smart doko

टुटेका केही थान सपनाहरु

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २५ शुक्रबार | प्रकाशित १३:२६:०७
टुटेका केही थान सपनाहरु

अपहरण, बलात्कार र हत्या जस्ता जघन्य अपराध दिनानुदिन बढीरहेका छन । प्रहरी आफै कानुन मिच्दै 'इन्काउन्टर'को नाममा अभियुक्तमाथि गोली दागेर प्रमाण मेट्ने अराजकतातर्फ उद्दत हुदै गईरहेको छ । सामाजिक सुरक्षाको अवस्था विग्रदो छ । समाजमा एक किसिमको त्रास ब्याप्त छ । मान्छेहरु बालबच्चालाई घरबाहिर खेल्न पठाउन डराईरहेछन । स्कुल गएका बालबच्चा समयमा घर आईपुगेनन् भने बाबुआमाको मनमा अनेकौ तर्कना आउछ । 

छोरीको त कुरै नगरौं । सानै चार पाँच वर्षकी होस वा दश बाह्र वर्षकी । सोह्र वर्षकी होस वा बाईस पच्चीस बर्षकी । छोरीलाई त अभिभावकले वन्दी बनाएर चार दिवारीभित्र राखे मात्र सुरक्षित रहने अवस्था आईपुगेको छ । त्यसै त 'छोरीको इज्जत सेतो कागज' सरह मान्ने समाज हाम्रो । त्यसमाथि कतिबेला निरिह र एक्ली छोरी भेटौंला र निमोठनामठ पारौंला भनेर बिरालोले मुसाको गुड ढुकेझैं ढुकेका छन् अपराधीहरु । 

बाटोको अवस्था पानी परे हिलाम्य र घामलागे कुहीरीमण्डल धुलाम्य छ । मेलम्ची कहीले आईपुग्छ भन्नेमा सरकार आफै जानकार छैन । मुखमा मास्क नलगाई घरबाहिर निस्कन सक्ने अवस्थै छैन । फेरि पनि प्रधानमन्त्री भन्छन “दुई वर्षभित्र काठमाडौमा ताजा स्वास फेर्नको लागी बिदेशबाट मान्छे आउनेछन” । कति पत्याउँ यो 'हाईपोथेटीकल' कुरा ? 

नपत्याउँ भनेपनि कसरी नपत्याउँ ? दुई तिहाई जनमत पाएको सरकार हो । दुईतिहाईको सरकार आएपछि देशको कायापलट हुन्छ भनेर जनताको सुख, रोजगारी र देशको विकास हेर्नलाई आँखा च्यातेर पर्खीरहेको म प्रधानमन्त्रीका कुरा नपत्याएर आफैलाई एउटा सुखद सपना अधुरै राखेर ब्युझाउन चाहन्न । 

सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य जस्ता “पैसा कसरी कमाउने” भन्ने कुरा संसारलाई सिकाउने सामाजिक अगुवाहरु फेवातालको जमिन चोरेर अकुत सम्पत्ति कमाउन लालायीत छन् । संसारकै धनी मध्येका डलर अर्वपति बिनोद चौधरी समेत सार्वजनिक र सरकारी जग्गा मिचेर धर्मको नाममा निजि धाम बनाउन ब्यस्त छन् । बस्तुभाउको चरन मासेर बनाएको धामले गर्ने कमाई पुनः दान गरेर सोझै स्वर्ग गईन्छ भन्ने सोच्छन बिनोद चौधरी अथवा आफु यसै अजम्बरी भएको भ्रम पालिरहेछन बुझ्न सकिदैन।

उता नेकपा माओवादीका नेता विप्लव विद्रोहको विकल्प हुदै नभएको तर्क गर्दै युद्दको तयारी  गरिरहेछन । जनताले समेत साना साना समस्याहरुमा “विप्लव आउ बम फोड्देउ” भन्न थालीसके । के अपुग भयो जनतालाई ? दुई तिहाईको सरकारले के पुरा गर्न सकेन र विप्लव प्रति त्यती आशावादी हुदै गएका नेपालीह रु? कुरा नबुझेर म दिग्दार भएको छु ।

सिके लाल र सिके राउतको आवाज मात्र होईन सुर ताल र लय समेत मिल्दै गईरहेको छ । राउत मधेश छुट्टै देश भएको बताउछन भने लाल ‘मधेशलाई नेपालसंग गाँसीएर यौटै देश भएर जोडीएर बस्नुपर्ने कारण के छ र ? भन्दै प्रश्न गर्छन । देश टुक्र्याउने दिशामा दुवै सिकेहरु यौटै लयमा फरक फरक तरिकाले अग्रसर भएको देख्न सकीन्छ । यो भन्दा अराजकता के हुन्छ ? 

