smart doko

मौरी र खरायोबाट सफल कृषकका कथा

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार १६ शनिबार | प्रकाशित १२:०९:२४
मौरी र खरायोबाट सफल कृषकका कथा

राजधानीकै एक भाग, सबै सधैं आ–आफ्नै काममा व्यस्त रहने र कसैले अरुको बारेमा खासै चासो नराख्ने अवस्था । सबैका काममा अफिस समयमै पुग्नुपर्ने बाध्यता ।

यस्तो परिस्थितीमा न उनलाई समयमा अफिस धाउनु परेको छ, न आफ्नो काममा कसैको डर र दबाव नै । बिहान उठेदेखि बेलुका नसुतेसम्म नै व्यस्त छन्, आफ्नो व्यवसायमा उनी अर्थात् पवन सत्याल ।

वुढानिलकण्ठका एक परिश्रमी अनुहार । आफ्नो रुचीको विषय रहेका मौरी र खरायो पालेर अहिले उल्लेख्य सफलता पाएका उनका यी अभिन्न साथी मात्र भएका छैनन् जीवन चलाउने दरिलो माध्यम पनि भएका छन् ।

आजभन्दा तीस वर्ष अगाडि तत्कालिन समयमा मौरीपालनको कुनै सम्भावना नभएको अवस्था देखि उनले शुरु गरेको यो व्यवसायबाट आफूले त राम्रो सफलता पाएका छन् नै अरु पन्ध्र जनालाई पनि प्रत्यक्ष रोजगारीको अवसर दिलाएका छन् । मौरीपालन व्यवसाय शुरु गर्दाका दिनहरुमा उनलाई धेरै समस्या थियो । मौरी पाल्नका लागि कुनै व्यवस्थित निकाय थिएन ।

आवश्यक मौरीहरु कतैबाट किनेर ल्याउने सम्भावना पनि थिएन । आर्थिकरुपमा पनि समस्या नै थियो । एउटा मौरी देख्दा समाउन त्यसको पछि लाग्दै जानुपर्ने अवस्था थियो । त्यति मात्र होईन, साथीभाई तथा आफन्तले नचाहिने काम गरेर समय र पैसा बर्बाद पारेको भन्दै गाली पनि गरे, उनलाई । तर पनि पवनको आँट र हिम्मतलाई केहिले पनि रोकेन । उनले मौरीपालन सम्बन्धी अध्ययन र अनुसन्धान गरेर शुन्य लगानीबाट शुरु गरेको यस व्यवसायमा अहिले करिब २ सयको हाराहारीमा मौरीका घारहरु रहेका छन् ।

मेलीफेरा जातको मौरी पालेका उनले आफ्नै घर नजिकै करिब ३ रोपनी जग्गा भाडामा लिएर आफ्नो व्यवसायलाई निरन्तरता दिईरहेका छन् । उनी भन्छन्– ‘आँट र जाँगरले जो कसैलाई पनि एक दिन सफलता दिलाएरै छोड्छ ।’

सानै उमेरदेखि कृषितर्फ आकर्षित सत्याल विद्यालयस्तरको पढाईको क्रममा शिक्षकले तिमी भविष्यमा के बन्छौ भनेर प्रश्न गर्दा सफल कृषक बन्छु भन्ने जवाफ दिन्थे । त्यतिखेर उनको जवाफ सुन्दा नाक खुम्च्याउने कतिपय साथीहरु अहिले उनले पाएको सफलता देखेर दङ्ग भएका छन् । स्थायी घर राजधानीकै बाँसबारी भए पनि कामका लागि उपयुक्त वातावरण मिलेकाले उनी केही वर्ष अघि वुढानिलकण्ठ सरे । त्यहाँ उनले गार्डेन एपियरी तथा खरायोपालन केन्द्र खोलेर आफ्नो खुशीको यस व्यवसायलाई निरन्तरता दिईरहेका छन् ।

वार्षिक यति नै कमाई हुन्छ भन्न गाह्रो भए पनि उनले यसबाट सोचेभन्दा राम्रै आम्दानी गरेका छन् । वार्षिक १ हजार केजीभन्दा बढी उत्पादित महलाई प्रतिकेजी ५ सय ५० रुपयाँ सम्ममा विक्रि गर्ने गरिएको बताउने कृषक सत्यालले त्यहाँबाट इच्छुक व्यक्तिलाई मौरीको घार पनि विक्रि गर्ने गरेका छन् । ‘मौरी सहितको घार एउटाको ४ हजार ६ सयमा विक्रि हुन्छ ।’ उनी भन्छन् – ‘गएको वर्ष ३ सय घार विक्रि गरिएको थियो । यस वर्ष यो संख्या वढाउने अभियानमा छु ।’ मौरीमा लगानी गर्ने कृषकहरुको संख्या कम भएकाले यो व्यवसाय फस्टाउन नसकेको उनको भनाई छ ।
आफुले पालेका मौरीहरुलाई चराउन लैजाने क्रममा पवन कहिले दाङ्ग पुग्छन् त कहिले चितवन । मौरीका लागि फूलको आवश्यक पर्ने भएकाले विभिन्न ठाउँमा लैजानु परेको उनी बताउँछन् । त्यहाँ पनि उनले विक्रि केन्द्रहरु खोलेर सर्वसाधारण कृषकहरुलाई सजिलो बनाएका छन् ।

