खाडी हेर्ने सामाजिक नजर

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २२ मंगलवार | प्रकाशित १५:४६:२४
खाडी हेर्ने सामाजिक नजर

“विदेशमा कमाएको रेमिट्यान्सले नेपाल बनाउनु पर्छ भन्नेहरुको लागी ग्रिनकार्ड एक फगत कागजको टुक्रा हो” । पत्रिकामा प्रकाशित मेघराज सापकोटा जी को अभिव्यक्ति एक किसिमको उत्साह भर्ने खालको छ। उहाँको विचारसँग पूर्णतया सहमत हुन सकिन्छ ।

अझ नेपालमा भएको पैतृक सम्पत्ति बेचबिखन गरेरै भएपनि हुण्डीको माध्यमबाट नेपालमा रहेको चल अचल युरोप अमेरिका पुर्‍याउन र उतै हराउन उद्दत छ युवा समुदाय । आखिर किन ? नेपाल बनाउन नचाहाने समुहले ग्रिनकार्ड चाहान्छ । नेपाल बनाउन नचाहाने समुहले नेपालको सम्पति विदेश लैजान चाहान्छ र नेपाल बनाउन चाहानेहरुले विदेशमा कमाएको नेपाल पठाउन चाहान्छन यो कुरामा दुर्इमत हुन सक्दैन ।

ग्रिनकार्डले नेपाल पैसा पठाउँदैन बरु नेपालको पैसा चोर बाटो बाट उतै लैजान्छ । अझ ग्रिनकार्डको बाटो हुँदै विदेशी पासपोर्ट लिईसकेका व्यक्तिले देश विकासमा सोझो योगदान गर्लान ? यो प्रश्न भने वहसको विषय हुन सक्छ । भावनात्मक रुपमा विदेशी पासपोर्टधारी युवाहरु जन्मभूमि प्रति नजिक भएपनि उनीहरुको राष्ट्रियता त फेरिईसकेको हुन्छ ।

‘मेरो देश’ भनेर उच्चारण गर्दा उनीहरुले पासपोर्ट बोकेको देशको नाम लिनुपर्ने हुन्छ । अझ गैह्र आवासीय नेपालीहरुको नाताले जन्मदेशमा गरेको लगानीको प्रतिफल समेत आफु बसेको देशमा लान पाउने अथवा लगानी सुरक्षित नभएको ठानेमा आफ्नो लगानी निर्वाध आफुले पासपोर्ट बोकेको देशमा लान पाउनुपर्छ भनेर उनीहरुले गरिरहेका मागहरुले उनीहरुलाई देशको माया छैन भन्ने कुरालाई सत्य हो भनेर पुष्टि गर्न बल पुर्‍याउँछ ।

भावनात्मक रुपमा ब्यक्त गरिने देशभक्तिमा खासै फरक नहोला तर पक्कै फरक छ खाडीमा कार्यरत युवाहरु र युरोप अमेरिकामा कार्यरत युवाहरुका योगदानहरुमा । कति प्रतिशत युवाहरु छन् युरोप अमेरिकामा जो नेपाल फर्कन चाहान्छन ? एकदम कम छन्, खाडीमा कोही छैन जो यतै बसिरहन चाहेको होस् ।

समाजले सतही रुपमा मुल्यांकन गरिदिन्छ किनकि पहिलो युरोप अमेरिका विकसित छ र खाडी विकाशोन्मुख । किन विभेद गर्छ त समाजले स्थान विशेषको कमाईलार्इ ? खाडीमा कार्यरत युवाले कमाएर पठाएको रेमिट्यान्सको सहि सदुपयोग हुन नसकेर पो हो कि ?

खाडीको पैसा उत्पादनमुखी व्यवसायमा भन्दा आवास र अचल सम्पत्ति जोड्नमा बढी खर्च भयो । डेरा भाडा तिर्नु फगतको खर्च जस्तो देखियो र तुलनात्मक रुपमा खाडीको कमाईले जिवनस्तर उकास्न सकेन भनेर आरोप लगाउने गरेका छन् विश्लेषकहरु ।

यसरी आलोचना गर्दा आफु युरोप अमेरिका जान नपाएको अथवा नसकेको तुष पोखेको आरोप समेत लगाउँछन् कतिपय साथीहरुले मानौं अमेरिका पुगेर उनीहरुले संसारको सम्पूर्ण सुख सुविधा सित्तैमा उपभोग गर्न पाएका छन् । बिना मिहेनत उनीहरुको भान्छामा चुल्हो बलिरहे जस्तो गरेर घमण्ड गर्छन कोही ।

