नीति तथा कार्यक्रममा असन्तुष्ट रहेका पर्यटन व्यवसायी बजेट आए पछि खुशी

नीति तथा कार्यक्रममा असन्तुष्ट रहेका पर्यटन व्यवसायी बजेट आए पछि खुशी


काठमाडौं ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा पर्यटनको विषयमा राहतको कार्यक्रम नआएको भन्दै असन्तुष्ट बनेका पर्यटन व्यवसायीहरु पर्यटन क्षेत्रमा आएको बजेटबाट भने खुशी भएका छन् । कोरोनाले थला परेको पर्यटन क्षेत्रका कुरा समेटिनु राम्रो भएको र अब बजेट कार्यान्वयनमा जोड दिनु पर्ने उनीहरुको भनाइ छ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन क्षेत्रमा कोरोना भाइरसका कारण पर्न गएको नकारात्मक प्रभावलाई मध्यनजर राख्दै पर्यटन व्यवसायीहरुलाई ५ प्रतिशत सहुलियत व्याजमा ऋण प्रदान गर्ने घोषणा गरेका छन् । सरकारले पर्यटन क्षेत्रका कर्मचारीहरुलाई पारिश्रमिक दिन तथा व्यवसाय सञ्चालन गराउनका लागि आवश्यक पर्ने रकम व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गर्ने र हवाईसेवा, होटल, ट्राभल, ट्रेकिङ, रेष्टुरेन्ट, पर्वतारोहण क्षेत्रको पुनर्उत्थान गर्न कर छुटको सुविधा दिने घोषणा गरेको छ।
सरकारले पर्यटन व्यवसायीका माग सम्बोधन गर्दै बजेटमा यतिका कुरा समेट्नु पर्यटन व्यवसायीको लागि राम्रो भएको ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले बताए ।

उनका अनुसार आजको बजेटमा पर्यटन व्यवसायको विषयमा निराशा हुने गरि आएको छैन । उनले भने, पर्यटनलाई छुट्याएको बजेट, पूर्वाधारको विकास, पर्यटक मजदूरहरुको लागि बैकल्पिक रोजगार, तालिम र राहतको कुरा, कर्जाको सुविधा र ब्याजदर, कर छुट, नवीन सूचना व्यवस्था प्रणाली लागू गर्ने कुरा सकारात्मक रहेको र अब मुख्यरुपमा कार्यान्वयनको पाटो रहेको छ । हामी व्यवसायीले पनि यसमा जोड दिनु पर्छ।’

त्यस्तै, होटल संघ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले पनि कर्मचारीको जागिर, संस्था, प्रतिष्ठान र मुलुकको पर्यटन बचाउन आउनु पर्ने बजेट नआए पनि समग्रतामा खासै अन्याय नगरेको बताएकी छिन् । उनका अनुसार विमानस्थलको स्तरोन्नति गर्ने, अन्य पूर्वाधारको विकास गर्ने, नयाँ पर्यटकीय गन्तव्य विस्तार गर्ने र अन्तराष्ट्रिय स्तरका सेमिनार हल निर्माण गर्ने लगायत कुराले केही उत्साह थपेको छ । उनले भनिन्, कोरोनाले क्षति पूगेको पर्यटन क्षेत्रलाई केही राहत भएको छ। हामी खुशी हुनु पर्छ । र कार्यान्वयनमा पनि जोड दिनु जरुरी छ ।

सरकारले सात वटै प्रदेशमा पर्यटकीय पूर्वधार विकास गरिने, हिमाली तथा पहाडी क्षेत्रमा पर्यटनका सम्भावना पहिचान गरि पर्यटक आकर्षण गर्न, मौलिक सांस्कृतिक विकास र प्रवर्धन गर्न १ अर्ब २६ करोड बजेट व्यवस्था गरेको छ । त्यस्तै, सरकारले आगामी बजेट मार्फत कोरोनाले प्रभावित पर्यटन उद्योगलाई कर छुट दिने भएको छ।

आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले पर्यटन क्षेत्रका होटल, एयरलाइन्स तथा पर्यटनसँग सम्बन्धित सबै उद्योगलाई चालु वर्षको कर विवरणको आधारमा २० प्रतिशत आयकर छुट दिने घोषणा गरेका हुन् ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टका अध्यक्ष अच्युत गुरागाईंले कर्मचारी पारिश्रामिक व्यवस्थापनका लागि राष्ट्र बैंकमार्फत पाँच प्रतिशत सहुलियत ऋण दिनु सकारात्मक रहेको बताए । हामीले सरकारसँग दुईवटा कुरा अनुरोध गरेका थियौं । त्यसमा कर्मचारीको तलब र उद्योग पुनर्संचालनका लागि दुई प्रतिशत सहुलियत ऋणको माग गरेका थियौं । सरकारले पाँच प्रतिशत सहुलियत ब्याजमा ऋण दिने कुरामा हामी सन्तुष्ट छौं ।

Logo