smart doko

मेनुका/पुजा काण्ड: पात्र नयाँ, प्रवृति पूरानै

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २६ शनिबार | प्रकाशित १४:१८:११
मेनुका/पुजा काण्ड: पात्र नयाँ, प्रवृति पूरानै

अधिकारकर्मी मेनका थापा र बलात्कारपिडित पुजा बोहराबीचको बिबाद सतहमा आइरहँदा र सामाजिक संजालमा त्यो मुद्दाको पक्ष बिपक्षमा बहस भईरहेको देख्दा मलाई हाम्रो समाजको पुरानो चलन जसको बारेमा किम्बदन्ती जस्तै सुन्न पाएको थिएँ त्यो कथाको याद आयो ।

पहिला पहिला जिम्मावाल र मुखीयाहरु गाउँको कार्यकारी हुने समयमा पनि बलात्कारपीडित चेलीहरु, अनिच्छीत गर्भाधारण गर्न विवश चेलीहरु अथवा विवाहपुर्व या विवाहेत्तर संबन्धको कारण गर्भवती हुन पुगेका महिलाहरुलाई जिम्मावाल मुखीया या थुम्के राजाहरुले उठाएर अपहरण गरेर ल्याउथे र आफ्नो घरमा कैद गरेर राख्थे । यसरी गर्भवती भएसंगै अथवा कसैसंग नाजायज सम्बन्ध रहेको हल्ला चले संगै कुनै पनि महिला बाहीर कतै समाजमा नाकमुख देखाउन नसक्ने अवस्थामा पुगी सकेकी हुन्थिन् । 

जिम्मावाल मुखीयाहरुले ल्याएर कैद नगरेको अवस्थामा बाहिर आफुलाई गर्भवती तुल्याउने अथबा आफु प्रेममा रहेको मान्छे भेटेर नयाँ जिन्दगी सुरु गर्न सक्ने अवस्थामै रहेकी महीलालाई समेत उनीहरु स्वतन्त्र छाड्दैन थिए । किनभने उक्त महिलालाई ल्याएर आफ्नो कब्जामा राखीसकेपछि अचम्म अचम्मका हल्ला फैल्याएर सिंगै गाउँ समाजलाई त्राहीमाम बनाएर गाउलेहरुलाई ब्ल्याकमेल गरेर मुखीयाहरु सम्पत्ती कमाउथे । 

मलाई हाम्रो बुबाले हामी अलिकति बुझ्ने हुदै गर्दा सुनाएका कथाहरुको सम्झना अझै ताजा छ । प्राय: सबै जिम्माल मुखीयाहरु जो आफ्नो समाजमा राम्रो प्रभुत्व कायम गरेका छन र तिनीहरुको राजासंग राम्रो सम्बन्ध छ भने तिनिहरुले समेत आफ्नो घरमा कैदी थुन्न पाउने सुविधा पाएका हुन्थे र सबै जिम्माल मुखीया या बैदारहरुको घरमा “थुनुवा कोठा” छुट्याईएको हुन्थ्यो । कस्ती खालकी आरोपित (तत्कालिन भाषामा भन्नु पर्दा ‘बापती’) महिलालाई कहाँ थुन्ने भन्ने कुरा उसको रुप हेरेर र उसले बापत लाग्नु (गर्भवती हुनु अथवा कसैसंग नाजायज सम्बन्ध भएको हल्ला चल्नु अथवा सम्बन्ध स्थापित हुदै गर्दा पक्राउ पर्नु) अगाडी संगत गरेका पुरुषहरु र उ हास्ने बोल्ने गरेका पुरुषहरुको सम्पत्ती हेरेर तय गरीन्थ्यो । यो मुद्दाबाट कमाउन सकिने धनको आधारमा आरोपितलाई कहाँ थुन्ने भन्ने निर्क्यौल गरिन्थ्यो ।

आरोपित (बापत लागेकी) महिला अत्यन्तै सुन्दर छन भने उनलाई सोझै राजाकहाँ बुझाउनु पर्थ्यो । गर्भको समय हेरेर पनि आरोपितलाइ कहाँ कसको कैदमा थुन्ने भन्ने निर्क्यौल गरिन्थ्यो । राजाले चासो देखाए बाहेक पक्राउ परेका आरोपित महिलाहरु जिम्माल मुखीयाहरुकै कब्जामा रहन्थे । 

