smart doko

इन्काउन्टर: प्रहरीको असफलता ढाक्ने खोल हो

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २३ बुधबार | प्रकाशित १९:१५:२७
इन्काउन्टर: प्रहरीको असफलता ढाक्ने खोल हो

प्रहरी संगठनको असफलता लाइ ढाकछोप गर्ने सबै भन्दा ठुलो तरिका भनेको “इन्काउन्टर” हो ।भारतिय  प्रहरी भित्र निकै चल्तीमा रहेको इन्काउन्टर गर्ने चलन भारतमै सबैभन्दा बढी आलोचित समेत रहेको देख्न सकिन्छ ।

अनुसन्धान लाइ कुनै निचोडमा पुर्याउन नसकेपछि कुनै बदमासमाथि दर्जनौं हत्या, लुट, डकैति लगायत निचोडमा पुन नसकेका रहस्यमयी मुद्दा हरु जति उसैको टाउकोमा थोपर्ने र उसलाई मारेर केसको फाइल बन्द गर्ने सजिलो माध्यम बनेको छ इन्काउन्टर ।

आरोपित लाइ समातेर मार्ने इन्काउन्टरका घटना नेपालमा पहिल्यै देखि हुने गरेपनि प्रहरीको असफलता लाइ ढाकछोप गर्न अथवा कुनै माथिल्लो पहुँच भएको अपराधीलाई बचाउनको लागी समेत हुने “ब्यबसायीक हत्या” सरहको इन्काउन्टर नेपाल प्रहरिले समेत गर्न सुरु गरेको छ ।

गुण्डा नाइके चरी इन्काउन्टर, घैंटे इन्काउन्टर लाइ राजनैतिक प्रतिसोध अथवा व्यापारिक लेनदेनको बिषयमा भएका हत्या हुन् भनेर आरोप लगाउने प्रस्टै ठाउँ हरु छन् । जतिबेला उनीहरुको हत्या गरियो उनीहरु गुण्डागर्दी छोडेर अन्य व्यवसायमा संलग्न हुने क्रममा थिए ।

गुण्डागर्दी छोडेर चरी या घैंटे जस्ता व्यक्ति हरु जुन व्यवसायमा जान्थे त्यहाँ उनीहरुको प्रभुत्व जम्न समय लाग्ने थिएन । त्यसैले जुन क्षेत्रमा उनीहरु जाने तयारि गरिरहेका थिए त्यहि क्षेत्रमा पहिल्यै देखि प्रभुत्व जमाएर बसेका हरुले उनीहरुको हत्या गराएको हुन सक्ने प्रसस्तै सम्भावना हरु हुन सक्छन र त्यो हत्यामा संलग्न भएर प्रहरी प्रसासनले कसलाई सघाएको छ त ? अहिलेको टड्कारो प्रश्न यहि हो ।

मनोज पुन लाइ भारतीय भुमि बाट पक्राउ गरेर ल्याईयो । त्यो कुरा प्रहरीकै केहि अधिकारीले मिडियामा चुहाएका पनि थिए तर मनोज पुनको हत्या पुर्व निर्धारित नै थियो । उसलाई जसरि पनि मारेर उसको हत्यालाई इन्काउन्टरको खोल ओढाउनै पर्ने थियो ।

यदि मनोज पुन लाइ नमार्ने हो भने उसमाथि थोपरिएका हत्याका गुथ्थी हरु सुल्झने थिएनन । निर्माण ब्यबसायी महासंघका अध्यक्षको हत्याको जिम्मेवारी उसै माथि थोपरिएको थियो कुनै ठोस प्रमाण या सबुत बिना ।

मनोज पुन लाइ जिउदो राखेर फेरी अर्को हत्यारा खोज्नु पर्ने झन्झट बेहोर्नु भन्दा उसलाई ईन्काउन्टरको नाममा मारिदिएपछी न हत्यारा खोज्ने झन्झट न फेरी मनोज पुनलाई ट्रयाक गर्दै उसको गुण्डागर्दी रोक्नको लागी फोर्स परिचालन गर्नुपर्ने झन्झट । यसरि यौटा इन्काउन्टर गरेर प्रहरीले धेरैवटा तनाव बाट एकैचोटी मुक्ति पाउने जुक्ति निकालेको मात्र देखिन्छ।

सुन तस्करीको मुख्य अभियुक्तको रुपमा प्रचार गरिएको “गोरे” चुडामणि उप्रेतीको इन्काउन्टर कसरि असफल भयो त आखिर ? अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीको टोलीले प्रमाणको मुख्य स्रोत रहेका चुडामणि उप्रेती गोरेको हत्या योजना बनाएको खुलासा भएसँगै सुन तस्करी प्रकरणले नाटकीय मोड लिएको छ। आखिर किन मार्न चाहान्थ्यो प्रहरी गोरेलाई ?

