smart doko

सचेत गराउनै पर्ने ओली सरकारका ३ मन्त्री

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण १३ आईतवार | प्रकाशित १५:५५:५५
सचेत गराउनै पर्ने ओली सरकारका ३ मन्त्री

दिवस गुरागाईं । यतिवेला कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको कुर्सी खाली छ । विवादास्पद अभिब्यक्ति दिएपछि चौतर्फी दवाव थाम्न नसकेर कानुन मन्त्री शेरबहादुर तामाङले दिएको राजीनामा स्वीकृत समेत भइसकेको छ । कुर्सी खाली भएसँगै नयाँ मन्त्रीको जोड घटाउ पनि सुरु भइसकेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली कानुनमन्त्रीको रुपमा आफ्ना ‘भक्त’ नेता भानुभक्त ढकाललाई जिम्मेवारी दिन चाहान्छन् । तर, अर्का नेता माधवकुमार नेपालको यस सम्भावित निर्णयमा समर्थन छैन । किनभने उनी पनि आफ्ना ‘भक्त’ नेता कृष्णभक्त पोखरेललाई मन्त्री बनाउँन चाहान्छन् । भर्खरै आफ्नो प्यानलका मन्त्री शेरबहादुरले राजीनामा दिएर त्यो कुर्सी खाली भएकोले आफैंले मन्त्री छान्न पाउनु पर्ने उनको जिकिर अस्वभाविक लाग्दैन ।

ओली र नेपालको यो ब्यवहारलाई नियालेर हेर्ने हो भने के भन्न सकिन्छ भने उनीहरु मन्त्रीको रुपमा आफ्ना निकटस्थहरुलाई जागिर खुवाउन चाहान्छन् । आफ्नो सहयोगी वा आफ्नै गुटको हुनुपर्ने उनीहरुको सदावहार सर्त कानुन मन्त्री नियुक्तिको सवालमा समेत सतहमा आएको छ ।

एकातिर प्रधानमन्त्री ओली मुलुकलाई छोटो बाटोबाट समृद्ध बनाउने सपना सुनाइरहेका छन् भने टीम बनाउने सवालमा उत्तिकै हेलच्याक्र्याई पनि गरिरहेका छन् । अहिले पनि उनको क्याबिनेट नियाल्ने हो भने लक्ष्य भेट्न असम्भव रहेको सहजै अड्कल काट्न सकिन्छ । कुनैपनि मन्त्रीसँग आफ्नो क्षेत्रलाई समृद्ध बनाउने खाका छैन । र, आम मन्त्रीलाई त समृद्धीको परिभाषा समेत ओलीले बुझाउँन सकेका छैनन् ।

यी हुन् ३
सधैं ‘वाच’ मा राख्नुपर्ने
बर्षमान पुन – उर्जा, जलस्रोत तथा सिँचाई
मातृका यादव – उद्योग वाणिज्य तथा आपूर्ति
रघुवीर महासेठ – भौतिक पूर्वाधार तथा यातायात

बोलीमा लगाम लगाउनु पर्ने
लालबाबु पण्डित – संघीय मामला तथा सामान्य प्रशासन
रविन्द्रप्रसाद अधिकारी – संस्कृति, पर्यटन तथा नागरिक उद्यययन
गोकुलप्रसाद बाँस्कोटा – सञ्चार तथा सूचना प्रविधि

‘कन्सेप्ट’ दिनु पर्ने
शक्तिबहादुर बस्नेत – वन तथा वातावरण
थममाया थापा – महिला बालबालिका तथा जेष्ठ नागरिक
जगतबहादुर सुनार (विश्वकर्मा) – युवा तथा खेलकुद

गृहकार्य गर्न लगाउनु पर्ने
उपेन्द्र यादव – स्वास्थ्य तथा जनसंख्या
रामबहादुर थापा – गृह
प्रदीप ज्ञवाली – परराष्ट्र

मन्त्री भएको ५ महिनामा नै कामको रिजल्ट देखाउन सम्भव छैन । तर यो अवधीमा कमसेकम ‘कन्सेप्ट’ चाँही सार्वजनिक गर्न सकिन्छ । र, त्यो कन्सेप्ट व्यवहारिक हुनै पर्छ । ओली क्याबिनेट व्यवहारिक हुने सवालमा फितलो छ । ‘कन्सेप्ट’ को नाममा ‘कन्सेप्ट’ त प्राय: मन्त्रीले सार्वजनिक गरिसकेका छन् । तर, ती मध्ये कुन चाँही दीर्घकालीन र कुन चाँही तत्कालीन हुन् भन्ने सम्बन्धमा मन्त्रीहरु नै रनभुल्लमा छन् ।

ओली क्याबिनेटमा ३ जना यस्ता मन्त्री छन् जसलाई सधैं ‘वाच’ मा राख्नुपर्ने हुन्छ । जस्तो, बर्षमान पुन उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री, मातृका यादव – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, रघुवीर महासेठ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री । यी मध्ये यादव नियत खराव भएका नेता होइनन् । तर उनको विगत हेर्ने हो भने कतिवेला के गर्छन् कसैलाई थाहा हुन्न । बर्षमान र रघुवीरले भने जतिवेला पनि ‘लाइन क्रश’ गर्न सक्ने निकटस्थहरुको समीक्षा छ । रघुवीरले सिन्डिकेटको सवालमा ‘लाइनक्रश’ गरिसकेको आम बुझाइ रहेको छ ।

त्यसैगरी बोलीमा लगाम लगाउनु पर्ने नेता पनि छन् ओली क्याबिनेटमा । जस्तो लालबाबु पण्डित – संघीय मामला तथा सामान्य प्रशासन, रविन्द्रप्रसाद अधिकारी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गोकुलप्रसाद बाँस्कोटा – सञ्चार तथा सूचना प्रविधि । अनावश्यक वा बोल्नै नपर्ने विषय प्रवेशको सवालमा उनीहरुलाई सचेत गराउनु पर्ने देखिन्छ ।

विचार विहीनताको सवालमा यी तीन नेतालाई गाइड गर्नुपर्ने हुन्छ । जस्तो, शक्तिबहादुर बस्नेत – वन तथा वातावरण, थममाया थापा – महिला बालबालिका तथा जेष्ठ नागरिक र जगतबहादुर सुनार (विश्वकर्मा) – युवा तथा खेलकुद रहेका छन् ।

यस क्याविनेटमा केही अल्छी मन्त्रीहरु प्नि देखिएका छन्, जो गृहकार्य गर्दैनन् । उपेन्द्र यादव – स्वास्थ्य तथा जनसंख्या उपप्रधानमन्त्री हुन् । उनले आफ्नो योजना पनि सार्वजनिक गरेका छैनन् । त्यसैगरी गृहमन्त्री रामबहादुर थापा बादलले केही मुभ त गरेका छन् । तर विना तयारी गरेकाले सफल छैनन् । प्रदीप ज्ञवाली (परराष्ट्र मन्त्री) ले भने मेसो नै पाएका छैनन् भनिन्छ ।

धेरै पढिएको