suv

दशैं यात्रा अनुभवः धरान धनकुटा हुँदै प्रसिद्ध हिलेसम्म पुग्दा

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ कार्तिक ८ बिहीबार | प्रकाशित १७:१४:४८
दशैं यात्रा अनुभवः धरान धनकुटा हुँदै प्रसिद्ध हिलेसम्म पुग्दा

रिस्ता राई/काठमाडौं । दशैंमा लामो बिदा हुने गर्छ । मेरो दशैंको छुट्टी सधैं घरमा टिका लगाउन मै बित्ने गर्छ । तर यसपालीको दशैंमा नयाँ छुट्टै अनुभव बटुल्न पाए । भाग्यबस यो दशैं छुट्टीमा नेपालको पूर्वी क्षेत्र घुम्ने अवसर प्राप्त भयो ।

पूर्वतिरको धरान, भेडेटार हुँदै धनकुटाको हिलेसम्मको यात्रा । धनकुटा जिल्लाको रमणीय बजार हिले एउटा व्यापारिक केन्द्र पनि हो । अझ पारखिहरुका लागि हिलेको ‘तोङवा’ र ‘सुकुटी’ प्रशिद्ध छ । दशैंको दिन घरमा बाबाको हातबाट टिका र आशिर्वाद लिईयो । दशैंको दोस्रो दिन हामी धरान, भेडेटार हुँदै धनकुटाको हिलेसम्मको यात्रामा निस्कियौं । मेरो लागि त्यो विल्कुलै नयाँ । नयाँ ठाउँ घुम्न र बुझ्न पाउँदा खुसीले मन प्रफुल्ल भयो ।

सुनकै भाउँ छ सुन्तला भारीको....
चाखी जानु भन्ने मनकारीको...
खोई त बुट जुत्ता....
कतिञ्जेल धाउँछौं दाई धरान–धनकुटा ।।।

हामी उदयपुर, बेल्टार बसाहाबाट रामपुर हुँदै पुर्व चतराको सातवटा कोसीको संगम सप्तकोशी पुगेर थकाई मार्‍यौं । कोशीको चिसो हावा शरिरमा स्पर्श गर्दै हाम्रो यात्रा फेरि सुरु भयो । आधा घण्टापछि पुगियो सफा र हराभरा धरान बजार । तीनतिर डाँडाले घेरेको, दक्षिण तिर चारकोशे झाडी र दुवै तर्फ खोलाले घेरेको सुन्दर ठाउँ हो धरान ।

पहाड र तराईको संगम स्थल र बूढासुब्बा, पञ्चकन्या, दन्तकाली, पिण्डेश्वर मन्दिरको प्रख्यात धरान बजारको जिरो पोइन्ट देखि उत्तर तर्फको ठाडो उकालो बाटो समाएर धनकुटाको यात्रा अघि बढ्यो । हामी यात्राकै क्रममा माथि उल्लेखित कुन्ति मोक्तानको सुमधुर गीत धरान धनकुटा गुनगुनाउँदै गयौं ।

जंगलको माझमा उकालो नागबेली सडक । सडकमा गाडीहरुको आवतजावत उत्तिकै थियो । तराईको गर्मीलाई छिचोल्दैं उकालो चढ्दै जाँदा जाडो निकै बढिरहेको थियो । धरानबाट लगातार १३ किलोमिटर उकालो दौडाईपछि पुगियो ‘भेडेटार’ बजार । भेडेटार बजार छेउ पुगेपछि उभिएर यसो तलतिर नियाल्दा हरियाली डाँडाबीचबाट छिचोलेको नागवेली कोशी राजमार्गको सुन्दर दृष्यले मन नै लोभ्यायो ।

भेडेटारको दृश्यले मन लोभ्याएपछि...