नेपालको मौरीपालन व्यवसाय पहिलेदेखि नै तराई केन्द्रित रहदै आएकाले यो पहाड तिर त्यति फस्टाउन नसकेको सत्यालको भनाई छ । उनले अहिले यसलाई पहाड केन्द्रित बनाउने अभियान थालेका छन् । नेपालमा व्यवसायीक रुपमा मौरीपालन गर्ने पहिलो कृषकका रुपमा परिचित ५० वर्षिय कृषक सत्यालका अनुसार फूलको सिजन भएको मौसममा प्रत्येक एघार दिनमा एक घार मौरीले मह उत्पादन गर्छ ।

मौरीका लागि वर्षायाम उपयुक्त मौसम नभए पनि असोज महिनादेखि जेठसम्म राम्रो मानिन्छ । यो समयमा प्रतिघार ६० केजीसम्म मह उत्पादन हुने गरेको उनको अनुभव छ । नेपालमा मौरीपालन व्यवसायमा प्रत्यक्षरुपमा लाग्ने कृषकहरुको संख्या करिब १५ सय जति छ । उनीहरुले जम्मा ३० हजार जती मौरीका घार पालेका छन् । यसबाट वार्षिक तीन सय टन मह उत्पादन भए पनि यो नेपालका लागि नपुग भएकाले बाहिरबाटै आयात गर्नु पर्ने अवस्था भएको पवनको अनुभव छ ।

कृषक सत्यालले आफ्नो काम गराईको दायरालाई अलि फराकिलो बनाउने उदेश्यले गएको ३ वर्ष देखि खरायोपालन व्यवसाय पनि संचालन गरे । चिन्चिला र अमेरिकन हाइलाइन जातको खरायो पालेर उनले यसको व्यवसायीक शुरुवात गरेका हुन् । विशेष गरि मासुका लागि पालिने यी जातका खरायोहरु पाल्ने सत्याल नै पहिलो कृषक हुन् । भुवाको लागि पालिने अंगोरा जातको खरायो पाल्दै आएका धेरैजसो नेपाली कृषकका लागि यो विल्कुलै नयाँ अनुभव हुने उनी बताउँछन् । अहिले करिब ४ सय जति खरायो पालेका उनले यसैबाट वार्षिकरुपमा लाखौं रुपयाँको आम्दानी हुने गरेको बताउँछन् । ‘दश वर्ष अघि देखिको सोच थियो ।’ उनी भन्छन्– ‘ स्वस्थकर मासुको छिटो उत्पादन हुने भएकाले मैले यो व्यवसाय रोजेको हुँ ।’

अहिलेको सन्दर्भमा पंक्षीबाट वर्डफ्लु तथा बंगुरबाट स्वाइनफ्लुको संक्रमण फैलिरहेको अवस्थामा खरायोबाट यस्तो कुनै पनि संक्रमण नदेखिएको हुँदा आफूले स्वस्थ मासुको उत्पादनका लागि यो व्यवसाय रोजेको सत्यालको भनाई छ ।

पवनले शुरु गरेको यो व्यवसायबाट प्रभावित भएर अहिले अरु २० जनाले पनि यसको शुरु गरेका छन् । यहाँबाट खरायो किनेर पाल्न चाहनेहरुका लागि उनले सजिलो बनाएका छन् । एक जोडीको १५ सयमा बेच्ने गरेको बताउने सत्यालका अनुशार एउटा खरायोले एक वर्षमा सयवटा खरायो उत्पादन गर्छ ।

लामो अध्ययन र अनुसन्धानबाट थालिएको उनको यो व्यवसाय संचालनका लागि शुरुमा कास्कीको लुम्लेबाट खरायोहरु ल्याइएका थिए । घाँस र सामान्य दानापानी मात्रैबाट पाल्न सकिने यस किसिमका खरायोबाट अन्य जनावरको भन्दा स्वस्थ मासु उत्पादन हुने पवन बताउँछन् । लोप हुन लागेको जनावरको सुचीमा रहेको खरायो पालेर उनले आफैंले मासु पनि बेच्ने गरेका छन् । ‘हप्तामा एक दिन खरायोको मासु बेच्ने गरेको छु ।’ सत्याल भन्छन्– ‘प्रति केजी ७ सय रुपयाँमा विक्री हुने भएपनि मासुको मागलाई अझै पुरा गराउन सकिएको छैन ।’ यसका लागि छिट्टै नै ४ सयबाट वढाएर खरायोको संख्या १ हजार पु¥याउने लक्ष्य रहेको उनले जानकारी दिए ।

यी दुवै व्यवसायका लागि पवनले कृषि विकास वैंकबाट आर्थिक सहयोग पाएका छन् । केही वर्ष पहिले अन्य कृषकहरुको लागि ऋण रोक्का गरिंदा पनि वैंकले उनका लागि प्राथमिकतामा राखेर ऋण प्रवाह गरिदिए पछि कामका लागि सजिलो भएको सत्यालले बताए । अहिले नेपालमा वर्षेनी हजारौं युवाहरु वैदेशिक रोजगारमा गईरहेका छन् । यो जनशक्तिलाई यहिं परिचालन गर्न सके मौरी र खरायोपालन व्यवसायलाई अझ शसक्त बनाउन सकिने पवनको अनुभव छ । भविष्यमा यी दुवै व्यवसायलाई निरन्तरता दिने सोचाईमा रहेका सत्याल अहिले काम गर्ने वातावरण पहिलेको भन्दा सहज भएको सुनाउँछन् । उनी भन्छन्–‘त्यसैले त मेरो पेशा बाँचेको छ । म बाँचेको छु । शायद म यसकै लागि जन्मिएको हुँ कि जस्तो लाग्छ ।’

fasttrack
धेरै पढिएको