अहिलेसम्म सुन तस्करीको मुख्य व्यक्ति चुडामणि उप्रेति (गोरे) भनिए पनि अनुसन्धानक्रमले उनी व्यवस्थापक मात्र हुन् भन्ने प्रमाणित हुने लाग्दा नेपाल प्रहरीको करिअर चार्टमा निष्कलंक भनिएका दिबेश लोहनी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा स्पष्टत: संलग्न भएको तथ्यहरुले पुष्टि गरेका हुन्।

उनले समयमा मानव अधिकार संगठन हरु गुहारे किनकि उनलाई थाहा थियो या त सुन तस्करी गर्ने माथिल्लो स्तरका तस्करबाट नत्र प्रहरी बाट एक न एक दिन उनको हत्या हुनेछ । प्रहरीले गिरफ्तार गर्ने अवस्था आयो भनेपनि आफुलाई जिउदै समातेर अदालतमा उपस्थित गराउने छ प्रहरीले भन्नेमा गोरे ढुक्क थिएनन । त्यसैले पटक पटक आफ्नो जीवन रक्षाको लागी उनले अपिल गरिरहेका थिए ।

अपराध गरिनु, अपराध हुनु, या समाजमा अपराधि जन्मनु समाजको यौटा पाटो हो । त्यो अपराधको निराकरण गर्नु, अपराध घटाउनु या अपराध हुन नदिनु प्रहरीको जिम्मेवारी हो ।

जुन प्रहरी संगठनको काँधमा समाजमा अपराध हुन नदिने जिम्मेवारी छ त्यहि प्रहरी संगठनका उच्च अधिकारि हरु नै अपराधमा संलग्न भएपछी संगठनले कसको पक्षमा अनुसन्धान गर्छ ? अनुसन्धान गरेर निस्केको परिणाम कसको पक्षमा हुन्छ ? हो यहीं लुकेको छ इन्काउन्टर को कारण । अपराधीलाई तवमात्र इन्काउन्टर को नाममा मारिन्छ जब त्यो अपराधी प्रहरी अधिकारि या उच्च राजनैतिक नेतृत्वको लागि खतरा बन्छ ।

अपराधशास्त्र भन्छ– कानुनको पालना गराउन खटिएको अनुसन्धान अधिकृतको पहिलो दायित्व घटनाको प्रमाणको रक्षा हो। जसरी मनोज पुन निर्माण ब्यबसायी हत्याका प्रमाण दिन सक्थे, दुर्गा तिवारीको हत्याको प्रमाण पनि मनोज पुन बाटै निस्कन सक्थ्यो । तर प्रहरीले त्यो प्रमाण जोगाउन कुनै मिहनेत गरेन बरु प्रमाण जोगिएको खण्डमा आफुले अहिले सम्म गरेको अनुसन्धान कामै नलाग्ने गरि रद्दीको टोकरीमा फाल्नु पर्ने अवस्था आउने देखेरै प्रहरीले मनोज पुनको हत्या गरेको हुन सक्छ ।

योसँगै अर्को महत्वपूर्ण विषय अभियुक्तको जीवन रक्षा पनि हो किनकि नेपालको संविधान २०७२ को धारा १६ मा  प्रत्येक व्यक्तिलाई बाँच्न पाउने अधिकार सुनिश्चित गरिएको छ। सो धाराको उपधारा २ ले भन्छ- कसैलाई पनि मृत्युदण्ड दिइने छैन र भविष्यमा समेत मृत्युदण्डको कानुन बनाइनेछैन।

दिवेश लोहनीको टोली गोरेको ‘फेक इन्काउन्टर’ योजनामाथियो । महानगरीय अपराध महाशाखाका तत्कालीन अधिकारीले सुन तस्करीका मुख्य नाईके चुडामणि उप्रेती ‘गोरे’ सहितको समुहलाई ‘फेक इन्काउन्टर’ गर्ने तयारीका साथ फिल्डमा खटिएको अनुसन्धानमा खुलेको छ।‘प्रहरी पोष्ट नजिकै रहँदा समेत गोरेलाई पक्राउ नगरी आफ्नै टोलीद्वारा हत्या गर्ने योजनाका पछाडि सुन तस्करीको रहस्य सार्वजनिक हुन नदिने प्रहरीको नियत देखिन्छ।

सुन तस्करी र सनम शाक्य हत्या छानविन गरिरहेको टोली मात्र होइन अपराधशास्त्रका विद्यार्थीका लागि पनि यो एउटा रोचक प्रश्न हो- सुन तस्करी र त्योसँग जोडिएर भएका हत्याका मुख्य आरोपी गोरेलाई किन मार्नु पर्‍यो? उनको हत्या पछाडिका उद्देश्य के हुन्? के ‘अन्डर कभर अप्रेसन’ भनेको यस्तो लाइसेन्स हो, जसले गरेका अपराध कर्ममा राज्य स्वयंले पनि छानविन गर्न पाउँदैन?

