suv

फाँसी दिने देशहरुमा कस्तो छ बलात्कारको अवस्था ?

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण १९ शनिबार | प्रकाशित १०:५१:४२
फाँसी दिने देशहरुमा कस्तो छ बलात्कारको अवस्था ?

रामजी बलामी/अनुपम भट्टराई

गत असार २० गते काभ्रेकी ९ बर्षिय एलिसा तामाङको बलात्कारपछि हत्या भयो । साउन १० गते कन्चनपुरकी १३ बर्षीय निर्मला पन्तको पनि बलात्कारपछि हत्या भयो । यी दुई पछिल्लो घटना मात्रै हुन् । गत बैशाखमा इलाममा ७७ बर्षीय महिलाको सामुहिक बलात्कार भयो । बलात्कारपछि उनको जिब्रो काटियो । 

बालिका बलात्कार, बृद्धा बलात्कार, बलात्कारपछि हत्या, आफन्तबाटै बलात्कार, अपाङ्ग महिला बलात्कार, घरबेटीद्धारा बलात्कार, घरबेटीकी छोरी बलात्कार, सौतेनी छोरी बलात्कार, आदि इत्यादि । नेपालमा बलात्कारको घटना उल्लेखगरी साध्य छैन । 

प्रहरीको तथ्यांक अनुसार पछिल्लो चार बर्षमा झण्डै ३७ सय भन्दा बढी बलात्कार र बलात्कारको प्रयास अभियोगमा १८ सय भन्दा बढी मुद्धा दर्ता भएका छन् । केन्द्रिय बालकल्याण समितिको तथ्यांक हेर्ने हो भने ११ देखि १५ बर्ष उमेर समुहका बालिकाहरु बढी बलात्कारको सिकार हुने गरेका छन् । विगत तीन बर्षको तथ्यांक हेर्ने हो भने आव २०७०/७१ मा ९८१ बलात्कारका घटना भएका थिए । त्यस्तै ०७२/७३ मा १ हजार ८९ घटना भएका थिए भने ०७३/७४ मा १ हजार १ सय ३१ घटना भएको देखिन्छ । यो तथ्यांकबाट के छर्लंग हुन्छ भने नेपालका बलात्कारका घटना बढ्दोदरमा छ । 

सामाजिक मुल्य मान्यताका कारण बिश्वमै पनि बलात्कारका घटनाहरु त्यति सार्वजनिक हुदैनन् । चेतनाको तिव्रतर विकासका कारण पनि हुन सक्छ पछिल्लो समय नेपालमा यस्ता घटनाहरु बिस्तारै सार्वजनिक हुन थालेका छन् । सार्वजनिक भएका घटनाहरु त यतिधेरै दर्दनाक छन् भने दुरदराजमा सार्वजनिक हुन नसकेका घटनाहरु त अझै झन कति पाशविक होलान् ? बोली समेत नफुटेका बालिकादेखि बयोबृद्धा हजुरआमाहरु समेत सामुहिक बलात्कारको सिकार भईरहेका छन् ।

सामान्यतयाः पुरुषद्धारा बलात्कार, महिलाद्धारा बलात्कार र समलिंगी बलात्कार गरी तीनखाले बलात्कार हुने गर्छन् । बिश्वमा विशेषतः पुरुषद्धारा हुने बलात्कार अधिक देखिएका छन् । जसले गर्दा पुरुषले मात्रै बलात्कार गर्छन् भन्ने जनमानसमा छाप परेको देखिन्छ । खासमा महिलाद्धारा महिलामाथि पनि बलात्कार हुने गर्छ । महिलाद्धारा पुरुषमाथि पनि । यस्ता बलात्कारहरु बाल्यकालमा धेरै हुने गरेको अध्ययनले देखाउछ । पहिलो कुरा धेरैजसो बलात्कारका घटना सार्वजनिक नै हुँदैन भने बाल्यवस्थामा हुने यस्ता बलात्कारका घटनाहरु खासै सार्वजनिक हुदैनन् । 

फाँसी दिने देशहरुमा बलात्कारको अवस्था

बिश्व इतिहास हेर्ने हो भने बलात्कारका घटनाहरुलाई निर्मुल पार्न बनाइएको कानुन मृत्युदण्ड उपयुक्त समाधान हुन सकेको छैन् । अपराधिहरु मृत्युदण्डबाट डराउँछन् र स्वतः  बलात्कारमा कमी हुन्छ भनेर सरकारको कानुनमा राखिएका र बनाइएका नीति नियमहरुले बलात्कारलाई निर्मुल पार्न सकेको छैन् । मृत्युको सजायबाट डराउने अनुमानमा निर्माण गरिएका कानुन पछि झनै तिब्र रुपमा बलात्कारका घटनाहरु भएका छन् ।

बिश्वमा बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाएका देशहरुको इतिहास हेर्ने हो भने अन्य मुलुकहरुको भन्दा सोही मुलुकमा नै धेरै बलात्कारका घटनाहरु दर्ता भएका छन् । हामीले उदाहरणका लागि छिमेकी भारतलाई लिन सक्छौँ । 

