smart doko

'नेकपा भित्र ५० प्रतिसत असन्तुष्ट छन्'

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार १७ आईतवार | प्रकाशित १३:३२:०९
'नेकपा भित्र ५० प्रतिसत असन्तुष्ट छन्'

काठमाडौं । मुलुकका दुई ठूला पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी ‘केन्द्र’ मिलेर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बनेको १ महिना कट्यो । आम मानिस र विश्वले हेर्दा उदाहरणिय काम भएको जस्तो देखिन्छ । खासै विचार पनि नमिल्ने यी पार्टीहरु किन मिले ? यसको जवाफ भविश्यले दिंदै जाला । तर वर्तमान भने असन्तुष्टिले भरिएको छ ।

नयाँ पार्टीमा यतिधेरै असन्तुष्टि छन् कि जुन आम मानिसले कल्पनासम्म गरेका छैनन् । धेरै समय पर्खिनु पर्दैन, त्यहाँ ठूला–ठूला भुकम्प गएको खवर आउने छन् । विना तयारी, विना छलफल र विना निर्णय भएको यो एकता धेरै समय नटिक्ने लक्षण देखिएको छ । र, टिकेपनि यसमा यस्ता–यस्ता भ्वाङ पर्ने छन्, जसले त्यहाँबाट धेरै नेता तथा कार्यकर्ता निश्कने छन् । त्यो दिन आउन धेरै समय कुर्नु पर्दैन जस्तो मलाई लाग्छ ।

अहिले सतहमा तत्कालीन एमाले नेताहरु झलनाथ खनाल, अमृत बोहोरा, भीम रावल, अष्ठलक्ष्मी शाक्य लगायतकाहरुको असन्तुष्टी देखिएको छ । त्यसैगरी तत्कालीन माओवादी केन्द्रका नेताहरु गोपाल किराँती, आहुती लगायतले त पार्टी नै छोडिसक्नु भएको छ भने धेरै कार्यकर्ता घर न घाटका भएका छन् । नेता हितमान शाक्यले पनि पार्टीको कुनै जिम्मेवारीमा नबस्ने जनाइसक्नु भएको छ । अरु धेरै नेता तथा कार्यकर्ताहरुको चित्त दुखाई बढ्दै गएको छ ।

समस्याका कारण
दुई ठूला कम्यूनिष्ट पार्टी मिलेर दुई तिहाई प्राप्त पार्टी बनिरहँदा पनि के को असन्तुष्टी भनेर प्रश्न हुन सक्छ । तर यो मुल प्रश्न होइन । दुई पार्टी कसरी र किन मिले भन्ने प्रश्नको जवाफ खोज्न जरुरी छ । सिद्धान्त ठूलो कि कुर्सी ? आजको आम प्रश्न चाँही यही भएको छ ।

१७ हजारको बलिदानपछि देशमा लोकतन्त्र आयो । गणतन्त्र आयो । सामान्ती राज संस्था समाप्त भयो । माओवादी जनयुद्धका कारण परिवर्तन भएको कुरा घाम जत्तिकै छर्लङ छ । यो नै अकाट्य सत्य पनि हो । माओवादीले जनयुद्ध नगरिदिएको भए के देशमा परिवर्तन आउँथ्यो ? तर दुई पार्टी मिल्ने नाममा माओवाद, माओवादी जनयुद्ध जस्ता महान शब्द र भावको नाम निशान मेटियो । यो भन्दा अर्को दुर्भाग्य के हुन सक्छ ?

दुई पार्टीको मिलनपछि २१ औं शताब्दीको जनवाद हट्यो । यत्रो ठूलो परिवर्तनको वहाक माओवाद र माओवादी हट्यो । नेतृत्वमा समावेशिता हट्यो । परिवर्तनले संस्थागत गर्न खोजेका धेरै महत्वपूर्ण विषय हटे । प्रश्न उठ्छ, यी सम्पूर्ण कुरा भन्दा दुई पार्टीको मिलन कसरी महत्वपूर्ण हुन्छ ? अहिले भित्रिरुपमा सवैभन्दा धेरै असन्तुष्टी यही ठाउँमा भएको छ ।

विचारपछि व्यवहारमा समेत नेकपा पछाडि छ । दुई पार्टी मिलेपछि खासखास व्यक्तिलाई मात्र टिपेर राख्ने होइन । जिम्मेवारी नदिने अनि बसिरहनु पर्छ भन्ने व्यवहार कस्तो हो ? के ध्यान गरेर बस्ने हो पार्टी कार्यालयमा ? यो पनि ठूलो रोग भएको छ, नेकपामा ।