यी प्रश्नको निष्कर्षमा पुग्नुअघि सनम शाक्य हत्या प्रकरणमा जानु जरुरी हुन्छ। २०७४ फागुन १५ गते मोरङ, उर्लाबारीका सनम शाक्य काठमाडौंबाट बेपत्ता भए। उनको खोजी महानगरीय अपराध महाशाखाले गरिरहँदा उच्च प्रहरी अधिकारीको सर्कलमा १८ फागुनमा एउटा सनसनीपूर्ण खबर फैलियो, सनमलाई सुन तस्करले यातना दिएर मार्‍यो। यो हत्याले प्रहरी संगठनमा अनिष्ठ निम्त्याउने खतरा छ।

काठमाडौंबाट वेपत्ता शाक्यको शव फागुन १८ मा एकाएक धरानमा फेला पर्‍यो। डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको  टोली शव फेला पार्नुभन्दा अगाडि आरोपी गोरेसंग नियमित सम्पर्क थियो। तथ्य बोल्छ- उनीहरूले सनम शाक्यको शव व्यवस्थापनका लागि ५ करोड मागेका थिए।

अन्तिममा गएर २ करोड रुपैयाँमा कुरा मिल्ने स्थिति बनेको थियो। गोरेले काठमाडौंमै सहयोगीमार्फत् ५० लाख रुपैयाँ तत्कालै उपलब्ध गराउने प्रक्रिया सुरू गरेका थिए। तर प्रहरी भने यता त्यो दुइ करोड रुपिया पनि लिने र गोरेलाई पनि इन्काउन्टर मा मार्ने योजनामा थियो ।प्रहरी सञ्जालबाटै आफ्नोहत्या हुन सक्ने सम्भावना देखेर गोरे भारत तिर भागेका थिए ।

प्रहरी स्वयंले करोडौं रूपैयाँ असुलेर अपराधी छुटाउन तयार हुने यो कस्तो न्याय हो ? काठमाडौंस्थित सुरक्षा मामिलाका जानकार भन्छन्, ‘अन्डर कभर अप्रेसनमा यो सामान्य हो।

प्रहरीको मुख्य उद्देश्य बार्गेनिङ होइन, आरोपी पक्राउ हो। त्यसैले यस्तो नाटक गर्ने चलन हुन्छ । मतलव अपराधि पक्राउ गर्न यस्ता बार्गेनिंग का नाटक गरिन्छ भने आफ्नै चौकी को नजिकै रहेको अवस्थामा तिनै अपराधि किन पक्राउ गरिदैन ?

अपराधि पक्राउ गर्न गरिएको अन्डर कभर अपरेशनमा यस्ता बार्गेनिंग हरु गर्नु पर्ने अवस्था आउन सक्छ भन्दै एसएसपी लोहनी, केसी र सई बालकृष्ण सञ्जलेल हरु निर्दोष रहेको समेत कतिपयले सार्वजनिक रुपमै बताउँदै आएका छन्। 

तर घटनाको अर्को पाटो पनि छ। जसको तथ्यले भन्छ- अपराध महाशाखाको टोली आरोपी पक्राउ होइन, हत्या योजनामा थियो। पहिला पैसा असुल्ने र त्यसपछि गोरेको इन्काउन्टर गर्ने उनीहरुको योजना थियो। 

अब प्रश्न उठ्छ अपराध महाशाखालाई सुन तस्करी प्रकरणमा सबैभन्दा बढी सूचना भएका व्यक्ति गोरेको  हत्या किन गर्नु पर्‍यो ? यो हत्याको उद्देश्य के हो त आखिर ?

अहिलेसम्म उद्घाटित तथ्यमा आधारित भएर सरल भाषामा भन्नुपर्दा यस पछाडि दुई कारण देखिन्छन्: पहिलो, हत्यापछि गोरेलाई सुन तस्करीको सबैभन्दा ठूलो खेलाडीको रुपमा चित्रण गराएर वास्तविक सुन तस्कर बचाउने। र दोश्रोसुन तस्करी अनुसन्धानको वास्तविकता लुकाएर स्थितिलाइ अर्कैतर्फ मोड्ने अथवा वास्तविक सुन तस्कर लाइ आंच आउनै नदिने ।

भ्रष्ट, तस्कर  र अपराध कर्मममा संलग्न भनेर बद्नाम बनेको प्रहरी संगठन सुधार अबको चासोको विषय हुनुपर्छ । र, सुधार सुरुवातको पहिलो प्रस्थानबिन्दु भनेको वास्तविकता स्वीकार्नु हो। इन्काउन्टर या अन्य कुनै बहानामा सुन तस्करका नाइके हरु बचाउन तिर लाग्दा प्रहरी संगठनको विश्वसनीयता झन् भन्दा झन् खस्कन जाने निश्चित छ ।

धेरै पढिएको