smart doko

विश्वकप फुटबलको अर्थ–राजनीति

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३१ बिहीबार | प्रकाशित १२:२५:०१
विश्वकप फुटबलको अर्थ–राजनीति

विश्वकप फुटबल बिहिवारबाट रुसमा शुरु हुदैछ । राजधानी मस्कोको लुजनीकि रंशालामा विश्वकपको शुरुवातसंगै रुसले अनेकौं किर्तिमान् बनाउनेछ । रुसले इतिहासमै पहिलो पटक फुटबलको महासंग्राम विश्वकपको आयोजना गर्न लागेको हो ।

तर, रुस विश्वकपको उत्साह जति छ, पर्दा पछाडी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना पनि त्यति नै छ । सन् २०१० को दक्षिण अफ्रिका विश्वकपको पूर्व सन्ध्यामा अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०१८ र २०२२ को आयोजक राष्ट्रको घोषणा गरेको थियो । फिफाको घोषणाले दक्षिण अफ्रिकामा शुरु हुन लागेको विश्वकपलाइ छायामा त पर्यो नै, विश्वकपका खेलका भन्दा नया आयोजक राष्ट्रका कुरा बढी हुन थाले । फिफाले त्यसवेला सन् २०१८ को आयोजक राष्ट्र रुस र सन् २०२२ को आयोजक राष्ट्र कतार भनि विवादास्पद घोषणा गरेको थियो ।

आयोजक राष्ट्रलाई लिएर फिफाको सन् २०१० को विवादास्पद घोषणा अहिले पनि सेलाएको छैन । रुसलाइ विश्वकप आयोजनाको जिम्मा दिएको भन्दै पश्चिमा मुलुकले फिफाको कडा आलोचना मात्र गरेनन्, रुसले विश्वकपको शाख राख्न नसक्ने घोषणा नै गरिदिए ।

विश्वकपलाइ लिएर पश्चिमा मुलुकको एकोहोरो प्रहारलाइ छल्दै रुसले अन्तत: बिहिवार साझ विश्वकपको भब्य उद्घाटन गर्दैछ । सन् २०१८ को विश्वकपका लागि रुससंगै अन्य यूरोपेली मुलुक बेलायत, स्पेन, नेदरल्याण्ड्स, पोर्चुगलले दाबेदारी प्रस्तुत गरेका थिए । तर फिफाका तत्कालिन अध्यक्ष सेप ब्लाटरले रुसलाइ आयोजनाको स्विकृति दिएका थिए । यसले यूरोपेली फुटबलका महारथी राष्ट्रहरुलाइ थप चिढ्यायो ।

रुस विश्वकपको आयोजना विवाद त्यतिवेला चुलियो जब सन् २०१४ मस्कोले राष्ट्रपति पुटिनको आदेशमा छिमेकी राष्ट्र युक्रेनको क्राइमिया टापुमा आक्रमण गर्यो । क्राइमियामा रुसी सेना खडा भएपछि मस्कोविरुद्ध सम्पूर्ण विश्व एक भयो । युक्रेनको पूर्वी क्षेत्रमा अझैपनि रुसले आफ्ना सेना तैनाथ नै राखेको छ ।

रुसले क्राइमियालाइ खोसेर आफुमा विलिन गराएपछि पश्चिमा राष्ट्रले रुसमाथी नराम्रोसंग आर्थिक नाकाबन्दी लगाइदिए । यस नाकाबन्दीका कारण रुसले विश्वकपको तयारीका क्रममा धेरै आर्थिक घाटा ब्यहोर्नु पर्यो । समयमा रंशाला निर्माण हुन नसकेपछि रुस थप आलोचनाको पात्र बन्यो । पश्चिमा मुलुकले यसलाइ पनि रुसको असफलता भन्दै मस्कोको आलोचना गरिरहे । उनीहरुले रुस र फिफालाइ विश्वकपको सफल आयोजनावारे बारम्बार प्रश्न गरिरहे ।

