smart doko

यि हुन् बाबुरामका ४ विकल्प

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३१ बिहीबार | प्रकाशित ११:१२:०७
यि हुन् बाबुरामका ४ विकल्प

काठमाडौं । ‘बाटो बिराउनेहरु गन्तब्यमा पुग्न सक्दैनन् ।’ यो परम्परागत सत्य भनाई जो कोहीको ‘करिअर’ सँग पनि मेल खानसक्छ । पछिल्लो पटक डा. बाबुराम भट्टराईको भावी राजनीति नियाल्दा उनलाई ‘सेफल्याण्डिङ’ को समस्या हुने खतरा बढेको छ । विगतमा यो समस्याबाट एमालेका तत्कालीन नेता सीपी मैनाली ग्रसित थिए । आजका मितिसम्म आइपुग्दा सीपी ‘ग्राउन्डेड’ भइसकेका छन् ।

डा. बाबुराम भट्टराईको बारेमा विश्लेषण गर्दैगर्दा सीपी मैनालीको स्मरण किन भएको हो भने यी दुई नेताको राजनीतिक उतार चढाव लगभग उस्तै छ । बाबुराम भट्टराई जसरी भूमीगत राजनीतिबाट खुलामा आए र राजनीति गरे, त्यसैगरी सीपीले समेत कठोर भूमीगत जीवन बिताएका थिए । जेल तोडेर निस्केका थिए । २०४५ सालताका सीपीको ठूलो नाम थियो । उनी तत्कालीन नेकपा मालेको पहिलो महासचिव समेत हुन् ।

एमाले पार्टीमा सीपी र माओवादीमा बाबुराम दुवै दोस्रो नम्बरमा थिए । भूमीगत जीवनपछि बाबुराम प्रचण्डको नेतृत्वमा र सीपी मदन भण्डारीको छायाँमा परे । दुवैको लक्ष्य ‘फस्ट मेन’ थियो । तर, बाबुरामले प्रचण्डलाई कहिल्यैे उछिन्ने छाँटकाँट देखाएनन् । ‘मोही माग्ने, ढुंग्रो लुकाउने’ सिद्धान्त अख्तियार गरिरहन बाध्य भए उनी । सीपी चाँही मदनको अवसान पछि आएका उत्तराधिकारी माधव नेपालको समेत नेतृत्वमा बस्न बाध्य भए ।

बाबुराम भन्दा सीपी केही कुरामा अगाडि थिए । जस्तो, माओवादीले ‘प्रचण्ड पथ’ नामक सिद्धान्त पार्टीबाट सर्वसम्मत रुपमा पारित गरेर सार्वजनिक गर्‍यो । तर तत्कालिन एमालेले मदन भण्डारीद्धारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ सर्वसम्मत रुपमा पारित गर्न सकेन । यसको कारक थिए, सीपी मैनाली ।

उनी ‘नौलो जनबाद’ नामको अर्को फरक सिद्धान्त पेश गरेर मदन भण्डारीसँग जोरी खोज्ने पात्रको रुपमा आफूलाई उभ्याउन सफल थिए । पछि एमाले फुटाएर माले पार्टी बनाउँदा उनले धेरै स्टार नेताहरु लिएर गए, आफ्नो पार्टीमा । बाबुरामले भने पार्टीका स्थापित स्टार नेताहरु खासै भेटेनन् । अर्को मिल्दो पक्ष, आफूले बनाएको पार्टी कमजोर हुँदै जाँदा यी दुवैले नेपाली कांग्रेसको शरण लिए ।

तर, सीपीले पार्टी फुटाउनुको औचित्य पुष्टि गर्न सकेनन् । वर्तमानमा बाबुराम माथि पनि त्यही पुरानो प्रश्न छ, नयाँ शक्ति नामको पार्टीको औचित्य र आवश्यकता के हो ? हो, आजसम्म बाबुराम भट्टराई चुकेको ठाऊँ नै यही हो । जवाफ त उनले दिइनै रहेका छन्, तर त्यो चित्तबुझ्दो मानिएको छैन ।

यदी बाबुराम यही हिसावमा ओरालो गति हिडिरहने हो भने उनी सीपी मैनाली पथमा पुग्न धेरै समय कुर्नु पर्ने छैन । अबको केही समयमा नै नयाँ शक्ति नामक पार्टी रहन्न । मात्र दोकान बाँकी बस्छ, सीपीको नेपाल कम्युनिष्ट पार्टी ‘माले’ जस्तो ।

