smart doko

कांग्रेस आत्तिएर आन्दोलनमा

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण १० बिहीबार | प्रकाशित १४:०४:३२
कांग्रेस आत्तिएर आन्दोलनमा

दिवस गुरागाईं । काठमाडौं

दृष्टान्त – क
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध जेहाद छेड्ने चेतावनी दिएका छन् । विपी स्मृति दिवसको अवसर पारेर बुधबार शंखमुलमा उनले जेहाद छेड्ने चेतावनी दिएका हुन् ।

दृष्टान्त – ख
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार निरंकुश भएको निश्कर्ष निकाल्दै कम्यूनिष्टसँग मिल्नु हुन्न भन्ने ‘विपी’ लाई स्मरण गरेको मन्तब्य दिएका छन् ।

दृष्टान्त – ग
सडकमा तरुण दल र नेविसंघका कार्यकर्ता ओली सरकारलाई राणा प्रधानमन्त्रीसँग दाँजेर प्लेकार्ड र नाराबाजी गरिरहेका छन् । मानौं प्रधानमन्त्री ओली जंगबहादुर भइसके ।

दृष्टान्त – घ
धेरै दिनदेखि नेपाली कांग्रेसले संसद अवरुद्ध गरिरहेको छ । देशभरीका अस्पतालहरुमा हड्ताल गर्न कार्यकर्ता परिचालित गरेको छ । अझ कडा कार्यक्रम ल्याउने उपसभापति बिमलेन्द्र निधीले वताइसकेका छन् ।

दृष्टान्त – ङ
नेपाली कांग्रेसका आशलाग्दा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा पनि सरकारको चित्रण यसरी गर्दैछन् कि वर्तमान सरकारले अब आकाश खसाएर सवैलाई किचिपिची पार्दैछ ।

माथिका यी ५ दृष्टान्त एउटा विदेशीले सुन्यो भने नेपालमा नयाँ ‘स्तालिन’ जन्मिएछ भनेर बुझ्ने छ । नेपाली इतिहास पढेको विदेशीले राणा शासन जस्तै ओली शासन सुरु भएछ भन्ने ठान्ने छ ।

फरक विचार राखेर सडकमा आउने जो कोहीलाई गोली हान्ने वा जेलको हावा खुवाउने र लेख्ने–बोल्ने अधिकारमा प्रतिबन्ध लगाउने जस्ता व्यवहार देखाएको तत्कालीन ज्ञानेन्द्र सरकारका वेला पनि नेपाली कांग्रेसले यति कडा अभिव्यक्ति दिएको थिएन । सम्पूर्ण शीर्ष नेतालाई जेलमा राखेर मनलाग्दी निर्णयहरु गरिरहँदा पनि राजाको शासनका विरुद्ध जेहाद छेड्ने चेतावनी दिन उसले ठानेको थिएन ।

युवापुस्ता माझ प्रिय मानिने नेता गगन थापाले केही समययता गरेको भाषण हेर्नु र सुन्नु भयो भने के लाग्छ भने अव निकट भविश्यमा नेपाल अन्धकार हुनेछ । यहाँ श्री ३ र श्री ५ भन्दा ठूलो शक्ति केन्द्रले छोप्दैछ । बोलिरहँदा उनको घाँटीका नशा फुलेर निलो हुन्छन् । यसरी गर्जिन्छन् कि मानौं उनी अन्तिम पटक बोल्न पाउँदैछन् । सडक वा सदन जहाँ पनि उनको स्टाइल यस्तै हुने गरेको छ ।

आखिर किन नेपाली कांग्रेस यति कडा हुने प्रयास गर्दैछ ? के उसले भनेजस्तै सरकार निरंकुश भएको हो त ? जेहाद (धर्मयुद्ध) छेड्ने वेला भएको हो त ? किन अर्का (डा. गोविन्द केसी) को मागलाई बोकेर हिड्दै कांग्रेस कडा–कडा अभिव्यक्ति दिइरहेको छ ?

२०४८ साल यताका बहुमत प्राप्त सरकार हेर्ने हो भने तुलनात्मक रुपमा सवैभन्दा नरम सरकार हो, यो । सरकार सञ्चालनको ५ महिना भित्र २०४८ मा गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले एक दर्जनभन्दा बढीलाई गोलीले शिकार गरिसकेको थियो । त्यसवेला गृहमन्त्री थिए, शेरबहादुर देउवा । कांग्रेस सरकारले गोली हानेर मारेका जनताको संख्या १ सय २० भन्दा बढी छ । तर कम्यूनिष्ट नेता प्रधानमन्त्री वा गृहमन्त्री भएकावेला अपवाद वाहेक हिंसात्मक घटना भएका छैनन् । त्यसकारण तथ्यहरुले नेपालमा कम्यूनिष्टभन्दा कांग्रेसबढी निरंकुश देखाउँछ ।