बौद्दीक भनिएका नेताहरु शासन सत्ता मात्र फेरीएको हो, राज्यसत्ता पुरानै भएकाले विद्रोह जरुरी छ भनिरहेका छन् ।  पार्टी एकताका सुत्रधार र एकीकरण अभियानका खम्बा मानिएका नारायणकाजी श्रेष्ठ राजीनामा गरेर जिम्मेवारी मुक्त भएर बसेका छन । उनी आफु जिम्मेवारी मुक्त भएका हुन की प्रचण्डलाई स्वाद चखाउने गरी पाखा सरेका हुन ? बुझ्न गाह्रो छ । उता बाबुराम भट्टराई राजनिती र कम्युनिज्म त्यागेर अध्यात्ममा लिन हुने मार्गमा अग्रसर छन् । आन्दोलनलाई बीच बाटोमा छोडेर बैराग्य मार्गमा हिडेजस्ता थकित अवस्थाका बाबुरामबाट पनि अब आशा गर्ने ठाउँ रहेन । 

झुटको पुलिन्दा बोकेर प्रधानमन्त्री संचार माध्यममा अझै कुर्लन्छन् “पानीजहाज त आउछ आउछ” । आफ्नै पार्टी र सरकार जोगाउने उपाय स्वरूप चुनावमा दह्रो पराजय खेपेका बामदेव गौतमलाई लाई सदन हुदै सत्तामा ल्याईपुर्याउन पाए त पार्टी बचाउन सकीन्थ्यो र पार्टी बच्यो भने पाँच वर्ष सरकार कसो नवच्ला र भन्ने ध्याउन्नमा छन देशको कायापलट गर्ने अभियानमा रहेका प्रधानमन्त्री ।

रातभरी पार्टी फुटेको र सरकार टुटेको सपना देखेर झझल्कीएका प्रधानमन्त्री आम सरोकारको बिषयमा भन्दा कोरा सपनामा बढी रमाउछन् । पानी जहाज र रेल भन्दा अगाडि सरेर उनमा देश बिकाशको बारेमा सोच्न सक्ने र नयाँ मार्गचित्र कोर्ने शक्ति क्षिण हुदै गईरहेको जस्तो देखिन्छ ।

न्यायधिस नियुक्ती गर्ने न्यायपरिषदको बैठक छोडेर प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर हाईड्रोसिलको उपचार गर्न सिंगापुर हान्नीएका छन । अदालतमा कामचलाउ मुख्य न्यायधिस छन । उनी पनि बिबादास्पद सर्टिफिकेट र जन्ममिति बोकेर ईजलास तोकिरहेछन् । न्यायालयप्रति जनताको आस्था ओरालो लागेको बेला अभियुक्त समातेर प्रहरीले गोली ठोकेको छ । अपहरीत बालकका बाबुआमा छोराको मृत्युसंगै मुर्छा परेका छन । प्रहरीद्वारा मारिएका अभियुक्तका बाबुआमा गुहार माग्दै मानव अधिकार आयोगमा पुगेका छन । 

अव त दुई तिहाइको सरकार आयो । देशमा स्थिर सरकार पहिलो आवस्यकता हो भनेर बहुमतको सरकारको लागि रातदिन प्रार्थना गरेका म जस्ता मान्छेको आश के थियो ? अव त दुई तिहाईको सरकार आयो अव देश समृद्ध हुन्छ।विकाशको मुल फुट्छ । रोजगारीको लहर आउछ ।अब फेरी फेरी विदेश गईरहन पर्दैन भनेर चैतमासको काकाकुल जस्तो तिर्खाएका हामी जनताले के पायौं ?  

चुनाव अगाडी पाँच/पाँच हजार लिएर घरमै आएर नमस्कार गरेर जेष्ठ नागरिकको हातमा पैसा थमाउने बाचा गरेका प्रधानमन्त्रीले जेष्ठ नागरीकलाई ठाडै ढाँटेका छन । उनका अर्थमन्त्रीले ऋण खोजेर वृद्दभत्ता दिन सकिदैन भनेर प्रधानमन्त्रीको घोषणा र भाषणलाई लोप्पा खुवाई दिएकाछन ।

