दिनेश डिसी भर्सेस रबि लामिछाने: प्रशंसक हुने की अन्धभक्त ?

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित १७:५२:२६
दिनेश डिसी भर्सेस रबि लामिछाने: प्रशंसक हुने की अन्धभक्त ?

हिजै देखि सामाजिक संजाल तातिएको छ। खासै नौलो बिषय नभएपनि युवा पत्रकार रबि लामिछानेको समर्थन र भेट्रान संचारकर्मी दिनेश डिसीको बिबादलाई मुख्य बिषय बनाएर लामिछानेको समर्थन र डिसीको गालीमा सामाजिक संजालले धेरै अक्षरहरु बगाईसक्यो।

बिहानै देखि रबी लामिछानेका समर्थकहरु दिनेश डिसीलाई एकोहोरो गाली वर्षाईरहेछन । आलोचनाको पारो चढ्दै चढ्दै गएर गालीको रुप धारण गरेर पनि अझै उग्र रुप धारण गर्न सुरु गरिसकेका छन् । यति भईसक्दा दिनेश डिसीले फेसबुक मार्फत आफु त्यसो नबोलेको र आफुले बोलेका कुरालाई गलत अर्थ लाग्ने गरि ईडीट गरि प्रसारण गरिएको कारण आफ्नो अबिब्यक्ति नकारात्मक जस्तो देखिन गएको भनेर भिडियो खिच्ने र युट्युबमा हाल्ने लाई ओरिजिनल भिडियो बाहिर ल्याउन अनुरोध गरेका छन् साथै आफु रबि लामिछाने र धुर्मुस सुन्तलीको कहिल्यै बिरोधि नरहेको र नरहने समेत प्रष्ट पारेका छन्।

यसरि हेर्दा डिसीले आफुले बोलेका कुरा नकारात्मक जस्तो देखिएपनि वास्तवमा त्यसरी नबोलेको प्रष्ट पारे। त्यहीं डिसीको भनाइ आएसंगै लामिछानेको पनि नयाँ एपिसोड आयो। नयाँ एपिसोडमा उनले नजानिँदो पाराले आफुलाई सुझाव दिने हरुलाई घुमाइ घुमाइ दनक दिए। प्रधानमन्त्रीलाई बोलाएर जनताको अगाडी उभ्याएको, त्यतिले मात्र नपुगेर जनताका समस्या लिएर सोझै जनताको दैलोमा पुगेको र त्यसो गर्दा बुढा भएका बा आमाले आफुलाई आशिर्वाद दिंदै अलि चर्को स्वरमा बोल्न सुझाव दिएको कारण ति कान कमजोर भएका बुढाबुढीले सुन्ने गरि आफु अझै चर्को स्वरमा बोल्नु परेको र अझै बोल्ने बिचार ब्यक्त गरे।

दिनेश डिसीको अभिव्यक्ति र रबि लामिछानेको पछिल्ल्लो एपिसोड पछाडी गर्माएको सामाजीक संजालले सेलाउने छाँटकाँट देखाएन। कुनै प्रशंसक हरु मध्यम किसिमका बिचारहरु लिएर निस्किए। कुनै अन्धभक्त हरु सोझै हतियार लिएर निस्कने हुन् कि जस्ता शब्दवांणहरु लिएर मैदानमा उत्रिए हेर्दाहेर्दै फेसबुक रणभूमि जस्तो देखियो । मुगलले एकतर्फी आक्रमण गरेर कब्जा गरेको निरिह रजौटाको बिर्ता जस्तो दिनेश डिसीको समर्थनमा बोल्ने कोहि भेटिएनन, मुगलले पिलाएको मदिराले मदमत्त भएका सिपाहीले युद्द जितेको मातमा एकोहोरो मुगल सम्राटको जयजयकार गरेजस्तो अन्धभक्त हरु रबि लामिछानेको जयजयकार गरिरहे।

दिनेश डिसी पनि एक जमानाका चर्चित संचारकर्मी हुन्। उनको आवाज रेडियोमा बज्दा उनका धेरै फ्यान हरु नतमस्तक भएर उनलाई सुनिरहन्थे। उनका प्रशंसकहरु पनि प्रसस्तै थिए, यौटा जमाना थियो दिनेश डिसी आवाजका दुनियाका बादशाह थिए। बिस्तारै समय बदलिंदै गयो, दिनेश डिसी युवा बाट भेट्रान भए उनका प्रशंसक हरुपनि युवाबाट प्रौढ हुँदै गए। फ्यान त उनका पनि नभएका कहाँ हुन् र तर सामाजिक संजालमा उद्दण्डता प्रदर्शन गर्ने उनका फ्यान रहेनछन भन्ने बुझियो।

