suv

गान्धीलाई सम्झिँदा

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन १७ बुधबार | प्रकाशित ११:३९:११
गान्धीलाई सम्झिँदा

मंगलबार महात्मा मोहनदाश करमचन्द गान्धीको १५० औँ जन्मजयन्ती । मानव सभ्यताको इतिहासमा देखापरेका महान् व्यक्तिहरूको पहिलो पंक्तिमै पर्ने अदभूत पात्र थिए महात्मा गान्धी । उनले आफ्नो चरित्र र आचरणलाई शुद्धताको जुन स्तरमा पुर्‍याएका थिए त्यो अलौकिक झैं लाग्दथ्यो ।

उनले आफ्नो आत्मकथालाई एकसूत्रमा परिभाषित गरेका थिएः मेरो जीवन नै मेरो सन्देश हो । वास्तवमा नै उनको जीवनले मानव जातिका लागि एउटा गहिरो सन्देश दिन खोजेको थियो ।

त्यो सन्देश थियो प्रेम र करुणाको । मानवीय स्वतन्त्रताको । न्याय र समताको । एउटा सम्यक जीवनदृष्टिको ।

कुनै पनि समाजको पिँधमा रहने बहुसंख्यक मानिसहरू र माथिल्ला तहहरूमा रहने थोरै मानिसहरूका निम्ति एकैखालको अधिकार, सुविधा, प्रतिष्ठा र न्यायपूर्ण जीवनको परिकल्पना गर्ने संसारको सम्भवतः एक्लो नेता थिए उनी ।

उनी आफ्नो त्यस परिकल्पनाप्रति पूर्ण इमान्दार थिए किनभने उनी स्वयम् तृणमूल तहको एक अकिञ्चन मानिसको जीवन बाँच्न मन पराउँथे । उनको जीवन नै उनको दर्शन थियो ।

खेदको कुरो, अहिले गान्धीको जीवन दर्शनलाई कसैले पनि सान्दर्भिक ठान्दैन । उनी संग्रहालयको शोभा बन्न पुगेका छन् । उनको देश भारतमा त उनलाई झनै बेकम्मा ठानेर विस्मृतिको गर्तमा फ्याँकिएको छ ।

उनकै जन्मभूमि गुजरातको एक गफाडी नेताको शासन छ अहिले भारतमा । तर विडम्वनाको कुरो अहिलेका गुजराती नेताको शासनमा गान्धीजी जसको उत्थानका लागि जीवनभर लडेका थिए ती साना किसानहरू, स्थानीय शिल्पीगण, दिहाडी मजदूर, आदिवासी र पिछडिएका वर्गका मानिसहरूको जीवन झनै कष्टपूर्ण भएको छ ।

ठूला कर्पोरेट व्यापारी–उद्योगपति र सरकारी कर्मचारीहरूको मिलेमतोमा देशको धनको मुख्य हिस्सा केही सय धनाढ्य परिवारमा थुप्रिन पुगेको छ । गान्धीजीको सर्वोदयको नारा उनको आत्मकथाका पानामा सीमित भएको छ ।

गान्धीले मानव समाजलाई धेरै चीज दिएर गएका छन् । मेरो विचारमा उनले दिएका कुराहरूमा सर्वाधिक महत्वपूर्ण कुरो हो सत्याग्रहको उपकरण । आफ्नो जायज माग पूरा गराउँन शान्तिपूर्ण तर दृढ किसिमले आग्रह गर्दै धर्नामा बस्ने जुन तरिका उनले सुझाएर गएका थिए त्यो गज्जबको उपकरण साबित भएको छ ।

त्यो मानिसको नैतिक वलमा आधारित उपकरण भएकोले त्यसको प्रभावकारिता पनि सन्देहरहित ढङ्गले प्रमाणित भएको छ । नैतिक मनोवल उच्च भएको व्यक्तिले सही मुद्दा उठाएर गरेको सत्याग्रह असफल हुनै सक्दैन । म सत्याग्रहका प्रथम प्रयोक्ता गान्धीजीलाई श्रद्धाका साथ नमन गर्दछु ।

आजै गान्धीजीको अस्तु विसर्जनको पृष्ठभूमिमा बनेको, अमित रायद्वारा निर्देशित हिन्दी फिल्म ‘रोड टु सङ्गम’ हेर्ने सुखद संयोग जुर्‍यो । परेश रावल, ओम पुरी, पवन मल्होत्रा, स्वाती चिट्निस आदिको अभिनय रहेको यो सरल र हिंसारहित फिल्म निक्कै कुशलताका साथ बनाइएको रहेछ ।

विश्वसनीय कथ्य, प्रामाणिक परिवेशको निर्माण, सन्तुलित अभिनय, अर्थपूर्ण सम्वाद र गान्धीजीको योगदानको वस्तुपरक चित्रणले गर्दा यो फिल्मले चाक्षुष आनन्द मात्र होइन दर्शकलाई भारतको विभाजनको पीडादायी इतिहासका बारेमा एकपल्ट फेरि घोरिन पनि बाध्य बनाउँछ ।

(यो सामाग्री हामीले हरि अधिकारीको सामाजिक सञ्जालबाट साभार गरेका हौं।)