जसै जिम्माल मुखीयाहरुले उक्त महिलालाई लगेर थुन्थे अनि हल्लाहरु अफवाहहरु बाहीर आउन सुरु गर्थे रे । जानेरै बुझेरै उनीहरु त्यसरी हल्लाहरु चलाउथे । उक्त महिलालाई थुन्ने मात्र होईन उनीहरुको भरमग्दुर शोषण गर्दथे । मुद्दा छिनोफानो नभएसम्म यौन शोषण गरेर राख्थे र छिनोफानो भैसकेपछि समेत लामो समयसम्म घरधन्दा, गोठल्यांई, मेलापात समेत गराउथे उक्त महीलाको भागेर कतै जाने सम्भावना हुदैनथ्यो तसर्थ जिम्माल मुखीयाहरुले जे जे भन्छन त्यो खुरुखुरु मान्नु आरोप (बापत) लागेका महिलाहरुको बाध्यता नै हुन्थ्यो ।

त्यसपछि सुरु हुन्थ्यो ‘पोलाई’ को सिलसिला । त्यसरी आरोप लागेकी महिलाले जोसंग आफ्नो सम्पर्क या सहवास भएको हो अथवा थियो भनेर स्वीकार्छिन या पुरुषलाई आरोप लगाउछिन् या इंकित मात्र गर्छिन भनेपनि त्यसरी आरोप लागेका पुरुषहरु सबै अपराधि हुन पुग्थे । त्यसैले पनि त्यो अवस्थामा मुखीयाहरु सबैभन्दा पहिला गाउमा धेरै जायजेथा भएका मान्छेलाई पोल्न लगाउ थे । अनि उक्त ब्यक्तीलाई बोलाएर ब्ल्याकमेल गर्दथे । बापतीले पोलेपछि जातीच्युत भईन्छ बाहुन समाजमा । उपाध्याय पोलीयो भने सोझै जैसीमा झर्छ, जैसी पोलियो भने नयाँभाते हुन्छ । उसको ईज्जत जान्छ । उ एक तह तल्लो भात भएको बापती ठहरीन्थ्यो रे ।

यसरी  पोलेको हल्लाभित्र भित्रै चलाएर उक्त व्यक्तिको कानसम्म पुर्याइन्थ्यो र उ सोझै मुखियालाइ भेट्न आइपुग्थ्यो अथवा सोझै खवर पठाएर उसलाई भेट्न बोलाईन्थ्यो र प्रत्यक्ष रुपमा ति महिलालाइ स्वीकार्न बाध्य पारिन्थ्यो । त्यसरी आरोप लागीसकेपछि उसको सम्पत्ती मध्येबाट कुन खेत राम्रो छ कुन बारीको पाटो राम्रो छ अथवा चल सम्पत्ती र गहना कति दिएर उसले छुटकारा पाउन सक्छ त्यो बताईन्थ्यो र जवर्जस्ती उसको सम्पत्ति खोसेर उसलाई आरोप मुक्त गरिन्थ्यो । सम्पति दिन आनाकानी गर्ने जातिच्युत भएर बदनाम हुन पुग्थ्यो ।

त्यहाँ कैद गरीएकी महिलालाई जिन्दगीमा एकपटक देख्दा समेत नदेखेको ब्यक्ती समेत यसरी पोलीन्थ्यो कि अव जरिवाना नतिरे जात खस्कन्छ अथवा उक्त महिलालाई स्याहार्न पर्ने समेत हुन सक्छ । स्याहार्नु परे पनि जातिच्युत र आरोप लागेर जरिवाना नतिरे पनि जातिच्युत भईने भयले उनीहरु चुपचाप जरिवाना तिर्थे र आरोपमुक्त हुन्थे । यसरी यौटै आरोपित महिलाद्वारा गाउँभरीका हुनेखाने र मेहनत गरेर सम्पत्ती जोडेका व्यक्तिहरुलाई पोल्न लगाईन्थ्यो र तिनीहरुको सम्पती माथी कब्जा जमाउथे रे जिम्माल मुखीया हरु । 

