suv

एक सय दिनमा निर्मलाका बाबुको घोषणा- अबको अन्तिम लडाई अनसन ! (भिडियोसहित)

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ कार्तिक १६ शुक्रबार | प्रकाशित १६:४६:२९
एक सय दिनमा निर्मलाका बाबुको घोषणा- अबको अन्तिम लडाई अनसन ! (भिडियोसहित)

कृष्णसिंह धामी/काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको आज १०० दिन पुगेको छ । गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

हत्या गरिएको आज १०० दिन अर्थात ३ महिना । प्रहरीले अहिलेसम्म नत हत्यारा पत्ता लगाउन सकेको छ नत घटनाको जडसम्म पुग्न सकेको छ । केबल सबै शंकै शंकामा १०० दिन गुज्रिएको छ । यसको प्रमुख कारण हो सबै प्रमाण नष्ट ।

कानूनको रक्षक नै भक्षक भएपछि यस्तै हुन्छ । १०० दिन त के १०० वर्षसम्म पनि अपराधी पत्ता नलाग्न सक्छ । किनकी भएका सबै प्रमाण नष्ट गरियो । प्रहरीले निर्मला हराएको रातिदेखि नै गम्भीर लापरवाही गरेको थियो ।

प्रहरीले के–के लापरवाही गर्‍यो ?

१. हराएकी निर्मलाको खोजीकार्य गर्न दोस्रो दिनमात्र प्रहरी परिचालन,
२. उखुबारीमा शव फेला परेपछि पनि घटनास्थललाई शिल गरिएन,
३. निर्मलाले लगाएको सुरुवाल तथा गुप्ताङ्ग पानीले पखालियो,
४. घटनापछि तालिम प्राप्त कुकुर परिचालन गरिएन,
५. निर्मला जसको घरमा गएकी थिईन त्यो घरमा राम्ररी अनुसन्धान गरिएन्,
६. घटनालाई सामान्य रुपमा लियो,
७. घटनाका सम्बन्धमा प्रहरीको जिल्ला प्रमुखले स्पष्ट निर्देशन दिन सकेनन्,
८. आन्दोलनलाई सामान्य लिँदैं कुनै रणनीति अपनाईएन,
९. आन्दोलनकारीमाथि चेन अफ कमाण्डमा नआई आफुखुशी अत्यधिक बल प्रयोग,
१०. आन्दोलनमा पसेको अराजक समूहमाथि निगरानी राख्न सकिएन,
११. गोली चलाउँदा घटना झन गम्भीर बन्यो,
१२. तथ्य तथा प्रमाण मेटिएपछि मासको भनाईको आधारमा चल्दा समस्या,
१३. प्रहरीको माथिल्लो तहले तल्लो निकायलाई स्पष्ट निर्देशन दिन सकेन्,

किन लापरवाही गरियो ?
घटनाको छानविन गर्न जिल्ला प्रहरी कार्यालयको टोली, प्रदेश प्रहरी, सीआईबीको टोली परिचालित थिए । उनीहरु सबै मिलेर घटनाको अनुसन्धान गरिरहेको थियो । छानविनका लागि करिब १ सय भन्दा बढी प्रहरी परिचालित थिए । ति मध्ये धेरै जसो प्रहरी विभिन्न क्षेत्रका विज्ञ थिए ।

घटना भएको २५ औं दिनमा प्रहरीले एक जनालाई अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलिप विष्टलाई बयानको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो । पछि उनी डिएनए परीक्षणको पश्चात निर्दोष भए ।

यो घटनामा प्रहरीले धेरै ठाउँमा लापरवाही गरेको देखिन्छ । त्यो लापरवाही जानी जानी नगरिएको तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले बताएका थिए । ‘हामीहरुले हरसम्भव भएसम्म काम गरेका थियौं’ सेवाबाट हटाईएका एसपी विष्टले भने । ‘काम गर्दै जाँदा मानवीय कमजोरीहरु हुन्छन् । तर त्यसलाई गम्भीर लापरवाही भन्न मिल्दैंन्’ उनले भने ।

निर्मलाका आफन्तहरुले भने यो घटनामा ठूलै मान्छेको हात रहेकाले सबै प्रमाण नष्ट गरिएको दावी गर्दै आएका छन् । उनीहरुले कुनै नेताको मान्छे या प्रहरीकै मान्छे संलग्न रहेकाले प्रहरीले सुरुदेखि नै लापरवाही गर्दै आएको निर्मलाका बाबु यज्ञराज पन्तको भनाई छ । उनी भन्छन्, ‘यो घटनामा या त कुनै नेताका छोराहरुको हात छ या त कुनै प्रहरी अधिकारीका मान्छेको संलग्नता छ । नत्र अहिलेसम्म पनि हत्यारा पक्राउ नपर्ने कुरै भएन् ।’