सीपी पथमा पुग्नवाट यसरी जोगिन सक्छन् बाबुराम ।

बाबुरामका विकल्प
विकल्प नं १
पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्नेः
नयाँ शक्ति पार्टीको अर्थ र उद्धेश्यलाई बाबुराम भट्टराईले अहिलेसम्म पुष्टि गर्न सकेका छैनन् । जीवनको लामो समय कम्युनिष्ट पार्टीमा बिताएका उनले पार्टीको तत्कालिन र दीर्घकालीन सोचको खाका के हो, भन्न सकेका छैनन् । उनले जे भन्दै आएका छन् त्यसलाई जनताले पत्याएका छैनन् । उनीसँगै माओवादी छोडेर गएकाहरुले समेत बाटो तताई सकेका छन् ।

विकास र समृद्धिको नारामा पुराना पार्टीले घाँटी सुकाइरहेकावेला उनले लगाएको नारा कता हरायो कता, कसैले सुनेन । सर्वप्रथम उनले पार्टीको मोडल तयार गर्नु पर्छ । बैचारिक, सांगठानिक ढाँचा स्पष्ट पार्नुपर्छ । सवैले बुझ्ने भाषामा नयाँ शक्तिमा किन लाग्ने ? त्यस पार्टीलाई किन हुर्काउने ? लगायतका प्रश्नको जवाफ ब्यवहारले दिन सकेको खण्डमा उनले फड्को मार्न सक्छन् । जे जस्तो अवस्था भएपनि भावि दिनमा उनले पार्टीलाई बलियो बनाउनै पर्छ । पार्टी छोडेर गएकालाई फर्काएर मात्र पनि पुग्दैन । नयाँ उचाईबाट संगठन गरेर अघि बढ्नु पर्छ । यो उनको पहिलो बिकल्प हो ।

विकल्प नं २
विचार मिल्नेहरुसँगको एकताः
बाबुरामले विगतका चुनावमा विभिन्न पार्टीहरुसँग एकता गरेका थिए । तर ती एकता लज्जाजनक नै थिए । त्यसमध्येको एउटा चुनावमा उनको पार्टीले नेपाल कम्युनिष्ट पार्टी संयुक्तसँग चुनावी तालमेल गरेको थियो । उनको यस्तो एकतालाई कसैले पनि निको मानेनन् । हाँसोको विषय मात्र बन्यो, यो एकता ।

त्यसो त बाबुरामको पार्टीले एकता त गर्नै पर्छ, विचार मिल्नेहरुसँग । यसक्रममा उनले रवीन्द्र मिश्र लगायतले खोलेको भिन्न पार्टीलाई समाहित गर्दै लान सक्नुपर्छ । कम्युनिष्ट, कांग्रेस र राजावादीहरु वाहेकको अर्को शक्ति उनले तयार गरेर राखेभने त्यो ‘क्लिक’ पनि हुन सक्छ । यो विकल्पमा उनले पर्खिन सक्नुपर्छ ।

विकल्प नं ३
नेकपामा समाहित हुनेः
चुनावअघि बाबुराम भट्टराईले बामगठबन्धनमा समाहित हुने भन्दै हस्ताक्षर गरे । तर केही दिनपछि नै उनी फिर्ता भए । चुनावको मुखमा बाम गठबन्धनमा किन गए र किन फर्के ? अनि बाम गठबन्धनबाट एक्कासी फेरि कांग्रेसको शरणमा किन पुगे ? लगायतका प्रश्नको जवाफ उनले आम रुपमा दिन सकेनन् ।

आफ्नो क्षेत्रबाट त चुनाव जिते, तर देशब्यापी रुपमा लज्जाजनक अवस्था आयो । यस्ता बचपना ब्यवहार उनी जस्तो नेताले प्रदर्शन गर्नु हुँदैनथ्यो । एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । उनले त्यहीं पसेर ‘टप थ्री’ बरियतामा बस्न सक्नुपर्छ । यो उनको दोस्रो बिकल्प हो । किनभने राष्ट्रिय राजनीतिमा बस्न सकेनन् भने उनका विकासे योजना तुहेर सकिनेछन् ।

विकल्प नं ४
नेपाली कांग्रेसमा जानेः
पछिल्लो आम चुनावमा तालमेल गरेजस्तै बाबुरामले नेपाली कांग्रेस पसेर नेतृत्व लिन सक्नेछन् । यदी उनी कम्युनिष्ट हुन सक्दैनन् भने प्रजातन्त्रको पक्षमा उभिन सक्नुपर्छ । यसक्रममा उनले आफैं नयाँ पार्टी बनाउन खोजेकै हुन् । तर, त्यो सफल हुन नसक्दा उनीसँग कांग्रेस पस्ने अन्तिम बिकल्प बाँकी बस्न सक्छ ।

दिवस गुरागाईं

 

fasttrack
धेरै पढिएको