कहीलेकाहीं त सात गाउँ परको अर्को जिम्मावाल या मुखीयालाई समेत पोल्न लगाएर आफ्नो दुष्मनी निकाल्थे या कुनै बदला लिन्थे रे उनीहरु आपसमा । अनि कुनै जिम्मावाल धेरै नै प्रगती गर्दैछ राजाको जस्तै रवाफ देखाउदैछ र राजाको बैठकमा पनि चर्को चर्को बोलेर राजाका आदेशहरु मान्न ढिलो ढिलो गरिरहेको छ भने त्यस्तो जिम्मावाललाई तह लगाउनको लागी राजा समेत यस्तै हतियारको प्रयोग गर्थे रे । राजाको कैदमा थुनिएकी बापतीलाई सोझै जिम्माल मुखीयालाई पोल्न लगाएर राजा उनीहरुको सम्पत्ती हडप्थे या उनीहरुलाई जिम्मावाल मुखीयाको पदबाट पदच्युत गर्दथे । 

अन्तिममा यदी उक्त महिला अत्यन्तै सुन्दर छिन भने उनलाई दरवारकै सुसारे बनाएर राख्दथे । उसबाट जन्मने सन्तानलाई दरवारकै डोले या हलीहरुको सन्तान भनिदिन्थे । दरवारमा राख्नपर्ने अवस्था रहेन अथवा महिला त्यती धेरै सुन्दर छैनन भने गाउँकै कुनै गरीब, लठेब्रो र निरीह ब्यक्ती खोजेर उसैलाई लौ लैजा आजबाट यहि तेरी श्रीमती हो भनेर भिराईदिन्थे रे । कतै बिहे गर्ने हैसियत नभएको बिचरो सोझो मान्छेको दिमाग भुटेर (ब्रेन वाश) उक्त जोडीलाई जिन्दगी भरि आफ्ना खेतालाको रुपमा प्रयोग गर्दथे रे।

मैले बुबाबाट यो कथा सुनिरहदा हाम्रो गाउमा त्यसरी भिराईएका वृद्द महीला अझै जिवीत थिए । मान्छे नै चिनाएर फलानों मान्छेको विहे यसरी भएको हो भनेर चिनाएरै कथा सुनाउनुहुन्थ्यो बुबाले । त्यो काण्ड पछी जन्मीएको जेठो सन्तान चिनिन्थ्यो । त्यसरी कतिको घरबार राम्रै भएको पनि थियो । कति महीलाहरु कैदमुक्त भएपछी नयाँ प्रेमी खोजेर अन्तै टाढा कतै घरबार गरेका हुन्थे फेरि पनि उनीहरुको किम्बदन्ती गाउमा गुन्जायमान भईरहेको हुन्थ्यो । 

धेरै पहिलाको समयमा पनि महिला बालात्कृत हुनु कसैको लागि फाईदाको विषय थियो । कुनै महिलाले हाडनाता करणीको कारणले गर्भवती हुनु पर्यो भने अथवा कुनै महिलाले प्रेममा धोका पाईन अथवा प्रेमीले गर्भीणी तुल्याएर भाग्यो भने यस्तो कैदीको जस्तो नियती भोग्नु पर्दथ्यो । कतिपय त पल्टने लाहुरेहरु जसले सच्चा प्रेम गर्दथे जो जसले पल्टनबाट फर्केर विहे गर्ने कसम खाएका थिए उनीहरुका प्रेमीकाहरुले समेत यस्ता दण्ड भोग्नु पर्दथ्यो । चाहे जो सुकै होस की त समयमा भाग्न सक्नु पर्दथ्यो होईन भने मुखिया जिम्मावालहरुले दिने सजाय कसैले टारेर टर्दैनथ्यो ।

त्यो समय नै त्यस्तै थियो  कतिपय प्रेम विबाह गरेका गरिब र निमुखा जोडीहरुलाई छुटाएरै पनि यसरी दण्डीत गरिन्थ्यो । अन्तरजातीय बिहे गरेका अथवा हाडनातामा सम्बन्ध हुन पुगेकाहरुको कतै जाने ठाउँ हुदैनथ्यो मुखियाको कैद बाहेक । मुखियाहरुबाट सिंगै गाउलाई पोल्न लगाएर एक किसीमको आतंक सृजना गराईन्थ्यो र गाउलेहरुको सम्पत्ती हडपिन्थ्यो । त्यो समयमा पनि बलात्कार, हाडनाता, अन्तरजातीय सम्बन्ध इत्यादि कुरा जोडीएका यौन सम्बन्धीत मुद्दा मामलाहरुलाई सम्पत्ती कमाउने श्रोतको रुपमा प्रयोग गरिन्थ्यो । 

