुईवटा आन्दोलन छन् । ती आन्दोलनलाई ओलीले पहिल्यै मथ्थर पारिदिएका छन् । उनी आन्दोलनको गुञ्जायस सक्न खोज्दैछन् । यो उनको चतुर्‍याई उच्चकोटीको छ । ओली ठट्टा गर्छन् । तर, जुन धेय र उद्धेश्य छ उनको, त्यस सम्बन्धमा भने उनी बोल्दैनन् । रिजल्ट चाहिं दिइनै रहेका छन् ।

ओलीले दिइरहेको यो रिजल्ट र उनको स्वभाव विपक्षीले समेत भेउ पाउने खाल्को छैन । ‘मर्नेबेलामा कमिलाको प्वाँख पलाए जस्तै हो ओली सरकार’ भनेर नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले बोल्नुले पनि विपक्षीहरु निन्द्रामा नै छन् भन्न सकिन्छ । माखो मार्न नसक्ने विपक्षीले दुई तिहाइको सरकार माथि धावा बोल्नु भनेको पहाडसँग कुइनो ठोक्काउनु सरह हो ।

चलाखी नम्बर १.
सरकारलाई स्थायी रुपमा नै बहुमतको बनाए: 
तत्कालीन एमाले पार्टी एक्लैसँग बहुमत थिएन । तर, सहकर्मी दल माओवादी केन्द्रसँग मिल्दा राम्रै बहुमत पुग्थ्यो । यही कारण सरकारमा साझेदारी मात्र होइन, पार्टी नै एक भयो भने त बुहमतको लफडाबाट मुक्त हुने विश्वासका साथ दुई पार्टी मिलाएर नेकपा बनाए, प्रधानमन्त्री केपी ओलीले । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा दुई पार्टी मिलाएर १ सय ७४ सीट पुर्‍याए । अर्थात आफ्नो सरकारलाई स्थायी रुपमा नै बहुमतको पुर्‍याए ।

चलाखी नम्बर २.
बहुमतको सरकारलाई दुई तिहाइको बनाए:
नेकपाको प्रतिनिधिसभा सदस्य संख्या १ सय ७४ पुगेपछि पनि प्रधानमन्त्री ओली ढुक्कले बसेनन् । अर्थात ओलीलाई बहुमतले मात्र पुगेन । उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा भित्राए र १६ सीट थप्दै १ सय ९० सीट पुर्‍याए । अब सरकारसँग ६६ होइन, ६९ प्रतिसत सभासद छन् । अर्थात दुई तिहाई पनि राम्रैसँग पुगेको छ, ओली सरकारसँग ।

चलाखी नम्बर ३.
सम्भावित मधेस आन्दोलनबाट मुक्त हुने प्रयास गरे:
मधेसबाट हुनसक्ने सम्भावित आन्दोलन रोक्न उपेन्द्र यादव नेतृत्वको फोरमलाई सरकारमा ल्याउन प्रधानमन्त्री सफल भए । उनले मधेसको अर्को ठूलो पार्टी राजपालाई पनि विश्वासमा राखिरहेका छन् । सरकारलाई दिएको समर्थन राजपाले कायम राखेको छ । सर्वप्रथम ओली आफूलाई मधेस विरोधी भनेर लगाइएको आरोप मेट्न चाहान्छन् ।

त्यसैगरी उनी मधेसबाट हुने सम्भावित आन्दोलनको खतरालाई पनि टार्न चाहान्छन् । यसकालागी मधेसका दुई शक्ति फोरम र राजपालाई उनी सत्ता भित्र वा विश्वासमा राखिरहन चाहान्छन् । मधेसी दलको विश्वास जित्ने सवालमा ओली सफल पनि हुँदै आएका छन् ।

चलाखी नम्बर ४.
हिन्दु अतिवादीको सम्भावित आन्दोलन उठ्नै नदिने तयारी गरे:
मधेस आन्दोलन जस्तै हिन्दु अतिवादीको सम्भावित आन्दोलनलाई पनि उठ्नै नदिने तयारीमा छन् प्रधानमन्त्री ओली । यसकैलागी उनले भारतीय स्वामी शंकराचार्य निश्चलानन्द सरस्वतीलाई बोलाएरै सार्वजनिक अभिनन्दन गरे ।

नेपालको संविधानमा धर्मनिरपेक्षता उल्लेख भएपछि उडिसामा यी शंकराचार्यले विरोध र्‍याली नै निकालेका थिए । भारत उडिसाको गोबद्धन मठका यी १ सय ४५ औं शंकराचार्यले ०७४ माघमा अन्तिम राजा ज्ञानेन्द्रलाई उडिसा बोलाएर हिन्दू सम्राट घोषणा गरेका थिए । जेठ १ देखि १० दिने भ्रमणमा आएका शंकराचार्य ओली कै निम्तामा नेपाल आएका थिए । आफूले सरकार बनाउने पक्का पक्की भएपछि ओलीले ११ माघ २०७४ मा एमाले अध्यक्षको रुपमा निम्तो पठाएका थिए ।

चलाखी नम्बर ५.
भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित बनाउन सक्रिय रहे:
विगतका सरकारहरुलाई देशी–विदेशी शक्तिहरुबाट सधैं खतरा हुनेगर्थो । यही सत्यलाई आत्मसाथ गर्दै प्रधानमन्त्री ओलीले देशी मात्र होइन, विदेशी सम्भावित खतरालाई पनि विश्वासमा लिने वातावरण तयार गर्दै रहेका छन् । यहीक्रममा उनले भारतको भ्रमण गरे भने भारतीय प्रधानमन्त्रीको स्वागतको काम पनि सम्पन्न गरिसकेका छन् ।

अब उनको पाइलो चीनतिर सोझिएको छ । अर्थात उनी भारत र चीनसँगको सम्बन्धलाई सुमधुर बनाइराख्न चाहान्छन् । विदेशी षड्यन्त्रको रक्षा कवचको रुपमा यी दुई ठूलो छिमेकी रहिरहने निश्चित छ । कम्युनिष्ट सरकारलाई भारतसहीत युरोपियन र अमेरिकी शक्तिहरुबाट सधैं खतरा हुन सक्छ । यो अन्तिम सत्यको तयारी ओली सरकारले गर्दै रहेको छ ।

दिवस गुरागाईं

धेरै पढिएको