smart doko

अर्जेन्टिना फुटबलको ‘रामकहानी’

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार १२ मंगलवार | प्रकाशित ११:५०:३०
अर्जेन्टिना फुटबलको ‘रामकहानी’

काठमाडौं ।

जून २१, बिहिवार । राती पौन १२ बजे ।

खेल अर्जेन्टिनाविरुद्ध क्रोएशिया । मैदानः निज्नी नोभगोरोड रङशाला, रसिया ।
यो एउटा सामान्य फुटबल खेल मात्र थिएन । यो एउटा त्यस्तो प्रतिष्ठिाको लडाई थियो, जसलाइ विश्वभरिका करौंडौं दर्शकले प्रत्यक्ष हेरिरहेका थिए । र, यो प्रतिष्ठाको लडाईको सेनापतिका रुपमा थिए, लियोनेल मेस्सी ।

मेस्सी त्यस्तो परिक्षामा उत्रिएका थिए, जहाँ फेल हुने विकल्प नै थिएन । न त कसैले त्यस्तो कल्पनासम्म गर्न सक्थ्यो । तर कसैले नसोंचेको घटना घट्यो त्यो मैदानमा । अर्जेन्टिना क्रोएशियासँग अप्रत्यासित रुपमा ३–० गोलले पराजित भयो ।

अर्जेन्टिनामा फुटबललाई लिएर एउटा भनाई प्रख्यात छ । ‘अर्जेन्टिनाले खेल जितेर मात्रै पुग्दैन, त्यसलाई सुन्दर रुपमा जित्न सक्नुपर्छ ।’ यो भनाइले नै प्रष्ट हुन्छ, फुटबल भनेपछि अर्जेन्टिनीहरु के चाहान्छन् भनेर । अर्जेन्टिनामा मात्र नभई उसको फुटबलका समर्थक विश्वभर करोडौं छन् । ती करोडौं फुटबल फ्यानहरुले पनि यस्तै सोच्ने भै नै हाले । तर, जून २१ को त्यो रात विश्वभरका अर्जेन्टिनी फ्यान एउटा नराम्रो सपनाबाट ब्यूझिंए ।

त्यो रातले अर्जेन्टिनी फुटबललाई मात्र नभइ अर्जेन्टिनाको राजनीति, उसको अर्थब्यवस्था, फुटबलले त्यहाँ जन्माएको संस्कृति र परम्परा सबैलाइ उथलपुथल बनाइदियो । विश्व फुटबलका वर्तमान महान खेलाडी लियोनेल मेस्सीको टोली अर्जेन्टिना विश्वकपको पहिलो चरणबाटै बाहिरिने संघारमा पुग्यो ।

आफ्नो राष्ट्रिय टोलीको उक्त हारपछि अर्जेन्टिनीहरुले त्यस खेललाई मुलुकको राजनीतिसँग तुलना गरे । जसरी अर्जेन्टिनाको राजनीति र अर्थव्यवस्था गहिरो संकटबाट गुज्रिरहेको छ, त्यो संकटले राष्ट्रिय टोलीलाई पनि छोपेको उनीहरुले ठाने ।

तर अर्जेन्टिनीहरु यस्तो होस् भन्ने चाहादैनथे । आफ्नो मुलुकबाट पाउन नसकेको खुशि उनीहरु राष्ट्रिय टोलीले फुटबल खेलिंरहँदा खोज्दथे । तर, त्यस रात उनीहरुले सोंचे जस्तो केही पनि भएन । उनीहरुले फुटबलका भगवान भन्ने गरेका मेस्सीले आफ्नो राष्ट्रिय टोलीको उद्धार गर्न सकेनन् ।

अर्जेन्टिनामा फुटबल खेल रमाइलोका लागि मात्र खेलिंदैन । त्यो देशमा फुटबल एउटा गम्भिर विषय हो, मुलुकको राजनीति र अर्थव्यवस्था जस्तो । तर अहिले यी तीनै कुराहरु अर्जेन्टिनामा सही ढंगबाट चलिरहेका छैनन् । त्यसैले त, अर्जेन्टिनाले क्रोएशियासँग लज्जास्पद रुपमा खेल हारेपछि त्यहाँका राष्ट्रिय टेलिभिजनहरुले एक मिनेट मौनधारण गर्दै शोकधुन बजाए ।

