smart doko

बलात्कार, कानुन र कचहरी

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र २५ सोमबार | प्रकाशित ०८:४९:५६
बलात्कार, कानुन र कचहरी

दुर्गा पंगेनी 

काठमाडौं

हाम्रो समाजमा बलात्कार नियाल्ने फरक सामाजिक दृष्टिकोण रही आएको देख्न सकिन्छ । आपसी सम्बन्धहरु या द्विपक्षिय् हिमचिमलाई जुन नजरले हेरिन्छ त्यहि धरातलमा उभिएर गाउँघरका कचहरी हरुमा बलात्कारका मामिलाहरु लाई मिलापत्रमा टुंग्याईएका घटनाहरु प्रसस्तै भेटिन्छन । सबैभन्दा पहिला त जुन घटना घट्यो त्यो बलात्कार थियो भनेर मान्न कचहरीका अगुवाहरु तयार हुदै हुदैनन् । जो बलात्कारको शिकार भएको हो अथवा जो हिंसामा परेको हो उसलाई बलात्कारी कै जिम्मा लगाइदिने अचम्मको परम्परा रही आएको देख्न सकिन्छ । हाम्रो गाउमा घटेको त्यस्तै यौटा घटनालाई यहाँ छोटकरीमा प्रस्तुत गर्न गईरहेको छु ।

कुरा चारपाँच वर्ष अगाडीको हो। हाम्रो गाउँमा बलात्कार तर कचहरीको नजरको अनैतिक सम्बन्धको घटना घट्यो । कचहरी बस्यो र त्यो कचहरीले बलात्कार पिडितलाई बलात्कारीको जिम्मा लगायो र बलात्कारीले ति महिलालाई कान्छी श्रीमती स्वीकार पनि गरे । हाम्रो गाउमा एकजना टाठाबाठा मान्छेले दुई कान्ला मुनि या नि लगभग पचास मिटर टाढा घर भएकी सुस्त मनस्थिति कि हद भन्दा बढी सोझी महीलालाई पेट बोकाएछन । पेट बढ्नु अगाडी नै वाकवाकी लाग्ने समयमा अर्की छीमेकी मातृशिशु कार्यकर्ता साथै हाम्री गाउकी अगुवा महिलाले थाह पाईछन। पिडित महिला र ति मातृ शिशु कार्यकर्ताको आँगन जोडिएको थियो। स्वाभाविकै हो ओल्लोपल्लो घर भएको नाताले र महिला स्वास्थ्य र प्रेग्नेंसीको बारेमा ज्ञान भएकी छिमेकीले सोझी महिला बिमारी भएको देखेपछी उनलाई स्वास्थ्यकेन्द्र पुर्याईछन् ।

वहाँ पुर्याएर चेकजाँच गराउदा ति सुस्त मनस्थितिकी महिला गर्भवती भएको पत्तालाग्यो । साधारण केरकार मै उनले आफुलाई करणी गर्ने पुरुषको नाम भनिदीइन् । अवस्था हेरेर बिचार गरेर उनको गर्भपात गरिएछ । त्यो स्वाभाविक पनि भयो । एक त आमाले अनिच्छुक गर्भपात गर्न सक्ने अवस्था त्यसमाथि छिमेकी संगको अबैध सम्बन्धको कारण बसेको गर्भ । त्यो गर्भ पतन नगरी यसै राख्न सम्भव नभएर होला त्यहि दिन उनको गर्भ पतन गरिएछ ।
ति सोझी महिलाको पारिवारिक अवस्था निकै नाजुक थियो । उनका लोग्ने बिदुर थिए । क्यान्सरको कारण श्रीमती बितेको, छोरीको बिबाह भईसकेको र छोरा विदेश तिर भएको कारण पचास बर्ष कटेपछि यी सोझी महिला लाई जीवनको अन्तिम समयको सहाराको रुपमा बिहे गरेका थिए तर त्यो साथ् पनि धेरै समय रहन सकेन । बिहे भएको केहि समयमा त्यी पुरुष बिते । ति सोझी महिला बिधवा हुन पुगेकी थिईन । ति महिला एक्लै भएदेखि नै त्यो छिमेकीले उनीमाथि शोषण गर्दै आइरहेको कुरा बुझ्न यहाँ धेरै घोत्लिनु आवस्यक रहेन ।