घटनाको अनुसन्धान गर्न विभिन्न समिति, उपलब्धी सून्यः
घटनाको अनुसन्धान गर्न प्रहरी सरकारले छुट्टा छुट्टै समिति बने । सरकारले गृह मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले अनुसन्धानमा प्रहरीले गम्भीर लापरवाही गरेको भन्दै तत्कालिन जिल्ला प्रहरी प्रमुखसहित ८ प्रहरीलाई कारवाहीको लागि सिफारिस गरेको थियो । त्यसपछि प्रहरीले विभिन्न समिति गठन गरेको थियो । ति समितिले घटनाको बारेमा जानकारी लिनेबाहेक केही पनि गर्न सकेन् । सबै समितिले विभिन्न कोणबाट अनुसन्धान गरेको जनाएका छन् । तर उपलब्धी शुन्यजस्तै छ ।

दिल्लीराज र जगदीश भट्ट मात्रै बलीको बोकाः
एआईजीपी धिरु बस्न्यात नेतृत्वको उच्च स्तरिय छानविन समितिले सम्पूर्ण दोष एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टमाथि लगायो । जिल्ला प्रमुखको नाताले एसपी विष्टमाथि आरोप लगाउँनु पनि स्वाभाविक नै हो । उनीहरुलाई प्रहरी सेवाबाट हटाईयो ।

तत्कालिन जिल्ला प्रमुखको हिसावले विष्ट कारवाहीको भागेदार बने । उनीमाथि अनुसन्धानमा गम्भीर लापरवाही गरेको, प्रमाणहरु नष्ट गरेको जस्ता आरोप लगाईयो । इन्सपेक्टर भट्टलाई पनि आफ्नो क्षेत्रमा शान्ति सुरक्षा प्रदान गर्न नसकेको तथा उक्त घटनामा गम्भीर लापरवाही गरेको आरोप लगाईयो । र उनीहरु दुबैलाई सेवाबाट हटाईयो ।

न्यायको लागि सडक तताउँदा तताउँदै तीन महिना वित्योः
तत्काल अपराधी पत्ता लगाएर कारवाहीको माग गर्दै सडक आन्दोलन थालिएको पनि तीन महिना भयो । निर्मलाका परिवार, स्थानीय तथा अधिकारकर्मीहरुले कञ्चनपुरदेखि काठमाडौंसम्म तिन महिनादेखि आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनकै क्रममा प्रहरीले बेला बेला बल पनि प्रयोग गर्दै आईरहेको छ । बल प्रयोग गर्दा भदौं पहिलो साता नै सन्नी खुनाले ज्यान गुमाएका थिए । त्यस्तै एक दर्जन बढी घाइते पनि भए । घाइते मध्ये अर्जुन भण्डारा र उमेश देउवा अहिले पनि उपचाररत छन् । अर्जुनको एउटा खुट्टा नै गुमाउनुपरेको छ । उनीहरुले अहिले पनि अस्पतालको शैयाबाट निर्मलालाई न्यायको लागि अपिल गरिरहेका छन् । उनीहरु भन्छन्, ‘हाम्रो पीडा भन्दा पनि निर्मलाले न्याय पाउनु मुख्य कुरा हो ।’

न्यायको लागि अन्तिम लडाई लड्ने तयारीमाः
तीन महिना वितिसक्दा पनि छोरीको हत्यारा पत्ता लाग्न नसकेपछि निर्मलाको परिवार अन्तिम लडाईमा होमिने तयारीमा छन् । निर्मलाका बाबु यज्ञराज भन्छन्, ‘अब त अन्तिम लडाई भनेको आमरण अनसन हो । छोरीको हत्यारा पत्ता लागेर कारवाही नहुँदासम्म अनसन नै बस्छु ।’

छोरीको न्यायको लागि जिल्ला प्रशासन कार्यालय अगाडि अनसनमा बस्ने उनले तयारी थालेका हुन् । त्यसको लागि सबैसँग छलफल भईरहेको उनले बताए । ‘आज भोली भित्रमा म आमरण अनसनमा बस्छु’ उनले भने ।