आखिर किन अर्जेन्टिनामा फुटबललाई यति गम्भिर रुपमा लिइन्छ ?
सन् १९७८ मा अर्जेन्टिनालाई इतिहासकै पहिलो विश्वकप फुटबलको उपाधी जिताउन महत्वपूर्ण भूमिका खेलेका सिजर लुइस मेनोटी भन्छन् – ‘फुटबल संकट यो देशमा यतिसम्म बढेको छ की अब राष्ट्रिय टोलीले रुस विश्वकपको उपाधी जितेपनि त्यसले मुलुकमा खुशियाली ल्याउने छैन ।’

मेनोटी अर्जेन्टिनाको फुटबल र त्यसले स्थानीय समाजमा पारेको प्रभावबारेका अध्येयता पनि हुन् । उनी मौलिक रुपमै अर्जेन्टिनी फुटबल र आफ्नो समाजकाबीचमा केही गढबढी देख्छन् ।

अर्जेन्टिनाको राष्ट्रिय टोलीको जर्सि पहिरिएपछि त्यसको दबाव कति बढ्छ भन्ने कुराको भूक्तभोगी मेनोटी आफैं हुन् । मेनोटीले आफ्नो टोलीलाई पहिलो विश्वकपको उपाधी दिलाउँदा अर्जेन्टिनामा तानाशाही शासन व्यवस्था थियो ।

सन् १९७८ मा पहिलो विश्वकप जितेको चार वर्षपछि, अर्थात् सन् १९८२ को स्पेन विश्वकपमा अर्जेन्टिना नराम्रोसँग पराजित हुँदै बाहिरियो । स्पेन विश्वकपको त्यो हारले अर्जेन्टिनी फुटबलमा मात्र नभइ त्यहाँको राज्य व्यवस्थामा समेत आमुल परिवर्तन आयो । तानाशाही शासन लड्खडायो र उदय भयो, डिएगो म्याराडोनाको ।

जब जब अर्जेन्टिनी राजनीतिमा संकट आउँछ, जनता आफ्नो राष्ट्रिय टोलीले खेल्ने गरेको फुटबलबाट खुशि खोज्छन् । सन् ८० को दशकमा अर्जेन्टिनामा त्यस्तै भयो । गहिरो राजनीतिक र आर्थिक संकटकाबीच उदाएका म्याराडोनाले अर्जेन्टिनी जनतालाई भरपुर खुशि दिए, सन् १९८६ को विश्वकप उपाधी जित्दै ।

अर्जेन्टिना र म्याराडोनाले पाएको त्यो सफलताबाट विश्व अर्थ बजारले भरपुर फाइदा उठायो । तर, विश्वमा शितयुद्धको अन्त्य र अर्जेन्टिनमा तानाशाही शासनको समाप्तिसँगै विश्व फुटबलमा उसले कायम गरेको दबदबा पनि सकिँदै गयो ।

सन् १९९३, अर्थात २५ वर्षअघि, कोपा अमेरिका फुटबलको उपाधी जितेपछि अर्जेन्टिनाले अहिलेसम्म कुनै पनि ठूला उपाधी जित्न सकेको छैन । यो बिचमा म्याराडोना त अस्ताए नै, उनले अर्जेन्टिनी फुटबलमा छाडेको ‘लिगेसी’ पनि राष्ट्रिय टोलीबाट विस्तारै हराउदै गयो । र, त्यसपछि ढल्न थाल्यो विश्व अर्थ बजारमा अर्जेन्टिनाले खडा गरेको अर्थका ठूला–ठूला ग्राफ ।

त्यस यता अर्जेन्टिना फुटबललाई लिएर साहै्र धेरै चलचित्र बने । ती सबै भावनात्मक थिए । तर, सन् २००६ मा राष्ट्रिय टोलीले भोगिरहेको ‘डिप्रेसन’ लाई चिर्दै अर्जेन्टिनामा नयाँ खेलाडीको उदय भयो, लियोनेल मेस्सीका रुपमा ।

