#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1097936652277043311476125449
नेपाल145193191685320

ब्लग: ‘ऊ पुरुष हो, उसलाई पिट्ने अधिकार छ, म महिला हुँ सहने मेरो कर्तव्य हो’

  • एकल प्रवाशी ।

एक जना फेसबुकमा चिने जानेका निकै फरासिला भाइ छन् । कहिलेकाहीँ काम पर्दा दिदी भनेर बोलाउँछन् । छोटो कुराकानी पनि गर्छन् । हिजो तिनै भाइले यौटा अचम्मको प्रश्न सोधे ।  तपाइँले सिन्दूर किन लगाउनुहुन्न ? हठात् च्याट रुममा आएको प्रश्नले म अचम्मित भएँ । ती भाइ त्यहीँ रोकिने छाँटकाँट देखिएन । उनले अर्को प्रश्न सोधे, ‘तपाइँको घरबार बिग्रेको हो’? उनको पछिल्लो प्रश्नले भने मलाइ केही दुःखी बनायो, उनलाई जवाफ दिइरहन मसँग त्यस्तो केही शब्द थिएन । मैले उनीसँगको च्याट बन्द गरेँ । अफलाइन भएँ र आफैंसँग केही प्रश्न गर्दै त्यसको जवाफ बुझ्ने कोसिस गरेँ ।

घर बिग्रनु भनेको के हो: समाजले यौटा परिभाषा स्थापित गरेको छ । यदि विवाह पछाडि तपाईं सधवा अवस्थामै रहँदा एकल हुनुभयो भने त्यो घरबार बिग्रेको ठहरिन्छ । विधवा भएर एकल हुनु भाग्यको दोष हुन्छ तर सधवा रहँदै एकल हुनु या लोग्नेसँग सम्बन्ध विच्छेद गरेर एकल हुनु भनेको ‘घरबार बिग्रनु’ हो हाम्रो समाजको नजरमा ।

“ए..! त्यसले त घरबार बिगार्‍यो” भनेर पुरुष प्रति खासै टिप्पणी गरिँदैन तर ‘त्यसले आफ्नो घरबार बिगारी’ भनेर महिलालाई सजिलै लान्छित गरिन्छ । बरु ‘घरबार जोगाउन सकेन’ भनेर पुरुषलाई सहानुभूति दिने चलन छ । ‘आइमाई ठिक नपरेर तेरो घरबार बिग्रेको हो, अर्को बिहे गर नयाँ घरबार राम्रो हुन्छ’ भनेर ढाडस दिइन्छ पुरुषलाई र महिलालाई त्यो घरबार बिग्रनुको मुख्य कारक तत्त्व मानेर बहिष्कार गरिन्छ ।

कसरी बिग्रन्छ घर: हामीले सहर या आधुनिक परिवारको सामाजिक सञ्जाल या सिनेमा हेरेर महिला अधिकार स्थापित भैसकेको र समाजमा महिलाले बराबरी स्थान प्राप्त गरिसकेको भ्रममा पर्नु हुँदैन ।  दूर दराजका गाउँ र दुर्गममा अहिले पनि महिलाले बोल्ने अधिकार अझै पाएका छैनन् । बिहे पछाडि सासू ससुरा सँगसँगै बसेर खाना खाने अवस्था सृजना भएको छैन । सबैभन्दा पछि खाना खाने र सबैले छोडेको  जुठा भाँडा माझ्ने काम गर्न नसक्ने महिलाले घरबार जोगाउन गाह्रो हुन्छ अहिले पनि ।

लोग्नेले भनेको हुबहु सत्य हो भनेर मान्न नसक्ने र प्रश्न गर्ने महिलाको घरबार उसको प्रश्न गराईबाट नै बिग्रन सुरु गर्छ । “कैँची झैँ जिब्रो चलाउँछे, यसले घरबार कसरी चलाउँछे”? बस, बोल्ने महिलालाई यस्तै कुरा गरेर घरबार चलाउन नसक्ने या ‘घर गरीखान अनिच्छुक’ अन्तर्गत परिभाषित गरिन्छ । सबै  अन्याय सहन नसक्ने हो भने पनि घरबार जोगाउन सकिँदैन । ‘ ऊ पुरुष हो, उसलाई पिट्ने अधिकार छ, म महिला हुँ , त्यो सहने मेरो कर्तव्य हो’ यत्ति कुराको बोध भयो र सहन सकियो भने महिलाको घरबार कहिल्यै बिग्रँदैन ।

सहनुपर्ने पिटाइ मात्र होइन । अपमान, माइतीमाथिको लाञ्छना जस्तै तेरा माइती यस्ता उस्ता भनेको र अन्य गाली बेईज्जती सहन गरेर आँखा चिम्लेर मजदुर या दासी भएर बस्ने महिलाको घरबार बिग्रने सम्भावना न्यून हुन्छ । भलै लोग्नेले अर्की श्रीमती बिहे गरेर ल्याओस् त्यो चुपचाप सहेर बस्ने हो भने ती महिलाको घरबार फेरि पनि बिग्रँदैन ।

“लोग्नेले अर्की ल्यायो फेरी पनि यसले माइतीको इज्जत सम्झेर लोग्नेको इज्जत  जोगाएर  घरबार धानेर बसी” समाजले यसरी स्याबासी दिन्छ महिलालाई । त्यति बेला बल्ल सराहना हुन्छ ती महिलाको सहनसिलाताको तर के त्यसरी पनि घरबार जोगाउनु आवश्यक हुन्छ त ? के त्यो बेलामा पनि घरबार बिगारेर एकल भएमा महिलाको इज्जत घट्नु पर्ने हुन्छ त?