क्रान्तिकारी धार समातेर अलिकति फरक काम गर्न खोजेका मन्त्री रामबहादुर थापा बादललाई हलो अड्काएर गोरु चुटेझै चुटिएको छ । सिन्डीकेट तोड्न लगाएर असफल पारीएको छ । महेश बस्नेतको लगानी रहेको आशंका गरिएको मयुर यातायातलाई अरनिको राजमार्गमा बाटो खुलाउन मात्र सिन्डिकेट अन्त्यको रडाको मच्चाईएको रहेछ । सुन तस्करी अनुसन्धान केवल भरिया पक्राउ गर्नलाई मात्र गरिएको रहेछ । अव सिन्डीकेट र सुन दुबैको चर्चा बन्द गरीएको छ ।

प्रधानमन्त्री नारायणी नदिमै भए पनि सानो पानीजहाज संचालन नगरी प्राण नत्याग्ने अठोटमा छन । रेलको लिक नविच्छ्याई नमर्ने संकल्पमा छन । सुशासनको प्रश्न गर्दा मन्त्रीले 'माईक' पन्छाउछन । डेराबाटै समातिएका अभियुक्तहरुलाई जंगल पुर्याएर बोकालाई झैं मन्छाउछन । यस्तै छ हजुर नेपालको कथा । जता हेर्यो असंतुष्टी जता हेर्यो विरक्त र निराशा मात्र । 

यहाँ विकाशको कुरा छैन । अग्रगमनको कुरा छैन । सुसासनको कुरा छैन । छ त केवल उडन्ते गफका पुलिन्दा मात्रै पेलिएका छन । सरकारको दैनिकी र प्रहरीको तरिका हेर्दा लाग्छ यो भन्दा भद्रगोल अरु के हुन्छ ? विदेश पढ्न गएका चेलीहरुको तथानाम बोलेर बदनाम गर्ने दुर्गा प्रसाईं हरुको रुद्रघन्टी सोझै प्रधानमन्त्रीसंग जोडिएको छ। प्रसाईंको मुख मात्र हो । उनको मुखबाट निस्किएका सबै शब्दहरु ओलीका हुन् जुन शब्दले प्रधानमन्त्रीको मुखबाट निस्कन नसकेर मुहान फेरेका छन् जस्तै लाग्छ ।

तानाशाही ब्यबस्था ल्याउन कोतपर्व नै मच्चाउन किन पर्ने रहेछ र ? काँडाघारीबाट अपहरीत बालक बचाउन नसक्दा जुनसुकै कोणबाट पनि नेपाल प्रहरी असक्षम देखीएको छ र अपहरणकारी भनिएका दुईजनालाई डेराबाट पक्राउ गरेर जंगलमा लगेर मुठभेडको नाम दिएर प्रहरीले ठाडै हत्या गर्दा सरकार तानाशाह जस्तो देखिएको छ । त्यसरी अभियुक्तको हत्या गर्नु कुनै पनि नजरबाट न्यायिक लाग्दैन ।

सिन्डीकेट खारेजी, ठेकेदार कारवाही, सुन अनुसन्धान र बालक अपहरणकाण्डमा समेत गृहमन्त्री बादल असफल देखीएकाछन। अव घुमाउरो तरिकाले यी सबै कुराको दोष गृहमन्त्रालयलाई लगाएर गृहमन्त्री बादलको राजिनामा मागिए कसैले अनौठो मान्नु नपर्ने स्थितिको सृजना भएको छ । नारायणकाजीको राजीनामा मागेका ओलीले बादलको राजीनामा माग्न के बेर ? 

अब पुर्व माओवादीहरु भित्र भित्रै तर्कना गर्न थालेका छन् कतै एमालेमा विलय भएको माओवादीमाथि ओलीले प्रतिक्रान्ती त गर्दै छैनन् ? नेकपाबाट पुर्व माओवादी नेतृत्वको पकड कमजोर बनाएर उनीहरुलाई एक एक गरेर सक्याएर प्रचण्डलाई कमजोर पार्ने गम्भीर षडयन्त्र किन हुन सक्दैन यो ?

प्रश्न वास्तविकतासंग मेल नखाने छैन । यदि त्यसो भयो भने दुइ तिहाइ मत प्राप्त गरेको सरकारले ऐतिहासिक पतन भोग्नेछ र नेकपाको पतनसंगै जनताको बिकाश र सम्वृद्द नेपालको आशामाथि तुषारापात हुनेछ । म भगवानसंग प्रार्थना गर्दछु । त्यस्तो दिन नआओस तर अहिलेलाई भने अब आमुल परिवर्तन हुनेछ र दुइ तिहाइको सरकारले छिट्टै देशको मुहार फेर्नेछ भन्ने केही थान सपनाहरु भने टुटेका छन्  ।

धेरै पढिएको