त्यसपछी कुरा बाहीर आयो । एक त सुस्त मनस्थीतीकी महीला त्यसमाथी विधवा । उनी घरमा सधैं एक्लै । त्यो टाठो मान्छे सधैं रातिमा त्यो घरमा छिर्ने धाक धम्की दिने करणी गर्ने र बाहीरिने गरिरहदो रहेछ ९नियमीत वलात्कार० । त्यसपछी कचहरी बस्यो । गाउले भलाद्मी हरु भेला भए । छलफल भयो । अनी ति एकल अनी पिडीत महीलालाई त्यही बलात्कारी कै श्रिमतीको रुपमा उसैको घरमा भित्र्याउने निर्णय बैठकले गर्यो र भित्र्याइयो पनि ।

उसकी श्रीमती बनाएर भित्र्याएपछी पनि त्यो मुद्दा टुंगिएन किनकि त्यहाँ आर्थिक चलखेल गर्न बाकि नै थियो । लगत्तै त्यहि कचहरीले उनीहरुको ‘सम्बन्ध बिच्छेद’ हुने निर्णय पनि गरिदियो । दश मिनेट अगाडी घरमा भित्रिएकि महिलाको मुद्दा त्यहि कचहरीले चलायो अनि बलात्कारीले निश्चित रकम तिर्ने र ति महिलालाई उनकी आमाको जिम्मा लगाउने साथै पिडितलाई गाउँबाट निकालेर माईतिको जिम्मा लगाउने फैसला पनि त्यहि कचहरीले सुनायो ।

ति महिलालाइ शोषण गर्ने पुरुष पनि खासै धनि थिएनन । चरित्रको मात्र खोटी । महिला उसका कमजोरी थिए । तैपनि कचहरिको निर्णय नमान्ने उसको हैसियत थिएन । एक त सुस्त मनस्थिति कि महिलाको शोषण अर्को सबैभन्दा नजिकको छिमेकमा र तेश्रो नातामा जेठानकी श्रीमती संगको पाप । यो सबै अपराधबाट उन्मुक्ति पाउने उपाय स्वरूप उसले पैसा तिर्न पर्ने निर्णय कचहरीले गर्यो र तिनचार लाख रुपिया रकम ति कमजोर महिलाकी आमालाई थमाएर पिडितलाई गाउँ बाट पिडित लाइ धपाइयो । पाएको पैसा र छोरी लिएर उनी आफ्नो बाटो लागिन । मुद्दा टुंगियो । जरिवाना भनेपनि या क्षतिपुर्ति भनेपनि त्यो बाहेक उनलाई कुनै सजाय हुने निर्णय कचहरीले गरेन, गर्न सकेन।

त्यो समयमा म तनहुँमा थिएँ ।दशैं लगत्तैको समय थियो । कचहरिमै रमाइलो हेरिरहेको एकजना साथीलाई फोन गरें । मुद्दालाई कानुनि प्रक्रियामा ल्याउन के गर्न सकिन्छ भनेर सोधेको त्यहाँ हाम्रो तप्काको बोलीको कुनै अशर नपर्ने कुरा साथीले सुनायो । अनि एकजना अगुवा दाईलाई फोन गरें । उनी म संग बम्किए । तँलाई के थाहा छ रु बाहिर बसेर गाउँका मुद्दा कसरि मिलाउन पर्छ भनेर हाम्लाई सिकाउने कोसिस नगर भनेर रन्किए उनी। मैले पनि गाउमै मुद्दा मिलाउदा तपाईलाई के फाइदा हुन्छ र भनेर सोधें रु मेरो प्रश्नमा उनी अलिकति हच्किए तर मेरो चित्त बुझाउने कोशिस गरे । त्यो आरोपी ६३ बर्षको भैसक्यो अब जे नगर्नु गल्ति गरिहाल्यो उसलाई यो बुढेसकालमा जेल पठाउन भन्दा गाउँ घरमै मुद्दा मिलाएको राम्रो हो त्यसैले अब बढी हल्ला नगर बाबु यहाँ कुरा मिलिसक्यो इत्यादि भनेर मलाई सम्झाए ।