मेरा एकजना आफन्त थिए अमेरिकामा । कुनै शैक्षिक कार्यक्रमको लागी अमेरिका पुगेर उतै शरणार्थीको आवेदन दिएका थिए । त्यहि बिचमा घरमा उनकी आमाको मृत्यु भयो । उनी न अमेरिका छोडेर आउन पाए न समयमा आमाको अन्तिम संस्कारमा सामेल नै हुन सके ।

यदि खाडीबाट आमाको अन्तिम संस्कारमा नगएको अवस्था हो भने पो पिडा देख्थ्यो समाजले उनी त अमेरिकाबाट आउन नपाएका थिए । “अमेरिकामा छ यति टाढाबाट कसरि आओस’ हो यसरि मुल्यांकन गरे छिमेकीहरुले । उनी शरणार्थीको हैसियतमा त्यहाँ रहेको र कानुनी रुपमा उनी नेपाल आउने बाटो नै बन्द भईसकेको तिर कसैले ध्यान नै दिएन ।

हाम्रो समाज जतिसुकै शिक्षित किन नहोस रोजगारीमा गएको देशको नाम हेरेर त्यो देशको मुद्राको मूल्य हेरेर मान्छेलार्इ सम्मान गर्ने एक किसिमको अर्ध शिक्षित सोचबाट ग्रस्त भयौं हामीहरु । विहेवारीको अथवा लेनदेनको हिसावले कार्यरत देशलाई नियाल्दा समस्या अझ बिकराल देखिन्छ ।

अमेरिकामा बस्ने ‘स्ट्रिट बेगर’ नै किन नहोस उसको ईज्जत धेरै ठुलो हुन्छ खाडीको हाकिमको तुलनामा । अमेरिका हुनेले समाजबाट तुरुन्तै सर सापट पाउँछ खाडी हुनेले ऋण पाउदैन ।

महिलाको हकमा यो अवस्था अझ भयावह रहेको देख्न सकिन्छ । खाडीमा काम गर्न आउने महिलाहरुलाई सुरुवात देखि नै दुखियारी महिलाका रुपमा चित्रण गर्छ समाजले । अमेरिका प्रवेश गर्न अवैध मार्ग प्रयोग गर्दा पानी समेत पिउन नपाएर एकजना चेलीको ज्यान गयो र लास समुद्रमा फ्याँकियो त्यो भन्दा दर्दनाक मृत्यु अरु केहि हुन सक्दैन । त्यो स्थान सम्म पुग्नको लागी उनले बेहोरेका हण्डर ठक्करहरु उनले गर्नुपरेका सम्झौताहरु र उनले भोग्नु परेका शोषणहरु कति थिए होलान ।

तर एक पटक अमेरिकाको सिमाना पार गरेको भए उनले जीवनमा भोगेका सबै सास्तीहरु आफु चाँही विर्सन सक्ने थिईनन् होला तर समाजले त्यो पीडा प्रति कुनै चासो दिदैनथ्यो । त्यस्तो पीडा पार गरेर अमेरिका पुगेको भनेर पत्याउने थिएन यदि पत्याए पनि झन् सहानुभूति दिन्थ्यो र अमेरिका पुग्नु नै ठुलो उपलब्धि ठानेर अरु कुरा विर्सिन्थ्यो ।

यता खाडी छ जहाँ रहेका चेलीको चिर हरणमा ब्यस्त छ समाज । कुनै पनि युवतीले खाडी मुलुक काम गर्न जाँदैछु भनेर समाजलाई सुनाउन सक्ने अवस्थाको विकास अझै हुन सकेको छैन । सुरक्षाको हिसावले हेर्दा म कार्यरत रहेको देश यो संसारमै महिला सुरक्षाको लागी अग्रस्थानमा आउछ होला । घरायसी कामदारको हकमा मिडियामा आएका केही समाचारहरुले यहाँको बारेमा केही नकारात्मकता र केही भ्रम छरेकै कारण हाम्रो समाज खाडी प्रति यति निर्दयी भएको हो त ? प्रश्न जटिल छ ।

