suv

चरित्र र अनुत्तरित प्रश्नहरु

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन २१ आईतवार | प्रकाशित १०:५९:०४
चरित्र र अनुत्तरित प्रश्नहरु

झट्ट सुन्दा अश्लिल सुनिने ‘नाठो’ भन्ने शब्द झर्रो नेपाली शब्द हो । प्रज्ञा प्रतिष्ठानले जारी गरेको बृहत् नेपाली शब्दकोशमा 'नाठो' भन्ने शब्दलाई यसरी परिभाषित गरिएको छ । -नाठो- अरूले थाहा नपाउने गरि गुप्त किसिमले राखिएको पोइ, जार । २. उपपति, परपुरुष ।

त्यस्तै ‘नाठे’ भन्ने शब्द पनि अस्तित्वमा रहेको देख्न सकिन्छ। नाठोको अस्तित्व हुनलाई कोही नाठे हुनु आवश्यक छ अथवा कोही नाठो भएकै कारण नाठेहरु अस्तित्वमा आएका हुन् भन्ने विषयमा विवाद रहेको देखिन्छ ।

जस्तै 'कुखुराको फुल पहिला आयो कि कुखुरो पहिला आयो' भनेजस्तै अधिकारकर्मीहरुका बिचमा ‘नाठे र नाठो’ को विवाद भईरहेको प्रायः हामीले देख्न-पढ्न पाउछौ । त्यही शब्दकोशले ‘नाठे’ शब्दलाई यसरी परिभाषित गरेको छ । - ना- नाठो+ऐ गुप्त किसिमले पोइ राख्ने आइमाई, नाठो खेलाउने आइमाई, व्यभिचारिणी स्त्री।

यहाँ उल्लेखित शब्दहरु सरसर्ती पढ्दा अश्लिल अर्थ दिने जस्ता लाग्न सक्छन त्यसकालागि म पाठकसंग क्षमायाचना गर्दछु तर माथि उल्लेखित दुवै शब्दहरु अत्यन्तै धेरै चलनचल्तीमा रहेका शब्दहरु हुन् ।

लेख्य परम्परामा उति प्रयोग नगरिएनि चलनचल्ती र बोलीचालीमा अत्यन्तै धेरै प्रयोगमा रहेका त्यस्ता शब्दहरुलाई समय अनुसार फेरबदल गरेर पनि प्रयोग गर्ने चलन रही आएको देख्न सकिन्छ ।

अचेल त्यही झर्रो अर्थ दिने अंग्रेजी नामहरु प्रसस्तै सुन्न पाईन्छ जसलाई समाजले पनि सम्मान पुर्वक ग्रहण गर्न थालिसकेको छ । जस्तै कुनै युवा र युवती बाटोमा हिड्दा हिड्दै भेटिएको अर्को साथीलाई एक अर्कामा परिचय गराउँदा सजिलैसँग “उ मेरो ब्वाईफ्रेन्ड” अथवा “उ मेरो गर्लफ्रेन्ड” भनेर परिचय दिन किन्चित लाज मान्दैन नयाँ पुस्ताले तर त्यहि ठाउँमा 'ऊ मेरो नाठो हो' अथवा 'ऊ मेरो नाठे हो' भनेर परिचय दिन सक्दैनन् ।

हुन त हाम्रो समाजलाई पश्चिमा रहनसहन र रितिरिवाजले सम्पूर्ण रुपमा गाँजीसकेको छ तर पनि अलिकति लाज या शरम भन्ने कुरा हाम्रो नाकको टुप्पामा कतै न कतै बाँकी नै छ त्यसैले पनि हामीहरु हाम्रा वैध अवैध सम्बन्धहरुलाई अंग्रेजी नाम दिएर आधुनिक बनाउने प्रयास गर्छौं। सम्बन्धका नामहरु जति आधुनिक हुँदै जान्छन समाजमा त्यस्ता सम्बन्धहरु पाच्य पनि हुदै जाने रहेछन।

