suv

बामदेव गौतमलाई कर्साङ लामाको कडा खुलापत्र

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन २५ बिहीबार | प्रकाशित १५:५१:२८
बामदेव गौतमलाई कर्साङ लामाको कडा खुलापत्र

बामदेव गौतम
नेता, नेपाल कम्यूनिष्ठ पार्टी (नेकपा)

म यहाँलाई यस्तो बेलामा पत्र लेख्न बसेको छु, जतिबेला वर्तमान केपी ओली सरकारप्रति आम मानिसको असंतुष्टि चुलिदो छ । महंगीले जनताको ढाड सेकेको सेकै छ । सामाजिक असुरक्षा चरम उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी ओलीले गर्ने समृद्धिका भाषणहरुले जनतालाई ‘इरिटेड’ बनाउन थालेको छ । यही बेला यहाँले एकजना सांसदलाई बलि चढाएर बैतर्नी तर्ने जुन प्रयास सुरु गर्नुभएको छ, त्यसको सर्वत्र विरोध भएको छ । मेरो पहिलो प्रश्न छ, बर्दियाबाट जनताले बाइबाई गरेका यहाँले किन अर्कोलाई राजीनामा गराएर सांसद हुनुपर्‍यो ? यस्तो अनौठो हतारो किन ?

बामदेव जी, बर्दियाबाट तपाईंलाई जनताले सांसद हुनबाट मात्र रोकेका होइनन् । विगतमा तपाईले गृहमन्त्री हुँदा प्रदर्शन गरेका हर्कतहरु दोहो¥याउने सम्भावित मौकालाई पनि बञ्चित गरिदिएका हुन् । के तपाईले सरकारको उपप्रधान तथा गृहमन्त्री भएर काम गर्दा देश र जनताको पक्षमा उल्लेख्य काम गर्नु भएको थियो ? एउटा पनि सकारात्मक काम गरेर देखाउनु भएको थियो ? थिएन भने तपाईं फेरि केका लागी सांसद बनेर आफूलाई ठूलो–ठूलो पदको दावेदार बनाउँदै हुनुहुन्छ ? के तपाईंसँग देश बनाउने खाका छ ?

पूर्व गृहमन्त्री ज्यू, तपाईंले बिना कारण र कानुनको पनि धज्जी उडाउँदै तत्कालीन प्रहरी प्रमुख अच्यूतकृष्ण खरेललाई पदच्यूत गरेको कसैले बिर्सेको छैन । पद बहाली हुनु र पदच्यूत गरिनु ठूलो समाचार होइन । तर, प्रहरी प्रशासनलाई लुरे सावित गर्ने र नांगो हिसावमा राजनीतिकरण गर्ने कार्यको सुरुवात त्यही घटनाबाट भएको इतिहास पनि कसैले बिर्सेको छैन । पछि खरेललाई अदालतले बहालीगर्दासम्म अर्का तत्कालीन आइजीपी धु्रबबहादुर प्रधान मार्फत मनग्गे लाभ लिएको आरोपलाई तपाईका ब्यवहारले आफैं पुष्टि गर्दै गए । के तपाईले मनखुसी रुपमा एउटा व्यापारीलाई एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल ठेक्का दिएको होइन ? सांसद किन बेचमा तपाईले करोडौं खर्च गरेको समाचार र प्रमाणहरु सार्वजनिक भइरहँदा तपाईले चुँसम्म नबोल्नु भएको होइन ? के यी गलत हर्कत प्रति तपाईले जनतासँग माफी माग्नु भएको छ ? भन्नुहोस्, जनताले तपाईका हरेक कदमलाई आँखा चिम्लेर अनुमोद गरिरहनु पर्ने ?

तत्कालीन एमालेसँग असन्तुष्ट भएर तपाईले पार्टी फुटाउनु भयो । र, माले नामको अर्को पार्टी गठन गरेर चुनाव लड्नु भयो । तर, जनताले पत्तासाफ गरिदिए । माले पार्टीलाई जनताले एक सीट पनि जिताएनन् । उता दाल नगल्ने देखेपछि तपाई एमालेमा ‘घर फर्के’ भन्दै भित्रिनु भयो । अर्को पार्टी बनाउने नाममा एमाले छोडेका आम कार्यकर्ताको जिम्मेवारी तपाईले सोच्न सक्नु भएन । तत्कालीन वरिष्ठ नेता सिपी मैनालीसँग आँखा जुधाउँदै तपाई गर्न सक्नु हुन्छ पार्टी फुटाउँदा र फेरि एमाले फर्किदाको विश्लेषण ? सीपी सक्ने बाहेक तपाईले अर्को कुन वहादुरी काम गर्नुभयो पार्टी फुटाएर ? इतिहासलाई जवाफ दिनुहोस् तपाईले पार्टी फुटाएको गलत थियो कि एमालेमा पुन फर्केको ?

नेकपाका नेता ज्यू, तपाईले बर्दियाबाट चुनाव हारेपछि श्रीमती कुमारी तुलसा थापालाई मनोनित सांसद बनाइसक्नु भएको छ, जनजाती कोटाबाट । यो आफैंमा हाँस्यस्पद छ । सोच्दैजाँदा त लाग्छ, तपाईका हरेक ब्यवहार नै हाँस्यास्पद छन् । डोल्पा, बाँके, दैलेख, रुकुम लगायतका सांसदले राजीनामा दिन नमानेपछि काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर क्षेत्र खाली गराउने सपना पुरा गर्न लाग्नु भएको छ । यस घटनालाई पनि तपाईले हाँस्यस्पद बनाउनु भएको छ, राजीनामापछि राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने सौदाबाजी गरेर । भन्नुहोस्, रामवीरलाई राजीनामा घोषणाको लागी तपाईंले अरु के–के सौदाबाजी गर्नुभएको छ ?

अन्त्यमा, सम्झन्छु, मदन भण्डारीलाई जोडेर तपाईमाथि रचिएको एउटा किस्सा । भण्डारीले भनेका थिए रे, ‘बामदेव निस्क्रिय भए पार्टी लुलो हुन्छ, धेरै सक्रिय भए पार्टी धुलो हुन्छ ।’ भण्डारीले कहाँ र कहिले यसो भनेका थिए वा थिएनन् त्यो भिन्न पक्ष हो । तर, यो किस्सामा तपाईको व्यवहारले पूर्ण रुपमा मेल खाँदै आएको छ । यस पटक लाग्छ, तपाईको सक्रियता निकै नै बढेको छ । हामी रामराम मात्र भन्न सक्छौं, बामदेव कमरेड । काँध थापेर सिपी मैनाली पथमा पुग्न प्रचण्डले पनि हिम्मत गर्दैनन् होला ।

छोटकरीमा मात्र बुझ्नु भए हुन्छ, कुनै सांसदलाई राजीनामा गराएर चुनावमा उठ्न आउनु भयो भने सहिद कोटामा छोरो पढ्न पठाएको पुरानो समाचार ताजा बन्ने छ । खुलामञ्चमा तत्कालीन एमाले नेतृत्वले शताब्दीकै भ्रष्ट नेता भनेर घोषणा गरेको जस्ता धेरै दृश्य पनि फेरि सतहमा आउने छन् । कृपया, जनताले इटको जवाफ पथ्थरले दिनेछन् भन्ने सामान्य हेक्का राख्नु होला ।

कर्साङ लामा
मतदाता, क्षेत्र नं ७
काठमाडौं
२०७५।०६।२५