smart doko

यी हुन्, बाबुरामले गर्न नसकेका ४ काम

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २४ बिहीबार | प्रकाशित १९:१९:१९
यी हुन्, बाबुरामले गर्न नसकेका ४ काम

काठमाडौं । यसो भन्न धकाउनु पर्दैन कि, ‘डा. बाबुराम भट्टराई नेपालका आशालाग्दा राजनीतिज्ञ हुन् ।’ तर पछिल्लो समय उनी अनुकुल बाटोमा देखिदैनन् ।

बाबुरामले माओवाद त्यागेको आज दुई बर्ष वितिसकेको छ । भिन्न बाटो हिड्ने भन्दै माओवादी पार्टी छोडेका उनले गोरेटो समेत बनाउन नसकेको राजनैतिक विश्लेषण हुनेगर्छ । जो दुखद पक्ष हो, सम्भावना भएको नेताको हकमा ।

माओवादी जनयुद्धकालमा भूमिगत हुने सार्वजनिक व्यक्तित्वमध्ये बाबुरामको कद सबैभन्दा अग्लो थियो । माओवादी जनयुद्ध सफल पार्न मात्रै होइन, माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर स्थापित पार्टी बनाउन समेत बाबुरामको योगदान महत्वपूर्ण मानिन्छ ।

अर्थमन्त्री हुँदा सोचेभन्दा बढी कर उठाएर देखाइदिएका डा. भट्टराईले प्रधानमन्त्री हुँदा देशभरको बाटो बिस्तार गर्नेदेखि लुघ–उद्यममार्फत रोजगारीको सिर्जना गर्नका लागि महत्वपुर्ण निर्णयहरु गरेका थिए ।

तर, संविधानसभाबाट संविधान जारी भएपछि नयाँ वैकल्पिक शक्ति निर्माणको बहस चलाउन भन्दै पार्टी छोडेका बाबुरामको करियरको ‘ग्राफ’ निरन्तर ओरालोमा छ । उनले लामो बहसपछि दुई वर्षअघि नयाँ शक्ति नेपाल नामक पार्टी स्थापना गरेका थिए । नयाँ शक्ति नेपाली राजनीतिको नौलो शक्ति बनाउने उनको संकल्पलाई भने जनताले पत्याएन् ।

बाबुरामको पार्टीमा माओवादी जनयुद्धको पृष्ठभूमि भएका नेता र अन्य पृष्ठभूमिबाट आएका नेताहरुबीच मत बाझियो । यसको चेपुवामा संयोजक बाबुराम भट्टराई पर्दै गए । उनको पार्टीले निर्वाचनमा माओवादीलाई केही क्षेत्रमा हराउन भूमिका खेल्ने बाहेक थप उपलब्धी हासिल गर्न सकेन ।

उनले ब्यक्तिगतरुपमा कांग्रेसको फेरो समातेर चुनाव त जिते तर त्यसले राष्ट्रिय राजनीतिमा कुनै माने राखेन । संसदमा बाबुराम पूर्वप्रधानमन्त्री र स्वतन्त्र सांसदको रुपमा सीमित छन् । आखिर किन ? के–के गर्न सकेनन् बाबुरामले ?

बाबुरामले जे सकेनन्

१. राष्ट्रिय छवी बनेका ब्यक्तिहरुलाई साथमा राखिरहन सकेनन्ः
नयाँ शक्ति पार्टी स्थापना भएपछि राष्ट्रिय छवी भएका धेरै नेताहरु आकर्षित भएका थिए । स्वतन्त्र बुद्धिजिवीहरु पनि धेरै आइपुगेका थिए, नयाँ शक्तिमा । तर आएका धेरैजसो नेता–कार्यकर्ताहरु नयाँ शक्तिमा लामोसमय बसिरहन सकेनन् ।

 २. बाम गठबन्धनमा अटाएनन्ः
चुनावअघि बाबुराम भट्टराईले बामगठबन्धनमा समाहित हुने भन्दै हस्ताक्षर गरे । तर केही दिनपछि नै उनी फिर्ता भए । चुनावको मुखमा बाम गठबन्धनमा किन गए र किन फर्के ? अनि बाम गठबन्धनबाट एक्कासी फेरि कांग्रेसको शरणमा किन पुगे ? लगायतका प्रश्नको जवाफ उनले आम रुपमा दिन सकेनन् । आफ्नो क्षेत्रबाट त चुनाव जिते, तर देशब्यापी रुपमा लज्जाजनक अवस्था आयो ।

 ३.पार्टीलाई राष्ट्रिय मान्यता दिलाउन सकेनन्ः
आजका मितिमा नयाँ शक्ति पार्टीलाई संसदले चिन्दैन । किनभने यो पार्टीले राष्ट्रिय मान्यता प्राप्त गर्न सकेन । पार्टी मात्र होइन, संसदमा बाबुराम भट्टराई स्वयम् स्वतन्त्र सांसद हुन् । पार्टीलाई राष्ट्रिय मान्यता दिलाउन नसकेपछि उनी पाखा लाग्नु अस्वभाविक भएन ।

४. पार्टी भित्र बैचारिक सुन्यताको अवस्था चिर्न सकेनन्ः
छोटकरीमा भन्दा नयाँ शक्ति पार्टीको अर्थ र उद्धेश्यलाई उनले पुष्टि गर्न सकेनन् । यही कारण यस पार्टीबाट नेता तथा कार्यकर्ताको पहिरो गयो । र, गइरहेको छ । जसलाई रोक्न उनी असमर्थ छन् ।

दिवस गुरागाईं

धेरै पढिएको