विगतलाई स्मरण गरेर गगन थापा वा विश्वप्रकाश शर्माहरुले भाषण गरेको खण्डमा त्यो मननीय हुनेछ । लामो रेशका यस्ता नेताहरुले थोत्रा र एक तर्फी भाषण नगर्दा राम्रो हुन्छ । यी दुई नेता थोत्रा विचारको फलोअर हुने कि नयाँ विचार र व्यवहार प्रदर्शन गरेर दुनियाँलाई फलोअर बनाउने ? यो सोचनीय विषय हो ।

अहिले नेपाली कांग्रेस आत्तिनु कति जरुरी छ ? सरकार ५ वर्ष चल्छ र त्यसपछि चुनाव पनि हुन्छ । यति धर्यता राखेको खण्डमा र सही रुपमा प्रजातान्त्रिक संस्कार प्रदर्शन गर्न सकेको खण्डमा नेपाली कांग्रेसलाई सत्तारोहण धेरै टाढा हुने छैन । कथित बुद्धिजिवी र सम्पादक–पत्रकारहरुको कुरा सुनेर झिंगा मार्न बन्दुक चलाउने प्रयास भइरह्यो भने चाही भन्न सकिन्न ।

यी ५ कारणले आत्तिएको छ, कांग्रेस:
१. कार्यकर्ता राखिरहन नसकिने हो कि भनेर ?
– अहिलेको सरकार भनेको दुईतिहाईको सरकार हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मात्रै पनि अत्याधिक बहुमत छ । अर्थात यो ५ बर्षकोलागी स्पष्ट बहुमत बनाएर बसेको सरकार हो । त्यसकारण ५ बर्षसम्म चुप लागेर बस्दा कार्यकर्ताको मनस्थिति कुञ्जिने डरले पनि ‘एक्टिभ’ राखिरहन खोजिएको हो, यो आन्दोलन ।

२. नाङ्लो ठोकेर तर्साउने प्रयासः
– वर्तमान सरकार दुई तिहाई बहुमतले गर्न सक्ने नीतिगत निर्णयतिर नलागोस् भनेर साना–साना निर्णयहरुमा नै अड्काउने कांग्रेस रणनीति बुझ्न गाह्रो छैन । सानै विषयमा आन्दोलन गर्दा ठूला निर्णय गर्न सरकारले आँट नगर्ने कांग्रेसको बुझाई रहेको छ ।

३. एजेन्डाको कमी:
– सरकार बनेको ५ महिना हुँदासम्म समाउन लायक एजेन्डा नभेटेपछि नेपाली कांग्रेस गोविन्द केसीको फेरो पकड्न पुगेको हो । किनभने उसले त्योभन्दा ठूलो एजेन्डा भेटेको छैन् । गोविन्द केसीले सरकार झुकाएर माग पुरा गरिहालेपनि त्यसको खासै जस नेपाली कांग्रेसको पोल्टामा पर्ने देखिन्न । हिजो देउवा सरकार भएकोवेला अर्का नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा २२ दिन सम्म डाक्टर केसी अनसनमा बसेको समाचार सवैको स्मरणमा छ ।

४. दुई तिहाई बहुमत प्राप्त सरकारको ‘प्राक्टिस’ नहुनु:
– नेपाली कांग्रेसले दुई तिहाईको सरकार चलायो, २०१६ सालतिर । तर त्यसको अनुभव वर्तमान पुस्तासँग छैन । उसँग थोरै समय बहुमतको सरकारको अनुभव छ । र, धेरैजसो समय कांग्रेस अल्पमतमा नै रुमलिएको छ । साउनमा आँखा फुटेको गोरुले सधैं हरियो नै देख्छ भनेजस्तै अहिले त एक्लै निर्णय लिने म्यान्डेट छ, सरकारसँग । हो, नेपाली कांग्रेसलाई त्यही सम्भावित एकलौटी निर्णय, स्थायी सरकार आदि पचेको छैन । दुई तिहाईले संविधान नै परिवर्तन गर्ने अधिकार राख्छ भने जानकारी कांग्रेस नेतृत्वले पनि राखेकै हुनुपर्छ ।

५. विपक्षी मानसिकता त्याग्न नसक्नु:
– कुराले नेपाली कांग्रेस प्रतिपक्ष हो । तर व्यवहारले ऊ अझै सत्तामा नै छ । र, सत्तामा भागबण्डा नै चाहिरहेको पनि छ । प्रदेश प्रमुखहरु उसैले नियुक्त गरेका हुन् । चुनावको आचार संहिता उल्लघन गर्दै र नगर्दै पनि उसले नियुक्त गरेका धेरै कार्यकर्ताहरुले सरकार पक्षधरलाई ढिम्किन दिएका छैनन् । त्यतिमात्र होइन, अलिहेपनि न्याय क्षेत्र र विभिन्न संवैधानिक नियोगहरुमा नेपाली कांग्रेस भागबण्डा खोजिरहेको छ । हो, यही कारण नेपाली कांग्रेस प्रतिपक्ष होइन, सत्ता साझेदार नै हो । सत्ता साझेदारले विपक्षी भएर आन्दोलन गर्ने नैतिक हैसियत राख्दैन ।

धेरै पढिएको