सिन्दूरको एलर्जी किन हुन्छ: मैले ती भाइलाई च्याटमा ‘मलाइ रङ्गसँग एलर्जी छ, त्यसैले सिन्दूर लगाउँदिन’ भनेर जवाफ दिएकी थिएँ ।  सिन्दूरलाई आफ्नो जिन्दगीको रक्षा कवच मानेर त्यही सिन्दूरको मातहतमा ‘मारे पाप र पाले पुण्य’ को आश्वासनमा यौटी महिलाले कसैमाथि जीवन समर्पित गरेकी हुन्छिन् । यसले मलाइ सिन्दूर लगायो भनेपछि अब मेरो रक्षा गर्ने दायित्व यसको हो भनेर सम्पूर्ण रूपमा समर्पित भएकी महिलामाथि त्यही सिन्दूर दाता नै भक्षक भएर निस्कन्छ भने ‘सिन्दूरको एलर्जी’ सुरु हुने रहेछ ।

मैले मेरो घर राम्रो बनाएँ कि बिगारेँ: सुत्केरी हुँदा भोको पेट बस्नुपरेको पीडालाई ती आमाका आँशुले त बयान गर्न सक्लान् तर त्यो पीडालाई शब्दमा बयान गर्न सकिँदैन रहेछ । सुत्केरी हुँदा आफूमाथि भएको कुटपिट अरूलाई सुनाए ‘लोग्नेको इज्जत जान्छ’ भन्ने मानसिकता लिएर आफूमाथिको अन्यायको विरोध त झन् कसरी गर्न सकिएला र ?

हो मेरो घरबार मैले जोगाउन सकिन तर त्यसरी घरबार भत्कनुमा मेरो दोष कति थियो यो समाजले त्यो हेर्दैन । एकातिर सन्तानको प्राणको रक्षा अर्कोतिर आफ्नै अस्तित्वको खोजी त्यो भन्दा पनि ठूलो कुरा आर्थिक रूपमा अभावग्रस्त भएको आफ्नै लोग्नेलाई सहयोग गरेर आफ्नै परिवारको हैसियतमाथि उठाउने सपना देख्नु कुन अपराध थियो र म माथि सौता हालियो ? मैले मनमनै आफैंलाई सोध्ने गरेको प्रश्न हो यो । उता लोग्नेले अर्को बिहे गर्छ, त्यसको दोष पनि महिलामाथि थोपर्छ समाजले । ‘जेठीबाट घरबार भएन, त्यसैले कान्छी ल्याउन पर्‍यो’ ।

मलाइ आशा थियो की अब म विदेश गएर पैसा कमाएपछि ‘हाम्रो’ परिवारको आर्थिक अवस्थामा सुधार आउनेछ ।  सुखका दिन सुरु हुनेछन् ।  हो यस्तै केही सोचेर म काखका नाबालक सन्तानहरूलाई निर्ममता पूर्वक भुईंमा राखेर परदेश हिँडेकी थिएँ ।

मैले घर छोड्नु पर्दा चिरिएको मेरो छातीमा मलहम लगाउनुको साटो नुन चुक छर्‍यो परिवारले र त्यसलाई मान्यता दियो समाजले । त्यो पीडा कुन शब्दले बयान गर्न मिल्छ र ? मैले घर छोड्दा कहालिएर रोएका मेरा सन्तान र बाह्र पन्ध्र वर्षसम्म आमाको काखबाट अलग्गिएका सन्तानको पीडा कसले बुझ्छ र ? या त आमाको किलकिलेमा या सन्तानको फुट्न नसकेको भक्कानो मै त भेटिन्छन् ती दुखाइहरू ।  समाजको कुरा त के भो र प्रश्न गर्‍यो, सकियो ।

असङ्ख्य अभावहरूबाट सन्तान जोगाउन जस्तोसुकै दुःख गर्नु परे पनि या मर्नै परे पनि आमासँग अरू विकल्प नहुने रहेछ ।  सन्तानको पेट भर्न यौटी आमाले गर्नुपर्ने कर्तव्य मैले निर्वाह गरेँ तर मेरो त्यही कर्तव्यको बदलामा मेरा पुरुषले अर्की महिलाको सिउँदोमा सिन्दूर भरे । कारण यत्ति थियो, अनि मैले मेरो घरबार बिगारेँ, मैले सम्बन्ध विच्छेद गरेँ, हो त्यही दिनबाट मलाइ सिन्दूरसँग एलर्जी हुन थालेको हो  ।

अन्तिममा: समाजले एकल महिला लाई हेर्ने नजर  र चासो त्यो प्रश्नमा प्रस्ट दृष्टिगोचर भइरहेको  थियो मलाइ । त्यो यौटा प्रतिनिधि प्रश्न मात्र थियो यस्ता कैंयौं सवालहरू उठिरहेका हुन्छन् दैनिक जीवनमा । ए त्यो त डिभोर्सी हो या ए त्यसलाई त लोग्नेले छोडेको हो इत्यादि चर्चाहरू पिठ पछाडि नचल्ने होइनन् । कसले कहाँ किन कुन प्रसङ्गमा त्यस्तो चर्चा चलायो र कुनै महिलाको निजत्वलाई कसरी हाँसोको विषय बनाइयो भन्ने थाहा भइरहन्छ तर पनि समाजको मानसिकता बुझेर त्यस्तो कुरालाई सामान्य रूपमा ग्रहण गर्न बानी परिसकेँ म।

सम्बन्धित समाचारहरु

ताजा समाचार