अहिले समय परिवर्तन भयो । युवायुवतीहरु शिक्षीत हुदै आए तसर्थ सानातिना कुराहरु आफै सल्ट्याउन सक्ने भईरहेका छन । जिम्मावाल प्रथाको अन्त्य भयो र प्रजातन्त्र गाउँ गाउँसम्म पुग्यो । जनताहरु स्वतन्त्रता उपभोगको लागि सचेत हुदै गए तसर्थ साधारण मुद्दाहरुमा उनीहरु कसैको कैदमा परिहाल्ने अवस्था रहेन । तर जिम्मावाल या मुखिया प्रथाकै अर्को रुप जस्तो पिडितलाई पुनस्थापित गराउने नाममा बलात्कार पिडीत चेलीहरुलाई कब्जा गर्न गैह्र सरकारी संस्था (एनजिओ) हरु उदाएर आए । बेचिएकी चेलीलाई समाजमा स्थापित गर्न, वलात्कारपिडीत महीला लाई समाजमा स्थापित गर्न अथवा बाध्यतावस यौन व्यवसायमा फस्न पुगेका वा लागुपदार्थको कुलतमा परेका युवतीहरुलाई समाजमा पुनस्थापित गर्ने नाममा खुलेका यस्ता एनजीओहरुले युवतीहरुलाई कब्जामा लिएर कसरी पैसा कमाउदा रहेछन भन्ने कुरा प्रष्टीदै आएको छ । 

जिम्माल मुखीयाहरुले मेलापातमा पँधेरामा चलाउने हल्ला यिनीहरु मिडीयामा चलाउछन । व्यक्तिलाई पोल्दैनन किन कि अब त्यसरी पोलेर कसैमार्फत जरिवाना तिराउन सक्ने सम्भावना रहेन । त्यसरी पोल्ने पोलाउने प्रथा अहिले प्रहरी प्रसासनले जिम्मा लिएजस्तो देखिन्छ । बलात्कार पिडितको मुद्दा दर्ता नै नगरेर आरोपितहरुलाई समात्ने थुन्ने र आपसी लेनदेनमा प्रहरीले नै मुद्दा मिलाइदिएका कतिपय उदाहरण हाम्रा सामु छन् ।

कतै एनजीओहरु तिनै युवतीको निरीहताको ब्यापार गरेर दाताबाट पैसा अशुल्छन र तिनै पिडीतहरुलाई न्युनतम मानविय ब्यबहार समेत गर्दैनन । मिडियालाई सहानुभूति बटुल्ने माध्यमको रुपमा प्रयोग गर्छन । एनजीओहरुको गलत सुचनाको बिश्वाश गर्दा सम्मानित र अग्रज पत्रकारहरु समेत भ्रमित हुन पुगेको हामीहरुले देखि आएकै बिषय हो ।

यस्ता मुद्दाको छिनोफानोमा अदालतले पनि अचम्म लाग्दा फैसलाहरु दिने गरेको देखिएकै छ । दाङमा आफ्नो लोग्ने बिरुद्द अंश मुद्दा लडिरहेकी एकजना महिलालाइ चिन्दै नचिनेको पुरुषसंग नाता कायम हुने फैसला गरिदियो अदालतले । स्याङ्गजामा जन्मेको सन्तान एकजनाको हुने तर अन्तिम पल्ट करणी भएको आधारमा श्रीमती अर्कैकी ठहर्ने फैसला गर्यो अदालतले  । यो त्यहि सोझो व्यक्तिलाइ आरोपित भिराउने मुखिया प्रथाकै बिकसित स्वरूप हो भन्दा फरक नपर्ला ।