सरकार आफै पनि खाडी अशुरक्षित स्थान हो भनेर बुझाउन र खाडीको अशुरक्षाको विज्ञापन गर्न ब्यस्त छ । महिलाको प्रवेशमा रोक, उमेर हद तोकिनु र घरायसी कामदारको रुपमा काम गरेर विदामा गएका मजदुरहरुको श्रम स्वीकृति नविकरण नहुनु जस्ता कुराहरु हेर्दा हाम्रो सरकार खाडी मुलुक पूर्णतया अशुरक्षित स्थान हो भनेर प्रमाणित गर्न लागिपरे जस्तो देखिन्छ । सरकारका यस्ता रबैयाले खाडी साँच्चै अशुरक्षित देश हो कि भन्ने भ्रम छरिरहेका छन् ।

जहाँ बाटो हिंडिरहेकी युवतीलाई कुनै खराव नियत भएको मान्छेले फर्केर सिधा हेर्न सक्दैन त्यो मुलुक अशुरक्षित कसरि भयो म अचम्म पर्छु । रात के दिन के चौबिसै घण्टा जहाँ सुरक्षाको सत प्रतिसत ग्यारेन्टी छ त्यहि स्थानलाई हेयको दृष्टिले हेर्छ हाम्रै समाज ।

कुनै पनि साधारण युवा खाडीमा कार्यरत युवतीसँग विवाह गर्न हच्किन्छ । नेपालमा बेरोजगार युवक नै किन नहोस उसले खाडीमा कार्यरत युवतीसँग सजिलै बिहे गर्ला ? गर्दैन किनकि उसलाई मिहनेतको रंग कस्तो हुन्छ थाहा नै छैन । हरेक अभिभावक अमेरिकामा मासिक रुपमै रुम पार्टनर फेरेर बस्न बाध्य भएकी युवतीलाई चोखी र पवित्र देख्छ र खाडीमा कार्यरतलाई विटुलि ।

अब सामाजिक सोचमा परिवर्तन ल्याउने बेला भएको छ । खाडीको वास्तविकता यहाँ खुल्दै गएको स्वतन्त्रता र यहाँको अनुसासन ले मान्छेलाई निकै सामाजिक बनाएको छ । सामाजिक दायरामा कसरी बस्ने र कानुनको पालना कसरी गर्ने भनेर सिकाउने पाठशाला हो खाडी – यहाँ कार्यरत मजदुरहरुको पसिनाको सहि मुल्यांकन गरियोस ।

मैले एकदिन फेसबुकमा एउटा प्रश्न राखेको थिएँ । किन फरक देख्छ समाजले मिहेनतको रंग लाई ? किन पर्गेल्छ खाडी र पहिलो विश्वको कमाईलाई भनेर । अमेरिकामा अध्यनरत एकजना व्यक्तिले त्यो प्रश्नको तल कमेन्ट गरे । किन कि खाडीले डाक्टर उत्पादन गर्दैन, वैज्ञानिक उत्पादन गर्दैन, शिक्षित् व्यक्ति उत्पादन गर्दैन । उनी अझ तल्लो स्तरमा उत्रदै कमेन्ट गरे, मजदुर मात्र उत्पादन गर्छ अरवले त्यसैले अमेरिकाको ईज्जत छ र खाडीको ईज्जत छैन ।

म अचम्म परें, अमेरिकामा उच्च शिक्षा हासिल गर्दै गरेको व्यक्तिको सोच यस किसिमको छ भने हाम्रो पुरातन समाजको सोच सजिलै बदलिएला त ? युरोपले अमेरिकाले डाक्टर उत्पादन गर्छ त्यो मान्न मलार्इ कुनै अप्ठ्यारो छैन तर के डाक्टर उत्पादन गर्दैन भन्दैमा खाडीलाई हेप्न मिल्छ त ? कति बाबुहरु छन् खाडीमा जसले यहाँ कमाएको पैसाले आफ्ना सन्तानलाई डाक्टर बनाएका छन् ? कति आमाहरु छन् खाडी देखि ईजरायल सम्म सिंगो मध्यपूर्वमा जसका सन्तानहरुले यहि कमाइको आधारमा उच्च शिक्षा हासिल गरेका छन् त्यो पाटोलाई नजरअन्दाज गर्न मिल्छ र ?

मध्यपूर्वमा कार्यरतहरुको सपना सानो होला तर सुखी छ यो कुरामा दुर्इ मत छैन । यो क्षेत्रले नेपाली युवाहरुलाई जुन शिप प्रदान गरेको छ र जुन अनुशासन सिकाएको छ त्यो कुराको भने उच्च मुल्यांकन हुन जरुरी छ ।

fasttrack
धेरै पढिएको