suv

सबै पुरुष बलात्कारी हुदैनन्

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन १६ मंगलवार | प्रकाशित १३:१२:४५
सबै पुरुष बलात्कारी हुदैनन्

बलात्कार जघन्य अपराध मात्र होइन । सामाजिक मनोदशा नियाल्ने आँखीझ्याल पनि हो । समाज कता जाँदैछ र हामी सामाजिक भनिएका प्राणीहरुले आफु सरहका विपरित लिंगीहरु प्रति कस्तो क्लेस पालिरहेछौं भनेर प्रष्टसँग देख्न सकिने छिद्र पनि हो।

अहिले सरासर एकजना महिलाको नजरबाट नियाल्दा सम्पूर्ण पुरुष समुदाय नै बलात्कारी जस्तो देखिने गरि बलात्कारी पुरुषका परिभाषाहरु बाहिर आईरहेका छन्। जुनसुकै पुरुषले जुनसुकै महिलालाई जुनसुकै स्थानमा झम्टन सक्छ र बलात्कार गर्न सक्छ भनेर पुरुष समुदायलाई हिंस्रक जन्तु भन्दा पनि निम्न स्तरमा झारेर लान्छना लगाईएको पत्रपत्रिकाहरुमा पढ्न पाईररहेका छौं ।

अधिकारकर्मीहरुले संसारभरका पुरुषहरुलाई एउटा कोटिमा राखेर तुलना गरिरहँदा महिलाहरुलाई सम्मानजनक स्थान प्रदान गर्ने मात्र होइनकी आफु भन्दा उच्च स्थानमा राख्ने अनि महिलाको मर्यादामा आंच आउन नदिनको लागि आफ्नो ज्यानको आहुति समेत दिन तयार रहेका पुरुषहरु प्रति अन्याय हुँदैंन र ?

निर्मलाकै न्यायको लागि लड्दा एकजना युवकले ज्यान गुमाए । सामाजिक सन्जालाम ‘जस्टिस फर निर्मला’ ह्यासट्याग पनि आन्दोलनकै रुपमा विकास भईरहेको छ । त्यसमा देखिएको अत्याधिक शिक्षित् पुरुष वर्गको सहभागिता उत्साहजनक छ ।

बलात्कार विरुद्धको आन्दोलनमा अग्र पंक्तिमा उभिएर पुरुषहरुले नै जुलुसको नेतृत्व गरिरहेको देख्न सकिन्छ । बलात्कारीलाई मृत्युदण्डको माग गर्दै भएको अर्धनग्न आन्दोलनमा पनि पुरुषहरु सहभागी भए र बलात्कारजन्य हिँसामा ज्यान गुमाएकाहरुको सम्झनामा केश मुण्डन गर्न पनि पुरुषहरु नै अग्रसर भए ।

अधिकांश पुरुषहरुमा बलात्कार जघन्य अपराध हो भन्ने चेतना छ तर पनि अधिकारकर्मीहरु यो संसारका सबै पुरुषहरुलाई एउटै टोकरीमा राखेर परिभाषित गर्न अगाडि सर्छन। आखिर किन ?

कटु सत्य हो कि बलात्कार पुरुषले गर्दछ तर के पुरुषहरु बलात्कारका समाचारहरु पढेर मर्माहत हुदैनन् होला र ? त्यस्ता जघन्य अपराधको शिकार भएका निरिह छोरीहरुको स्थानमा आफ्ना सन्तान राखेर त्यो दुःखको परिकल्पना गर्दैनन् होला ? अवश्य गर्छन तर अधिकारकर्मीहरुको नजरले पुरुषको यो सम्बेदनशिलता पढ्न सक्दैन तसर्थ सम्पूर्ण पुरुष जगतलाई नै बलात्कारी देख्दछ।

बालात्कारजन्य अपराधको न्युनिकरणको लागि मृत्युदण्ड एकमात्र विकल्प हो भनेर ब्यापक रुपमा आन्दोलनहरु भईरहेका छन् तर मैले सुरुवाती समय देखि नै भन्दै आइरहेको छु नेपालमा मृत्युदण्ड दिने कानुन बनाउन असम्भव जस्तै छ ।

संसारभरका मैत्रीपुर्ण सम्बन्ध भएका देशहरुसँग भएका सम्झौता, मानव अधिकारको मामलामा गरिएका अन्तर्राष्ट्रिय सन्धि सम्झौता तथा हाम्रै संविधानमा राखिएका कतिपय प्रावधानहरुको कारण अहिले भर्खरै बलात्कारजन्य अपराध गर्नेलाई मृत्युदण्ड दिने कानुन बनाउला सदनले भनेर सोच्नु मुर्खता मात्र हुनेछ।

हुन त ठूलाठूला परिवार्तानहरु जो असम्भव देखिएका थिए ति हामीले भोगिसकेका छौं । त्यसरी नै कानुनमा पनि आमुल परिवर्तन भईहाल्यो र जटिल अवस्थालाई समेत चिरेर कसैगरी मृत्युदण्डको प्रावधान सहितको कानुन तर्जुमा भईहाल्यो भनेपनि त्यो कानुन सहि तरिकाले कार्यान्वयन हुनेमा प्रसस्त शंका गर्ने ठाउँहरु देखिन्छन् ।