पहिलेका जिम्मावाल मुखियावाला मुद्दाहरुमा पनि सबै महिलाहरु तत्कालीन परिवेश अनुसार दोषी भएपनि अथवा पिडित भएपनि सबैजना उस्तै “सोझा” हुदैनथे । त्यसरी मुद्दामा फसिसकेपछि उनीहरुमा एक किसिमको सुरो ब्यबहारले जन्म लिन्थ्यो र म यसै बिग्रें उसै बिग्रें अब मैले पनि दुनियालाई बिगार्छु भन्ने मानाशिकताले ग्रस्त हुन्थे ।

उनीहरुलाई प्रलोभनमा पनि पारीएको हुन्थ्यो । यसरि यसरि फलाना फलानालाई दोष लगाउने (पोल्ने,डाम्ने-बात लगाउने) त्यसबाट यति यति सम्पत्ति अशुल गर्ने अनि अगाडी तिमीलाई जिन्दगी बिताउन यति सम्पत्ति तिमीले पाउने भनेर पिडित महिलालाइ सहमतिमा ल्याइएको हुन्थ्यो । र पिडित महिलाले पनि मुखियाहरुले जसोजसो सिकाउछन त्यसै अनुसार दोषी या निर्दोष जो भएपनि सम्पत्तिको लागि लान्छना लगाइदिन्थिन् । त्यो जमानामा नजिक उभिएको कुनै पुरुष प्रति औंलो देखाइदिए मात्र बापत लाग्ने पक्का थियो । कहिलेकाँही त जेलमा राख्ने मुखियालाइ नै त्यस्ता महिलाहरुले पोलेका घटनाहरु पनि घट्थे रे ।

अहिले पनि परिस्थिति उस्तै छ । संरक्षणमा राख्ने संरक्षणकर्ताहरुनै पोलिएका छन् । मेनुका थापा, पुजा बोहरा केशमा पुजा बोहरालाई उचालेर मेनका थापालाइ डाम्ने प्रयास गरियो भन्ने चर्चाहरु बिस्तारै चल्न थालेका छन् । दिक्षा चापागाईं–कन्चन शर्मा मुद्दामा दिक्षा चापागाईं द्वारा कन्चन शर्माको प्रयोग भएको थियो । कन्चंका श्रीमानलाई डाम्नको लागि । उनले निर्दोष हुँदा हुँदै पनि रकम तिरेर छुटकारा लिनुपरेको थियो ।

पहिला पहिला महिलाहरु यसै दोष लागिसक्यो अब कसलाई किन बाँकी राख्नु ? आफु त प्रदोष लागिसकेको मान्छे, मुखियाले जसलाई पालना लगाउछन उसैले हो पेट बोकाएको भन्दिन्छु भन्ने एक किसिमको सुरो मानसिकता आउथ्यो महिलामा अहिले भने उस्तै खालको तर अलि आधुनिक पाराको बिचार आउन थालेछ पुजापिडितहरुको दिमागमा । “आफु त मिडियामा आइसकेको मान्छे, म बोलिदिएँ भने त धेरैको ईज्जत लिलाम हुन सक्छ” भन्ने मानसिकताले ग्रस्त हुन थालेको जस्तो लागिरहेछ । एकपटक पिडित भनेर मिडियाले सहानुभूति दिएपछि त्यो सहानुभूति सधैं उस्तै रहिरहन्छ भन्न सकिन्दैन । कन्चन शर्माको अन्तर्वार्ता प्रशारण हुने बित्तिकै उनीप्रति देखिएको सहानुभूति धेरै समय टिकेन यस्तै पुजा बोहराको हकमा पनि नहोला भन्न सकिदैन । पुजा बोहराको बयानलाइ साँचो हो भनेर मान्न धेरै मिडिया कर्मीको अन्तरात्माले अझै मानेको छैन ।

पुनस्थापनाको लागि एनजीओको शरण किन आवस्यक छ ? अव वहस गर्ने वेला आएजस्तो छ । दिक्षा चापागाईंद्वारा कन्चन शर्माको मुद्दाको दुरुपयोग भएको अवस्था होस अथवा अहिले सामुहिक बलात्कार पिडित युवतीले अधिकारकर्मी मेनुका थापालाई लगाएको आरोप होस् यी सबैको प्रकृति हेर्दा यस्तो लाग्यो –यौन उत्पीडनका मुद्दामा पात्र फेरिए प्रवृत्ति फेरिएन अनि समय फेरियो तर चलन फेरिएन ।

(लेखकको निजी विचार)

धेरै पढिएको