छोरीको लाश बुझ्न टिचिङले ४ लाख मागेपछि...

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित १४:२६:२९
छोरीको लाश बुझ्न टिचिङले ४ लाख मागेपछि...

काठमाडौं । आफ्नै सन्तानको शव बुझ्न पनि पैसा पर्छ र ? पैसा पनि सय वा हजार होइन, ४ लाख रुपैयाँ । आफ्नै छोरीको शव बुझ्न महाराजगञ्जस्थित टिचिङ अस्पतालले ४ लाख रुपैयाँ मागेपछि ललितपुर टिकाभैरब घर भई हाल काठमाडौैंको डल्लुमा बस्दै आएकी सन्तोषी नेपाली समस्यामा परेकी छन् ।

एक बर्षअघि बलात्कार पछि आत्महत्या गरेको भनिएकी १३ वर्षीया छोरीको शव बुझ्न आमा सन्तोषीले टिचिङ अस्पताललाई ४ लाख रुपैयाँ बुझाउनुपर्ने भएको हो । अस्पताल स्रोतका अनुसार शवगृहमा राखेको महसुल वापतको रकम ४ लाख रुपैयाँ भएको हो । सन्तोषीकी छोरी अमृताको शवलाई १ बर्षअघिदेखि टिचिङ अस्पतालको शवगृहको फ्रिजमा राखिएको थियो ।

मोरङ बाहुनीका दिनेश चौधरी (विश्वराम रनपैली) ले २०७४ जेठ ५ गते सन्तोषीकी छोरी अमृताको बलात्कार गरेका थिए । चौधरीबाट बलात्कृत भएकी अमृताले आफ्नै घरमा आएर पासो लगाई आत्महत्या गरेकी थिईन् । प्रहरीले उनले आत्महत्या गरेको मुचुल्का तयार पारेको थियो । पछि पोष्टमार्टम रिपोर्टले छोरीको बलात्कार भएको पुष्टि भएपछि उनी कानुनी लडाईको लागि अघि बढेकी थिईन् ।

अमृतालाई बलात्कार गरी आत्महत्या गर्न बाध्य पार्ने चौधरीलाई जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । आफ्नो छोरीको हत्याराले सजाय नपाउँदासम्म शव नबुझ्ने अडानमा रहेकी सन्तोषीलाई यतिबेला न्याय पनि महंगो सावित भएको छ ।

पोहोर दिनको ५ सय लाग्छ भनेको टिचिङ अस्पतालले अहिले दैनिक १५ सयका दरले शवको शुल्क लाग्ने बताउँदै आएको छ । जसले गर्दा छोरीको शव बुझ्न सन्तोषीलाई ४ लाख रुपैयाँको आवश्यकता परेको हो ।

सन्तोषीले भनिन्, ‘पोहोर दिनको ५ सय लाग्छ भन्थे, अहिले १५ सय भन्दैछन् रे ।’ आफुसँग एक पैसा पनि नभएको अवस्थामा कहाँबाट ४ लाख ल्याउने ?’ उनले भनिन्, ‘अब मलाई केही पिर छैन्, छोरीका हत्याराले सजाय पाईसक्यो । यत्रो दुःख त गरेँ, छोरीको शव ल्याउने पैसा पनि जुटाई हाल्छु ।’

सन्तोषीलाई छोरीको शव बुझ्ने पैसाको व्यवस्थापनको चिन्ता नभएपनि अपराधीले सर्वोच्च अदालत गएर सफाई पाउने हो कि भन्ने पीर परेको छ । उनी भन्छिन्, ‘छोरीको शव झिक्ने पैसाको मात्र चिन्ता छैन । यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्दा चौधरीले सफाई पाउने त हैन भन्नेमा डर छ ।’

एक वर्षको अवधिमा आमा सन्तोषी छोरीको अनुहार हेर्न एक पटकपनि अस्पताल गईनन् । छोरीको अनुहार हेर्दा आफ्नो मन कोमल हुने र अपराधीले सजाय नपाउने अवस्था आउन सक्ने भन्दै एक वर्षको अवधीमा उनी कहिल्यै अस्पताल नगएकी हुन् । धेरै मेहनत र परिश्रम गरेपछि मात्र उनले प्रहरीकँहा जाहेरी दिन सफल भएकी थिइन् ।

fasttrack
धेरै पढिएको