पूर्वी नेपालको एक महत्वपुर्ण पर्यटकीय स्थल धरान भित्रका वा धरान भित्रिने पर्यटकहरु धनकुटा जिल्लामा अवस्थित भेडेटार चढ्ने गर्दा रहेछन् । भेडेटार पुगेपछि त्यहाँको मौसमले चैत वैशाखको प्रचण्ड गर्मीलाई पनि बिर्साइदियो । भेडेटार बजारको माझमा निर्मित स्व. ईमान सिं चेम्जोङ्गको मुर्तिले त्यहाँको सोभा बढाईरहेको थियो ।

भेडेटारमा अवस्थित भ्यु टावरबाट धरान नगर तथा सुनसरी र मोरङ जिल्लाका अधिकांश स्थान देख्न सकिने रहेछ । मनोरम प्राकृतिक दृष्य, हिमाल पहाड र तराईलाई नियाल्न सकिने रहेछ । हामी पुग्दा भेडेटारले भने वादलको घुम्टो ओडेर लुकामारी खेलिरहेको थियो । जसले गर्दा हामीले हिमाल, पहाड र तराईको दृश्य देख्न पाएनौं । मन खिन्न भयो । जे होस भेडेटार नै एक रमणीय ठाउँ छ ।

धरानबासीहरु मात्रै नभएर इटहरी, विराटनगर, झापा र भारत र बङ्लादेशबाट पनि दशैंको अवसर पारेर घुम्ने र चिसो हावा खान मानिसहरुको ओईरो थियो भेडेटारमा । पाहुना एवं साथीभाई होस् वा प्रेम जोडी, सबैको पहिलो गन्तव्य रहेछ भेडेटार । आन्तरिक बाहेक ४० प्रतिशत जति भारतीय पर्यटकहरु आउने रहेछन् । भेडेटार आसपासमा उत्पादन भएको ताजा फलफुल एवं तरकारी फर्कनेहरुको साथमा थियो भने धनकुटामा मात्रै उत्पादन हुने नरिवल बिस्कुट भेडेटारको कोसेली हुँदो रहेछ ।

नमस्ते झरना पुग्दा मन प्रफुल्लः


भेडेटारमा बिहानीको खानामा लोकल कुखुराको मासुको सुपसँग तातो चियाको स्वाद लिएपछि फेरि हाम्रो यात्रा अघि बढ्यो । भेडेटारबाट करिब ९ किलोमिटर ओरालो यात्रा गरिसकेपछि सिम्सुवा नमस्ते झरना पुगियो ।

करिब ५० मिटर माथिबाट खस्ने यो झरनामा कोशी राजमार्गको सिस्मुवा मोडसम्म गाडी पुग्छ भने त्यहाँबाट डेढ किलोमिटर हिडेर जानुपर्छ । झरनामा जान ३० रुपैयाँको टिकट काट्नु पर्ने रहेछ । तराईमा हुर्केको म झरनामा पुगेर रम्न पाउँदा आफुलाई अत्यन्तै आनन्दित बनाए । यो खुशी बयान गरेर साध्य थिएन् । झरनामा पुगेपछि हावामा उडेर आउने पानीको कणले शरीर स्पर्श गर्दाको आनन्दले सारा थकान मेटाईदियो ।

त्यसपछिको यात्रा मुलघाटकोः
झरनामा रमाईलो गर्न आउनेहरु पानीमा नुहाउने देखि लिएर सेल्फि लिने काममा व्यस्त देखिन्थे । झरनामा एकैछिन रमेपछि फेरि यात्रा सुरु भयो । करिब आधा घण्टाको यात्रापछि पुगिन्छ मुलघाट । रमणीय वातावरणमा तमोर नदीको पुल रहेको स्थल पर्यटकहरुको प्रचलित पिकनिक स्पोट रहेछ । तमोर नदीको २०० मिटरमा निर्माण भएको यो पुलमा एकछिन विश्राम गरियो । मुलघाट र्‍याफ्टिङको लागि पनि प्रसिद्ध छ । यहाँबाट र्‍याफ्टिङ गरेर चतराधाम सम्म पुग्न सकिने रहेछ ।