मृत्युदण्डको कानुनले आवाज विहिनलाई सुलीमा नचढाउँला भन्न सकिन्न । त्यसको दुरुपयोग हुने सम्भावनालाई नकार्न पनि सकिन्न । प्रशासन समेत अपराधी उम्काउनकै लागि या अपराधीको प्रलोभनमा परेर दोषीलाई सजायबाट उन्मुक्ति दिनकै लागि निर्दोष मान्छे समातेर जबर्जस्ति अपराध स्वीकार गराउन लागि पर्ने देशमा मृत्युदण्ड जस्तो सजाय सहि अपराधी पत्ता लगाएर दिईनेछ भनेर पत्याउनु स्वरै कल्पना सिवाय केही हुन सक्दैन।

हुनेखानेहरुले आठ दस वर्षको जेल सजायबाट उन्मुक्ति पाउनको लागि अथवा आफुले गरेको अपराधको सानै भएपनि पाउने सजाय नभोग्नको लागि जतिपनि खर्च गर्ने र निर्दोषलाई बलि चढाउने ध्याउन्नमा प्रशासनले समेत सम्पूर्ण शक्ति खर्च गर्ने समाजमा मृत्युदण्डबाट बच्नको लागि शक्ति सम्पन्नहरुले कति जालझेल गर्लान ? कति पैसाको खोलो बगाउलान ? कति चलखेल होला बाच्नको लागि त्यो समयमा ? अनि त्यहि अवस्थालाई प्रयोग गरेर पैसा कमाउन उद्यत प्रहरी प्रशासन र मुद्दा पर्छ्यौटबाट अकुत सम्पत्ति आर्जन गर्न चाहाने न्यायालयका कर्मचारीहरुले त्यो अपराधीलाई बचाउन कति सम्मको आर्थिक चलखेल गर्लान ? यो बिषयमा भने गम्भीर भएर सोच्नुपर्ने समय भएको छ।

सत्ययुग थियो अथवा रामराज्य थियो भने बलात्कारीलाई मृत्युदण्ड जायज हो किनकि त्यहाँ न्याय बिक्दैन । त्यहाँ झुट बोलिदैन । त्यहाँ दुधको दुध र पानीको पानि हुन्छ दोषीलाई कारवाही हुन्छ । त्यसैले निर्दोष फस्ने सम्भावना पनि हुदैन तर नेपालमा त्यो सम्भव छैन।

अपराधी हो भन्ने जान्दाजान्दै निर्दोष सावित गर्न ठुलाठुला वकीलहरु आफ्नो इमान जमान बेचेर अपराधीको पक्षमा बहस पैरवी गर्न तयार हुन्छन । तयार मात्र हुदैनन्, कानुनका सयथरी छिद्रहरु केलाएर अपराधीलाई निर्दोष करार गराउदै गंगाजल छर्केर चोख्याएको हामीहरुले देखिरहेकै छौं । ईमान नभएका वकील, जमान नभएको प्रहरी र नैतिकता हराएको अदालत भएको हाम्रो मुलुकमा मृत्युदण्ड निश्पक्ष रुपमा कार्यान्वयन होला भनेर कसरि पत्याउन सकिन्छ र ?

दिलिप बिष्टको रिहाई, निर्मलाका बाबुआमाको बिलौना र कानुन कार्यान्वयनमा प्रशासनले देखाएको अनिच्छा एबं निर्दोष खोजेर सुली चढाउने र अपराधीलाई बचाएर पैसा कमाउने द्रब्य पिपासुहरुको बाहुल्यता रहेको हाम्रो देशमा मृत्युदण्ड सहि अपराधी निर्क्यौल गरेर दिईएला त ? भ्रष्टहरुको हातमा प्रशासन र न्यायालय भएको हाम्रो देशमा ‘सबैभन्दा ठुलो सजाय’ बाट बच्न चलखेल नहोला त ? अथवा निर्दोषलाई बलीको बोको बनाउने सम्भावना नहोला त ?

अराजकता मौलाएको र दण्डहीनताले प्रश्रय पाएको हाम्रो समाजमा जे पनि हुन सक्ने अवस्था नआउला भन्न सकिन्न। प्राकृतिक न्यायको सिद्दान्तले पनि ‘बरु सय अपराधि छुटुन तर एकजना पनि निर्दोषले सजाय पाउन हुदैन’ भन्ने मान्यतालाई आत्मसात गरेको पाइन्छ ।

हाम्रो देशमा पनि पहिला व्यवस्था सुधार गरेर मात्र त्यस्तो कानुनको सहि कार्यान्वयनको आशा गर्न सकिन्छ। तसर्थ मृत्युदण्ड भन्दा पनि अधिकारकर्मीहरुले सबैभन्दा पहिले त हरेक पुरुषलाई बलात्कारी देख्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने देखिन्छ । सबै पुरुष बलात्कारी र सबै बलात्कारीलाई मृत्युदण्ड भन्ने नारामा पुनर्विचार गरिनु आवश्यक छ । साथै आफ्नो आन्दोलनलाई संयमित बनाउँदै विद्यमान कानुनहरुको सहि कार्यान्वयनको लागि जोडदार आवाज उठाउनु उपयुक्त होला कि ?
दुर्गा पंगेनी