समय सबैभन्दा बलवान हुँदोरहेछ। एउटा जमाना थियो पत्रकार भनेकै विजयराज पाण्डे र संचारकर्मी भनेकै दिनेश डिसी भनेर चिन्थे आम मान्छेहरु। उनीहरु भन्दा अग्रज पनि धेरै पत्रकार र संचारकर्मी हरु छन् जसको नयाँ पुस्ताले नाम सम्म याद गर्दैन। विजयराज पाण्डेको आक्रमकता उनले नेताहरुलाई गर्ने प्रश्न को ओज र उनको बोल्ने सैलीका धेरै फ्यानहरु थिए तर बिस्तारै बिजयकुमारमा निहित त्यो आक्रमकता घट्दै गयो। उनका प्रस्तुतिहरु एकदम “कोल्ड एण्ड कुल” हुँदै गए, सायद त्यो आक्रमकताको औचित्य समयले समाप्त पारिदिएको थियो त्यसैले उनले आफ्नो सैलिमा परिवर्तन गरे, पाण्डे आज पनि सदाबहार पत्रकारको रुपमा परिचित छन।

रबि लामिछानेको युवा जोशको समय हो यो । यहि समयमा मान्छे सबै भन्दा जोसिलो हुन्छ। त्यो जोशले समाजलाई सकारात्मक र सिर्जनसिल कुरा उनले दिईरहेका छन् यो निकै प्रशंसनीय र सह्रानीय काम हो। पत्रकारिता गरेर निमुखालाई न्याय दिनु जस्तो चुनौतिपूर्ण काम अर्को हुन सक्छ जस्तो लाग्दैन। उनि र उनको टिमजे गरिरहेको छ त्यो काममा त्यत्तिको जोश र त्यो किसिमको आक्रमकता भएन भने प्रतिफल पाउन पनि गाह्रै हुन्छ। टायर नबाली र यातायात बन्द गरेर तोडफोडमा नउत्रे सम्म कुनै पनि मुद्दाको सुनुवाई नहुने समाजमा बसेर गरिएको पत्रकारिता आक्रामक रुपमा गरिएन भने निमुखाले न्याय पाउला भनेर कल्पना नगरेपनि हुन्छ।

यसो भनिरहँदा आफुले प्रस्तुत गरेको बिषयबस्तुले पारेको सापेक्षित् प्रभावको नसामा यौटा पत्रकार चुर हुन हुन्छ कि हुँदैन ? बिचार भने गर्नु पर्ने हुन्छ। दिनेश डिसीले बोलेको कुरा सहि थियो या कुनै तत्वले सम्बन्धमा खेलेर, खलल पारेर चर्चा बटुल्ने दुश्साहस गरिरहेछ भन्ने बुझेर मात्र आफ्नो अभिव्यक्ति राखिनु पर्थ्यो ? यो प्रश्नको जवाफ भने रबि लामिछानेले मात्र दिन सक्लान । पटक पटक दिनेश डिसीले मैले त्यसो बोलेको छैन भन्ने अभिव्यक्ति दिईसकेपछी रबि लामिछानेले आफ्ना प्रशंसकहरुलाई डिसी प्रति आक्रामक नहुन आह्वान पनि गर्न सक्थे, उनले सामाजिक संजालमा एक किसिमको सद्भाव कायम गराएर आफ्नो बडप्पन प्रदर्शन गर्न सक्थे तर त्यसो हुन सकेन ।

नेपालको पत्रकारिता र संचारको जगत त्यति ठुलो पनि छैन । लामिछानेले डिसीलाई सोझै सोध्न पनि सक्थे, आफुले सुनेको कुरा कति सहि र कति गलत थियो भनेर ‘पर्ख र हेर’ को अवस्थामा बस्न पनि सक्थे र केहि ढिलो गरेर आफ्नो बिचार राख्न पनि सक्थे अथवा काउन्टर अट्याक गर्न पनि सक्थे तर त्यसो गरिएन । आखिर किन कायम भएन त त्यो धैर्यता ? हुन सक्छ युवा जोशको कारण त्यो धैर्यताले कतै स्थान नपाएको पो हो कि ।