असनतुष्टिले ल्याउने भयावह
यत्रो ठूलो काम गर्दा छिट्पुट विवाद हुनु स्वभाविक छ, भन्छन् नेकपाका नेताहरु । तर नेकपा भित्र छिटपुट मात्र विवाद छैन । अहिले यसरी भनिदैछ कि मानौं अव यो देशमा दुईवटा पार्टी मिलेपछि सवै सकियो । के अन्य कम्यूनिष्ट शक्ति छैनन् देशमा ? उनीहरुसँग छैनन् एजेन्डा ? उनीहरुसँग छैनन् कार्यकर्ता ? के विचार बोकेका कम्यूनिष्ट पार्टीहरु सकिए ? पक्कै होइन, निकैवटा कम्यूनिष्ट पार्टी चलायमान छन् । उनीहरुसँग विचार छ । आदर्श छ । र, छ जीवित दर्शन पनि । यही कारण ढिलो चाँडो भयावह स्थिति सृजना हुन सक्छ । नेकपाको अहिलेको उद्घोष खेर जान सक्छ ।

सँगसँगै अर्को खतरा के छ भने असन्तुष्ट पक्षवीचको धु्रुबीकरण । नेकपा वाहिर पनि धेरैवटा कम्यूनिष्ट पार्टीहरु रहेका छन् । बैध र बिप्लव माओवादी त यो पार्टी भित्रका हरेक गतिविधि हेरेर बसिरहेका छन् । त्यसैगरी अन्य साना पार्टीहरु पनि छन् । असन्तुष्टहरुको जाने एउटै ठाउँ बन्यो भने के हुन्छ ? के त्यसवेला नेकपाले थेग्न सक्छ ?

समाधान
समस्या मात्र छैन । यसको समाधानको वाटो पनि छ ।
१) १७ हजारको बलिदानपछि देशमा जसरी गणतन्त्र आयो । माओवादी जनयुद्ध हुन्थेन भने यो सम्भव नै थिएन । यसलाई नेकपाले छुटाउन हुँदैन । यो कुरा उल्लेख हुनपर्छ । यसको भावना अनुसारको काम हुन जरुरी छ ।

२) माओवादीले जनयुद्ध नगरिदिएको भए के देशमा परिवर्तन आउँथ्यो ? तर दुई पार्टी मिल्ने नाममा माओवाद, माओवादी जनयुद्ध जस्ता महान शब्द र भावको नाम निशान मेटियो । यो दुर्भाग्यपूर्ण छ । यसलाई सच्याउन जरुरी छ ।

३) दुई पार्टीको मिलनपछि २१ औं शताब्दीको जनवाद हट्यो । यत्रो ठूलो परिवर्तनको वहाक माओवाद र माओवादी हट्यो । नेतृत्वमा समावेशिता हट्यो । परिवर्तनले संस्थागत गर्न खोजेका धेरै महत्वपूर्ण विषय हटे । यी सवै शब्द र यसको भावलाई नेकपाले चित्रित गर्नुपर्छ । यसको ग्यारेण्टी गर्नुपर्छ ।

४) त्यसैगरी नेतृत्वमा कसैलाई काखा र पाखाको संक्रिणता हट्नुपर्छ । धेरै नेताहरु अहिले पाखामा छन् । के उनीहरुलाई यहाँ ठाउँ छैन भन्न खोजेको हो ? जिम्मेवारी नदिनुको अर्थ के लाग्छ ? यसको तत्काल समाधान गर्नुपर्छ । कसैलाई पनि जिम्मेवारीबाट पन्साउन मिल्दैन ।

सामान्यतया यतिभयो भने अहिलेलाई भित्री असन्तुष्टी केही साम्य हुन सक्छ । नत्र जहाजमा ५० प्रतिसतले असनतुष्टी जनाइरहे भने दुईजना होइन त्यो भन्दा धेरै पाइलट भएपनि सेफल्याण्डिङ कदापी हुन सक्दैन । नेतृत्वमा चेतना भया ।

(माओवादी केन्द्रका तत्कालिन पोलिटब्यूरो सदस्य युवराज सफलसँगको कुराकानीमा आधारित ।)

 

fasttrack
धेरै पढिएको