२००६ को विश्वकपमा १८ वर्षे युवा मेस्सीले अर्जेन्टिना र राष्ट्रिय टोलीको भावनालाई बुझुन् भनेर उनलाई विश्वकपको टोलीमा समावेश गरियो । त्यस विश्वकपमा अतिरिक्त खेलाडीका रुपमा मैदान पसेर मेस्सीले गोल गर्दै सम्पूर्ण विश्वलाई विश्व फुटबलमा आफ्नो आगमनको गतिलो सन्देश दिएका थिए ।

आफ्नो व्यवसायिक फुटबल क्लब बार्सिलोनाका महान खेलाडी मेस्सीले राष्ट्रिय टोलीबाट म्याराडोनाको जत्तिकै सफलता पाउनेमा अर्जेन्टिनाका जनता आशावादी थिए । तर अहिलेसम्म उनीहरुले सोचेजस्तो केही पनि भएको छैन । मेस्सीले सन् २००८ मा बेइजिङमा सम्पन्न ओलम्पिकमा अर्जेन्टिनलाई स्वर्ण पदक दिलाए यता कुनैपनि उपाधी दिलाउन सकेका छैनन् ।

आखिर किन मेस्सी राष्ट्रिय टोलीमा सधैं ‘फ्लप’ हुन्छन् ?
मेस्सिले सन् २०१४ र २०१६ का बिचमा अर्जेन्टिनालाई तीन ठूला प्रतियोगिताको फाइनलमा पुर्याए । त्यसमा एक विश्वकप र दुई कोपा अमेरिका फुटबल प्रतियोगिता थिए । यी प्रतियोगिताको फाइनलसम्म पुग्दा मेस्सीको प्रदर्शन उत्कृष्ट रहेको थियो । तर फाइनलमा पुग्दा सम्म थाकिसकेका मेस्सीलाई राष्ट्रिय टोलीका अन्य खेलाडीले गतिलो साथ नदिएपछि उनी ठूला उपाधीबाट बिमुख भएको मेनोटीको भनाई छ ।

मेनोटी भन्छन् – राष्ट्रिय टोलीको जर्सिमा उत्रिएपछि सम्पूर्ण विश्वको आशाबाट मेस्सीले धेरै दबाब लिए । त्यही दबाबले उनलाई उपाधीको नजिक पुगेपनि उपाधी चुम्नबाट अहिलेसम्म रोकेको हो ।

मेस्सीका समकालिन् खेलाडीहरु अर्जेन्टिनका लागि विश्वकप नजितेपनि उनी ब्राजिलका पेले र आफ्नै मुलुकका म्याराडोना जत्तिकै महान् खेलाडी भएको मान्छन् । तर मेस्सीले विश्वकप नै जित्न सके त्यो अर्जेन्टिना र उनका कराडौं फ्यानका लागि ठूलो उपहार हुने निश्चित छ ।

अर्जेन्टिना रसिया विश्वकपमा अब अन्तिम आशाको पर्खाइमा रहेको छ । मंगलवार हुने समुह चरणको अन्तिम खेलमा उसले अफ्रिकी पावरहाउस नाइजेरियालाई पराजित गर्नै पर्छ ।

त्यतिमात्र नभएर अर्जेन्टिनाले समुह डीको अर्को खेलमा क्रोएशियाले आइसल्याण्डलाई पराजित गरोस् भन्ने चाहाना पनि राख्नेछ । विश्वकपको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग एक–एक गोलको बराबरी खेल्दै निशासाजनक प्रदर्शन गरेको थियो, जसमा मेस्सीले पाएको पेनाल्टी अवसरलाई खेर फालेका थिए ।

के रुस विश्वकपमा अहिलेसम्मका सबै पीडा बिर्सदै मेस्सीले अर्जेन्टिनाका लागि विश्वकप जिताउन सक्लान् ? यो प्रश्नको जवाफ अहिले कसैसँग छैन । छ त केबल मेस्सी र उनका फ्यानका लागि एउटा ठूलो आशा ।

fasttrack
धेरै पढिएको