suv

देउसी भैलोको पौराणिक पक्ष र भित्रिएका विसंगतिहरु

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ कार्तिक २२ बिहीबार | प्रकाशित ०८:४८:४८
देउसी भैलोको पौराणिक पक्ष र भित्रिएका विसंगतिहरु

काठमाडौं

तिहारको रौनक भनेको नै देउसी भैलो र विभिन्न जनावरको पूजा लगायत भाइटिका नै हो । तिहारका ५ दिन नै अलग अलग पूजा गरिने हुँदा सबै दिनको विशेष महत्व छ । अझ देउसी भैलोको रमाइलो त धेरै नै छ । लक्ष्मीपूजाको दिन साँझमा घरघरमा लक्ष्मीपूजा गरेपछि रातभरि गाइने गाथालाई भैलो भनिन्छ । भैलो महिलाले गाउँछन्, विशेषगरी साना नानी र किशोरीहरू भैली खेल्न जाने गर्दछन् । त्यसको भोलीपल्ट भने देउसी खेलिन्छ । गोवर्धनपूजाका दिन पुरुषहरूले देउसी खेल्ने परम्परा छ । कतिपय ठाउँमा त तिहारमा सुरु भएको देउसी एकादशीसम्म चल्ने गर्दछ ।

देउसी र भैलो किन खेलीन्छ भन्ने प्रसंगमा बलिराजाको कथा जोडिएर आउँछ । पौराणिक कथन अनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिन मध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए । त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको हो । आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी र भैलो खेल्ने परम्परा चलाएका हुन् ।

यसैले देउसीभैलोमा बलिराजाले पठाएको प्रसंग जोड्दै उनको गाथा गाउने गरिएको हो । धार्मिक एवं सांस्कृतिक दृष्टिले तिहारको महत्व धेरै नै छ । तिहारमा खेलिने देउसीभैलो चुट्का, बालन, भजन आदिले यसको रौनकता अलग्गै बनाइदिएका छन् ।

ठाउँ अनुसार देउसी र भैलो फरक फरक तरिकाले खेल्ने र भट्याउने गरिएको पाइन्छ । भैली गाउँदा कतै लेग्रो तानेर भइलो भनिन्छ भने कतै भैलीराम वा कतै भैलिनी हो भनेर खेल्ने चलन छ । यस्तै देउसी खेल्दा पनि कतै देउसी रे, कतै देउसीराम त कतै देउसु रे भनेको पनि पाइन्छ । जे भएपनि देउसी र भैलो गाउँदा ठाउँ अनुसारका लोकगाथाहरू पनि जोडिने हुँदा भने यसको महत्व अझ वढेको छ ।

देउसीभैलो खेल्ने समूहमा एक जना भट्याउने हुन्छ र अरुले देउसी वा भैली रे भन्छन् । ठाउँ अनुसार खैंजडी, मुजुरा, मादल जस्ता बाजाको प्रयोग पनि गरिन्छ । भैलिनीहरू सुरुवातमै भैली खेल्न आएको घरबेटीको घरको मनमोहक दीपावली सहितको लक्ष्मीपूजाको वर्णन गर्दै भैलो शुरु गर्दछन् । श्रद्धाले दिएको चामल, भेटी, सेलरोटी फलफूल आदि ग्रहण गर्दै भैलिनीहरू घरभेटीलाई आशिर्वाद दिन्छन् । भैलिनीहरूले दिएको आशिर्वाद लाग्छ भन्ने धार्मिक मान्यता छ ।

यसैगरि देउसी खेल्दा पनि पुरुषहरु परम्परागत भेषभूषा दौरा सुरुवाल लगाएर स्वरमा स्वर मिलाउँदै खेल्ने गर्दछन् । देउसी खेल्दा भजनबालन गाउँदै रामायण, महाभारत र पौराणिक प्रसंगहरू पनि जोड्ने गरिन्छ ।

तिहारमा खेलिने देउसी र भैलीको आफ्नै महत्व र मान्यता भएपनि हिजो आज यी संस्कृतिमा विकृति भित्रन थालेका छन् । पटाका , भुँईंचम्पा पड्काउँदै आधुनिक ड्रमसेटहरुको तालमा रक्सि खाएर होहल्ला गर्ने र यसैलाई देउसी खेलेको भन्नेहरुको जमात पनि समाजमा वढेको छ । खासमा यो देउसी हुँदै होइन । कतै भने सामुहिक रुपमा देउसीभैलो खेलेर सामाजिक कामहरु गरेको पनि सुनिन्छ । बरु यो भने राम्रो काम हो । देउसी र भैलीलाई यीनीहरुको महत्व झल्किने गरि गाउन सके तिहारको महत्व पहिलेको जतिनै हुने अन्यथा विकृती भित्रिएर आगामी दिनमा अझ समस्या निम्तीने पनि हुन सक्छ । यसर्थ देउसी भैलोलाई भावि सन्ततीले पनि मौलिकता जोगाउन सक्ने गरि मनाउनु अहिलेको आवश्यकता हो ।