अचेल सामाजिक संजालमा चर्का अधिकारकर्मीहरु र सर्वसाधारणको बिचमा उत्पातै बहस हुने केही विषयहरु छन्। एकाथरी महिला अधिकारको पक्षमा वकालत गर्ने समुहले महिला बिग्रनु र महिला चरित्रहिन हुनुमा पुरुषलाई दोषी देख्छन र त्यस्ता बिग्रेका पुरुषहरु गईदिनाले मात्र महिलाहरु चरित्रहिन हुनुपरेको आरोप लगाउछन भने अर्काथरी पुरुष अधिकारकर्मीहरु “महिलाहरु चरित्रहिन नभए पुरुषहरु बिग्रदैनथे” भनेर प्रतिवाद गरिरहन्छन् । सरसर्ती हेर्दा तिनीहरुको बहस ‘कुखुरो पहिला कि अण्डा’ भन्ने बहस भन्दा माथि कहिल्यै गएको देखिदैन ।

साँच्चै विचार गर्दा सुरुवातमा महिला चरित्रहीन भएपछि पुरुषहरु चरित्रहीन भएका होलान अथवा पुरुषको मनमा कुविचार उत्पन्न भएपछि महिलालाई चरित्रहिन हुन उक्साईएको होला ? यो प्रश्न भने मेरो दिमागमा पनि अनुत्तरित नै रहिरहेको छ। तर के उपपति राख्नु अथवा परस्त्रीगमन गर्नु चरित्रहीन हुनु हो भनेर मान्न सकिन्छ त ? मैले धेरै पटक सोधेको र जवाफ पाउन नसकेको प्रश्न पनि यहि नै हो।

यस किसिमका सम्बन्धहरु र त्यस्ता सम्बन्धले निम्त्याएका अफ्ट्यारा अवस्थाका बारेमा धर्मशास्त्रमा समेत धेरै नै उल्लेख गरेको पाईन्छ। परापुर्वकालको महाभारत रामायण लगायत कथाहरुले पनि यस्ता सम्बन्धहरुलाई चरित्रसँगै नै दाँजेर परिभाषित गर्ने गरेको पाईन्छ ।

देवताले कुनै असुरलाई परास्त गर्न नसकेको खण्डमा उसकी निर्दोष श्रीमतीको सतित्व डगाएपछि सत्रुलाई परास्त गरेका धेरै कथाहरु सुनेरै हामीहरु ठूला भएका हौँ । अझै पनि नवरात्र लगायत यज्ञहरुमा पण्डितले भट्याउने र जजमानले सुन्ने कथाहरुको अधिकांश हिस्सा यस्तै कथा एवं किस्साहरुले ओगटेका हुन्छन।

परापुर्वकालकी रोमन महारानी क्लियोपेट्राका सम्बन्धहरु होउन या आधुनिक जमानाका शासक विल क्लिन्टनका सम्बन्धहरु हुन् हामीहरु चाख मानि मानि पढ्ने गरेका छौं। जे छ त्यही सम्बन्धमा छ रमाइलो, कौतुहलता, उत्सुकता अथवा अपराध, समाजको अध्यारो पाटो अथवा अमानवीय कर्म जे जे हुन सक्छन त्यस्तै सम्बन्धहरु भित्र धेरै भेटिन्छन ।

धोका, जालसाजी, गल्ती लगायत विषयलाई चरित्रसँग दाँज्ने कि यौनजन्य सम्बन्धहरु अथवा शारीरिक रुपमा भएको आकर्षणलाई चरित्रसंग दाँज्ने ? समाजले यो पाटोमा त्यति अध्ययन गरिसकेजस्तो लाग्दैन।

जो जतिसुकै ठूलो धोकेवाज, फरेबी अथवा जालसाजी गर्ने मान्छे किन नहोस् उसको यौन जीवन लुकेको या लुकाईएको छ भने त्यो सत्चरित्रवान ठहर्छ अनि जो जतिसुकै सतचरित्र भएको व्यक्ति किन नहोस उसको यौन जीवन समाजको अगाडि खुल्यो भने उ चरित्रहीन ठहरिन्छ या ठहरिन्छे ।

पुरुष भएमा केही राहत पाउन सक्ला त्यसरी यौन जीवन या घटना सार्वजानिक हुने कुनै महिला भएमा उसको अस्तित्व यो संसारबाट हराएर जानुपर्छ। अब उपरान्त उसले बाँच्न पाउनेछैन भन्ने विषयमा समाज ढुक्क हुन्छ र त्यस्ती स्त्री समाजबाट लखेटिन बाध्य पारिन्छिन ।