रुसले सोभियत संघको पतनपछि विश्वमाझ राजनीतिक र आर्थिक रुपमा आफु अझै बलियो रहेको देखाउन विश्वकप आयोजना गर्ने मनसाय ब्यक्त गरेको थियो । रुसको यो सपना फिफा र ब्लाटरले पुरा गरिदिए । पश्चिमा मुलुकको निरन्तर आर्थिक दबाब र विश्व राजनीतिमा खस्कदै गएको आफ्नो साखलाइ जोगाउन रुसलाइ जसरी भएपनि यो विश्वकप सफल बनाएर देखाउने चुनौती छ ।

सन् २०१० मा सेप ब्लाटरले फिफामा बसेर अर्को पनि क्रान्तिकारी निर्णय गरे । पश्चिमा मुलुकको आर्थिक र राजनीतिक शक्तिका विपरित विश्व राजनीतिमा उदाएको नया धारलाइ फिफा र ब्लाटरले पच्छाए । यो नया शक्ति थियो, ब्रिक्स राष्ट्रको उदय । ब्रिक्स राष्ट्रमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन् । यी पाचै मुलुकलाई ब्लाटरले ठूलो गुण लगाए । सन् २०१० मा दक्षिण अफ्रिका, सन् २०१४ मा ब्राजिल, सन् २०१८ मा रुसले विश्वकप आयोजनाको मौका पाए । त्यस्तै, भारतले अघिल्लो वर्ष यू–१७ विश्वकपको आयोजनाको अवसर पायो भने चीन अहिले फिफाको सबैभन्दा ठूलो लगानी मुलुक बनेको छ ।

फिफा र ब्लाटरले ब्रिक्स राष्ट्रलाइ लगाइरहेको गुण पश्चिमा मुलुकले बुझिहाले । विश्वकप आयोजनाको जिम्मा एकपछि अर्को गर्दै ब्रिक्स राष्ट्रलाइ दिएपछि विश्व राजनीतिमा दबदबा राखेका पश्चिमा मुलुक चिढिनु स्वाभाविक थियो । त्यसैले त ब्लाटरमाथीका फिफाका सम्पूर्ण भ्रष्टाचारलाइ एक पछि अर्को गर्दै पश्चिमा मुलुकका सञ्चार माध्यमले उदांगो बनाइदिए र ब्लाटरले फिफाजस्तो शक्तिशाली संस्थाको अध्यक्ष पदबाट हात धुनु पर्यो । यसमा बेलायतको प्रमुख हात रहेको थियो, जसले आफैं यो विश्वकपको आयोजना दावेदारी प्रस्तुत गरेको थियो ।

विश्वकप आयोजनाको जिम्मा पाएपछि रुसले आफुलाइ कहिले पनि विवादमुक्त राख्न सकेको छैन । अझ रुसको खेल क्षेत्र त झनै बद्नाम छ । रुसी खेलाडी डोपिंमा फसेर हुन् वा रंगभेदी टिप्पणी गरेर, रुस सधैं विवादमा नै छ । पछिल्ला वर्ष रुसी खेलाडीले विश्वभर अनेकौं आरोप सहदै आइरहेका छन् ।
यस्ता विवाद र पश्चिमा आरोपविच रुसले विश्वकपको आयोजना गर्दैछ । अघिल्लो महिनासम्म खेल खेलाइने रंशालाको अन्तिम तयारी गरिनसकेको रुसले बिहिवार विश्वकपको उद्घाटन गर्दैछ । यस्तोमा रुस र फिफा दुबै विश्वकप फुटबल असफल हुने त होइन भन्ने चिन्तामा छन् ।

जे जस्तो भएपनि अहिले विश्वको आँखा रुस र पुटिनमाथी केन्द्रित छ । सबै अविश्वासलाइ चिर्दै विश्वका प्रमुख राजनीतिक खेलाडी पुटिनसामु विश्वको सबैभन्दा प्रतिष्ठत खेललाइ सफल बनाएर देखाउने चुनौती छ । तर, विश्वकपका खेल शुरु भएपछि सम्पूर्ण विश्वको ध्यान मैदानबाहिरका खेल र खेलाडीमा भन्दा मैदान भित्रको खेल र खेलाडीमा जाने निश्चित छ ।

fasttrack
धेरै पढिएको