त्यो भन्दा खतरनाक अवस्था त के हो भने सिंगो समुदाय नै कसै बाट अभिव्यक्त भएको यौटा बिचार को सत्य तथ्य नबुझी गाली गलौच र आलोचनामा उत्रियो । दिनेश डिसीले रबीको बिरोध गरे अनि रविका समर्थकले डिसीको बिरोध सुरु गरे । तर के रबीका समर्थकले डिसीको भनाइको सत्य तथ्य बुझ्न लाइ धैर्यता देखाए त ? अहिले समाज सेवाका नाममा धुर्मुस सुन्तली या पत्रकारिताका नाममा रविले गरेका कुरा हरु कतै कुनै कोणबाट पनि गलत छैनन् । केहि व्यक्ति लाइ उनीहरुको "एटिच्युड" मन नपरेको हुन सक्छ त्यसले उनलाई फरक पनि पार्दैन । तर के डिसी लाइ गाली गर्नु अगाडी लामिछानेका समर्थकले अलिकति धैर्यता प्रदर्शन गर्नु पर्दैन र ?

अनुयायी हुनु फ्यान या प्रशंसक हुनु बेग्लै कुरा हो र अन्धभक्त हुनु बेग्लै कुरा हो । मैले कुनै अर्थमा पनि धुर्मुस सुन्तली या रबि लामिछानेहरुको कामलाई गलत देख्दिन उनीहरु जे गरिरहेछन आफ्नो स्थान बाट देश र जनताको लागि उत्कृष्ट कार्य गरिरहेछन तर उनीहरुको कसैले बिरोध गर्यो अथवा आलोचना गर्यो भने ज्यान फालेर उनीहरुको प्रोटेक्सनमा उत्रनु आवस्यक छ र ? बुझ्न नसकेको कुरा यहि हो ।

राम्रो काम गरिरहेछन त्यसैले उनीहरुको कामले नै उनीहरुको सुरक्षा गरिरहेको हुन्छ । आखिरमा डिसी अनर्गल रुपमा प्रचार भएजस्तो बोलेकै रहेनछन । ईड़ीटेड भिडियोमा त जो सुकैको जे सुकै बिबावादास्पद अभिव्यक्ति काटकुट गर्न र जोड जाड गर्न मिल्छ । त्यस्ता अभिव्यक्ति आउदा लामिछानेका समर्थकहरु आल्म्युनियमको ताप्के झैं चाडो तात्न हुँदैन ढलोट जस्तै बिस्तारै आगोको राप बुझेर तात्ने र आगो निभेपछी पनि दुई रोटि पकाउने तापक्रम थेग्ने हुनुपर्दछ भन्ने मेरो मान्यता हो । रबि लामिछानेको हकमा मात्र होईन जो सुकैका प्रशंसक हरुले सत्यतथ्य बुझेर धैर्य धारण गरेर पर्खेर हेरेर मात्र बिरोध र समर्थनको नीति अबलम्बन गर्नुपर्ने होइन र ?

एक जमाना थियो जतिबेला बाबुराम भट्टराइको बिरोध गरे पिटाइ खानुपर्छ कि भन्ने जोखिम रहन्थ्यो । उस्तै अर्को समय आयो बाबुराम भट्टराइको समर्थन गरे पिटाइ खानु पो पर्छ कि भन्ने सोचेर दायाँ बायाँ हेरेर मात्र बोल्न पर्ने दिन पनि आए । यो समयको खेल हो, सबैलाई आउछ समय एकपटक, समय आफ्नो पक्षमा रहेको समयमा कति संयमित हुने भन्ने कुरा व्यक्तिको बिबेकले निर्धारण गर्ने कुरा हो । दम्भ देखाउन सबैलाई छुट छ तर पच्चीस तिस बर्ष अगाडिका उस्तै व्यक्तित्व हरुलाई हेरेर त्यत्ति समय पछाडिको आफ्नो समय कस्तो होला भनेर सोच्नु अलिकति बुद्दिमानी होला कि ?

दुर्गा पंगेनी

fasttrack
धेरै पढिएको