मुलघाटबाट धनकुटा पुग्दाः
तमोर नदी पार गरेर आधा घण्टा उकालो यात्रापछि पुगियो धनकुटा बजार । चारै तिर हरियाली डाँडाबाटोभरी ‘कोइराल’ ढपक्कै फुलेर सेताम्मै थियो । दशैंको समय भएकोले धनकुटा बजार सुनसान थियो । सुन्तलाको लागि प्रसिद्ध धनकुटा बजार उत्तरतिरका जिल्लाहरु भोजपुर, संखुवासभा, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाका लागि व्यापारिक तथा आवतजावतको केन्द्रका रुपमा चिनिने रहेछ ।

समुद्री सतहबाट दुई हजार १ सय ४४ मिटरसम्मको उचाईमा रहेको धनकुटा बजार दुबै तिर अग्ला डाँडा र भिरालोमा अवस्थित रहेछ । धनकुटा बजारबाट फेरि उत्तर तर्फ उकालो हिले बजारको लागि यात्रा अघि बढ्यो । हिले बजार पुग्ने बाटो सबै कुहिरोको भित्र लुकेको थियो । बाटो भरी अचार खान प्रयोग हुने कोइराल, कुँचो बन्ने अम्रिसो र स्कुसको फलले बाटो भरिएको थियो ।

मुख्य पर्यटकीय स्थल हिले बजारः


कोशीको चिसो हावा लिदैँ नागबेली बाटो छिचोल्दै पुगियो मुख्य पर्यटकीय स्थल हिले बजार । बजारको बिचैमा तोङ्वा खाने भाडाको विशाल मुर्तीले यो कुरालाई प्रष्ट पारिसकेको थियो कि यो तोङ्वाको प्रसिद्ध ठाउँ हो ।

हिले बजार समुन्द्री सतहबाट करिब १ हजार ९ सय ५० मिटर उचाईमा अवस्थित छ । जाडो मौसम सुरु हुँदै गरेको छ र वर्षैभरि चिसो हावापानी रहने हिलेमा पनि चिसो वातावरण हुने गर्छ । अधिकांश समय हिले बजार कुहीरो भित्र लुकेको हुन्छ ।

तोङ्वा भाडाको त्यो आकर्षक विशाल मुर्तिले मेरो ध्यान केन्द्रित भयो । वर्षैभरि चिसो हावापानी रहने हिलेमा पनि चिसो वातावरणमा रमाउन चाहने मानिसहरुको लागि एक प्रमुख गन्तव्य रहेछ हिले ।

चिसो मौसम भएकोले यहाँको तोङ्वासँग सुकुटीको स्वाद लिन विभिन्न ठाउँबाट मानिसहरु घुम्न आउने रहेछन् । चारैतिर डाँडाकाडा र पहाडकोबीचमा अवस्थित हिले बजार कहिले त घामको पारिलो प्रकाशमा रमाउँदै थियो भने कहिले बादलको घुम्टोभित्र लडिबुडी गरिरहेको थियो ।

हिलेलाई नेपालको दार्जिलिङ भनेर पनि चिनिन्छ । कोशी राजमार्गले छोएको हिले बजारबाट पूर्वका अन्य जिल्ला तेह्रथुम, भोजपुर, सङ्खुवासभा र लालिगुरासको राजधानी भनेर चिनिने वसन्तपुर जाने सडक पनि यहाँबाटै छुट्टिन्छ ।

धनकुटा जिल्लाको रमणीय बजार हिले एउटा व्यापारिक केन्द्र पनि हो । धरान, इटहरी, विराटनगर र अन्य धेरै ठाउँ सम्म यहाँ उत्पादन हुने तरकारीहरु निर्यात हुन्छ । हिले पुगेपछि त्यहाँको चिसो मौसमले चुनौती दिइरहेको थियो । त्यही चुनौतीलाई सिरोपर गरेर तातो चिया पिएर दशैं यात्र सकियो ।