समाचार आउछन्, गर्भवती बनाएर पुरुष फरार । ‘अविवाहित आमा, कुमारी आमा’ ईत्यादी । त्यसमाथि अहिले लोग्ने वैदेशिक रोजगारीमा गएका महिलाहरुले गर्ने अशुरक्षित यौन सम्पर्कको कारण आइपर्ने समस्याहरु झन् भयावह हुँदै गईरहेको देख्न सकिन्छ । समाजले ति कुमारी आमाको चरित्र र कुनै विवाहित महिलाको पर पुरुषसँग जोडिएको सम्बन्धलाई एउटै कसीमा जाँचेर हेर्छ चरित्रको उही तुलोमा जोखेर हेर्छ, सबैभन्दा दुखद अवस्था यहीं भेटिन्छ।

शारीरिक आवश्यकता या ‘बायोलोजिकल निड’ सम्पुर्ण रुपमा मान्छेको नियन्त्रणमा रहदैंन् । यदि त्यसो हुँदो हो भने पृथ्वीमा सबैजना तपश्वी या योगीहरु मात्र हुन्थे होलान । यौन र चरित्रको बारेमा हाम्रा धर्मशास्त्रमा पनि दोहोरो मापदण्ड भेट्न सकिन्छ।

कतै परपुरुषसँग आँखा जुध्दैमा ब्यभिचारिणी भएको पाप लाग्दछ भने कतै बहुपति पनि स्वीकार्य छ अझ कतै कतै सन्तानको लागि पतिकै सहमतिमा समेत अन्य पुरुषसँग सम्भोग गरेर सन्तान जन्माएका कथाहरु पढ्न पाईन्छ।

यसरि हेर्दा विवाह पहिले अथवा विवाहपछि समेत परपुरुष संगको यौन सम्बन्धको परिकल्पना हाम्रा धर्मशास्त्रहरुमा समेत गरेको पाईन्छ । कुनै कुनै आवश्यकताहरु कतिसम्म मान्छेको नियन्त्रण भन्दा बाहिर हुन्छन भने त्यस्ता अवस्थालाई धर्मशास्त्रले समेत पाप मानेको छैन । तर त्यही धर्मशास्त्रद्वारा शिक्षित भएको हाम्रो समाजले वाध्यात्मक अवस्थाका सम्बन्धहरुलाई समेत चरित्रसँग दाजेर हेर्ने गरेको छ ।

साहित्यकारहरु भन्छन्, ‘स्त्री हृदय संसारकै कोमल चिज हो’ जुन सानो प्रयास मात्रले पग्लन्छ । पुरुषहरु स्त्री हृदय पगाल्न र आफू अनुकुल प्रयोग गर्न माहिर हुन्छन । जतिसुकै कठोर हृदयकी महिला किन नहुन यदि एकजना पुरुष दिलोज्यानले लागिपर्छ भने उसको प्रेममा पग्लिन्छिन । त्यसरी कसैको स्वार्थ नबुझेर प्रेममा पर्नु कसरि चरित्रहीन हुनु ठहर्छ समाजको नजरमा ? त्यहि अवस्थालाई हामि ‘व्यभिचार’ भनेर समेत परिभाषित गर्ने गर्दछौं ।

एकजना महिला चरित्रहीन हुनुमा एउटा पुरुष पनि उत्तिकै जिम्मेवार हुने गर्दछ भनेर स्वीकार गर्नै चाहदैन यो समाज त्यसैले त व्यभिचारी पुरुष समाजमा तुरुन्तै स्थापित हुन्छ तर त्यसैको प्रेममा परेकी महिलाको लागि भने पुनर्स्थापना गर्ने संस्था खोल्नु परेको छ हामीकहाँ । आखिर पाप नै गरेको भएपनि दुबैजना उत्तिकै बराबरीको हकदार हुनुपर्ने होइन र फेरि किन फरक व्यवहार समाजको ? यो प्रश्नको जवाफ खोज्ने बेला भएको छ ।