सन् २०१२ मा भारतमा भएको निर्भया सामुहिक बलात्कार काण्डपछि भारत सरकारले बलात्कारीलाई फाँसी दिने कानुन निर्माण गर्यो । उक्त कानुन केही दिनअघि मात्रै अनुमोदन भएको छ । उक्त घटनाका दोषीहरुलाई फाँसीको सजाय सुनाइयो । तर फाँसीको कानुन निर्माण भएपछि पनि भारतमा सन् २०१५ मा ३४, ६५१ र सन् २०१६ मा ३८,९४७ बलात्कारका घटनाहरु दर्ता भएका थिए । तर फाँसी दिने कानुन निर्माणअघि अर्थात् सन् २०१२ मा भारतमा २४,९२३ बलात्कारका घटनाहरु दर्ता भएका थिए । 

बलात्कारीलाई फाँसी  दिने कानुन निर्माण गरेका देशहरुले भन्ने गर्छन्, फाँसीको सजायले बलात्कारीहरु पत्ता लगाउन गाह्रो हुने गर्छ । बलात्कारी यही हो भनेर साबित गर्न अफ्ठ्यारो हुने गर्छ । निर्णय छिटो लिनुपर्ने कारणले बास्तविक अपराधि बाँच्ने र गलत ब्यक्तिलाई सजाय हुने डर पनि त्यत्तिकै हुने गर्छ । धेरै देशहरुमा बलात्कारीलाई फाँसीको सजाय हुने नियम र कानुन रहेपनि उक्त कानुनबाट ३ प्रतिशत मात्र वास्तविक दोषि पत्ता लाग्ने गरेका छन् । त्यसकारण फाँसी भनेको सजाँयको एकथोक मात्रै हो सबथोक होईन । 

त्यस्तै यौन हिंसामा फाँसी दिने पहिलो दक्षिण एसियाली देश पाकिस्तान थियो । त्यहाँ १६ बर्षमूनिका बालिकामाथि बलात्कार भएमा मृत्युदण्ड दिने ब्यवस्था छ । तर विडम्वना यो कानून ल्याएको १२ बर्षमा १० गुणाले बलात्कारका घटना बढेको पाइयो । पाकिस्तान मानवअधिकार आयोगका अनुसार सन् २००६ देखि २०१७ सम्ममा २५ जनालाई फाँसी दिइएको छ । 

अफगानिस्तानमा पनि सन् २००९ मा महिलाविरुद्ध हुने हिंसाको उन्मुलनका लागि कानून पारित गरियो । बलात्कारपछि पिडितको मृत्यु भएमा त्यहाँ मृत्युदण्ड दिने ब्यवस्था छ । तर त्यहाँ पनि बलात्कारका घटना घट्नुको साटो बढीरहेका छन् । त्यहाँ सन् २००९ यता ३६ मुद्दामा मृत्युदण्ड दिईसकेको छ । बंगलादेशमा पनि सन् १९९५ मा नै मृत्युदण्डको कानून बनेको हो । बंगलादेशमा बलात्कार, बालबालिका तस्करी र एसिड आक्रमण जस्ता अपराधमा मृत्युदण्ड दिने चलन छ । यो कानून ल्याएको २४ बर्ष पुगीसक्दा समेत त्यहाँ बलात्कारको घटनामा कमी आउन सकेको छैन । त्यहाँ विगत १० बर्षमा ५० जना भन्दा बढीलाई मृत्युदण्ड दिईसकेको छ । 

फाँसी सही कि गलत ?

जब जब बलात्कारको घटना सार्वजनिक हुन्छ अनि हामी भन्छौ ‘बलात्कारीलाई फाँसी दे ।’ हुन त त्यस्ता नरपिचासहरुलाई फाँसीको सजाँय पनि कमै हुन्छ । तर जवाफ खोज्न जरुरी छ कि, के फाँसी दिने कानुन बन्दैमा बलात्कार हुँदैन ? हो, एक दुई जनालाई फाँसी दिएपछि सतर्कता बढ्छ । तर वास्तविक अपराधीले मात्रै यस्तो सजाँय पाउने ब्यवस्थाको ग्यारेन्टी हुनु पर्छ । फाँसी भनेको सजाँयको एकथोक मात्रै हो सबथोक होईन । 

नेपालमा कानूनको सदुपयोग गर्ने सिष्टमलाई पनि ख्याल गर्नुपर्छ । पद, प्रतिष्ठा र पैसामा न्याय किनबेच भयो भने यो कानुनले कयौ निर्दाेषलाई पोल्न सक्छ । यहाँ सोचनीय कुराहरु अनगिन्ती छन् । ‘मन मिलेसम्म मोजमस्ती, मन बिग्रेपछि जवरजस्ती’को उजुरी गर्नेहरुलाई के हुन्छ ? सौता, छिमेकी, दाजुभाई, देउरानी जेठानी आदि इत्यादि बीचको रिस फेर्न पनि यस्तो बनावटी घटनाहरु सिर्जना भएका हुन्छन् । फसाउनका लागि यस्ता अनेकन नाटकीय घटनाहरु हुने गर्छन् । यदि फाँसी कानून ल्याउने नै हो भने कोही कसैलाई फसाउनका लागि नियतवश बुनिएका घटनाहरुमा अर्काे पक्षलाई पनि कारवाहीको दायरामा ल्याउनै पर्छ ।

धेरै पढिएको