अझै मेरो चित्त बुझेको थिएन । एकजना जुझारु अधिकारकर्मी थिईन त्यहीं नजिकै । उनले एकजना कर्मचारीले एक युवतीको शोषण गरेको मुद्दामा भर्खरै त्यो कर्मचारीलाई जेलको हावा खुवाएकी थिईन । एक प्रकारले पत्रपत्रिकामा रेडियोमा नाम आइरहने ति अधिकारकर्मी स्टार थिईन मेरो नजरमा उनको जताततै वाहवाही थियो । मैले पनि उनको फोन नम्बर राखेको थिएँ । दमौलीबाट फोन गरेर उनलाई घटनाको बेलिबिस्तार सुनाएँ । महिलाको उमेर, पुरुषको आर्थिक अवस्था र उमेर ईत्यादी बुझेपछि ति अधिकारकर्मीले पनि त्यो घटना प्रति खासै चासो देखाइनन । मैले तपाइले त्यो मुद्दा प्रहरि कार्यालय सम्म पुर्याउन सक्नुहुन्छरु भनेर ठाडो प्रश्न गरें।उनको बेवास्ता बुझेपछि मैले त्यहाँ धेरै बहस गरिरहन उचित ठानिन।

त्यो मुद्दा त्यहि दिन टुंगियो । एकदिन बसेको कचहरिको इजलासले बलात्कारको मुद्दा दर्ता गर्यो शाक्षी प्रमाण जुटायो, जरिवाना तोक्यो, पीडक र पिडितलाई लोग्ने स्वास्नी कायम पनि गरिदियो, अनि उनीहरुको सम्बन्ध बिच्छेद पनि गराइदियो । महिलाको सम्पत्ति माथिको हक बापत उनकी आमाको हातमा केहि रकम पनि थमाइदियो र त्यो मुद्दा रफादफा हुन पुग्यो ।

अब यहाँ प्रश्न के उठ्छ भने त्यो मुद्दा मिलाउनेहरु राम्रै पढेलेखेका मान्छे देश दुनिया देखेका मान्छे हरु थिए । वडा अध्यक्ष पनि थिए त्यो मुद्दा मिलाउन अगुवाई गर्ने । त्यो कचहरीमा कोहि पनि देशको कानुन नबुझेको मान्छे थिएन बिरलै मान्छे हुदाहुन त्यो काण्डलाई बलात्कार नमान्ने तरपनि कुन स्वार्थमा अल्झिएर त्यो बलात्कार लाई मिलापत्रमा टुंग्यायो कचहरिले मैले अहिले सम्म बुझ्न सकेको छैन ।

अपराध भईसकेपछि त्यसलाई कानुनि दायरामा ल्याएर प्रचलित कानुनमा लेखिए बमोजिम कारवाही चलाउनु पर्छ अथवा उमेर अथवा आर्थिक अवस्था हेरेर अपराधीलाई उन्मुक्ति दिनु हुदैन भन्ने बिषयमा पनि गाउँ घरका चल्तापुर्जा अगुवा हरुलाई सचेत गराउनु पर्ने देखिन्छ । अहिलेको ब्यबस्था अनुसार अझै साधारण मुद्दाहरु गाउँ पालीकाको न्यायिक ईजलासले मिलापत्र गराउन सक्ने अथवा फैसला गर्न सक्ने प्रावधानमा टेकेर धेरै हिँसा सम्बन्धि मुद्दाहरु कानुनको दायरामा आउनै नसक्ने अवस्था नआउला भन्न सकिन्न ।