#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1173100854000845679706623030
नेपाल159643591186811

‘कृषिमा गरिएको लगानी प्रतिफल आउने ग्यारेन्टी भए बैंकहरु कर्जा दिन तयार छन्’ : अनिलकेशरी शाह

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले कृषि क्षेत्रमा लगानी गर्न सरकारले नै स्पष्ट मोडालिटी बनाउनु पर्ने बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । तर लगानी गर्न स्पष्ट नीतिको अभावका कारण यसक्षेत्रमा प्रशस्त लगानी हुन नसकेको प्रमुख कार्यकारी अधिकृत शाहको भनाइ छ । ‘कृषि क्षेत्रमा लगानी गर्न उन्नत जातका बीउ बिजन, मल, सिचाईको व्यवस्था, तालिम तथा कृषि कर्मका लागि आश्यक पूर्वाधार चाहिन्छ ।’ प्रमुख कार्यकारी अधिकृत शाहले केन्द्रबिन्दुसँगको कुराकानीमा भने ।

यसै विषयमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहसँग गरिएको कुराकानीको सम्पादित अंश :

कोरोनाले बैंकिङ क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?

यो लकडाउन अवधिभर अधिकांशले कुनै न कुनै माध्यमबाट बित्तीयसेवा प्रदान गर्नु भएको छ । लकडाउन सुरु भएदेखि आजसम्म एकदिन पनि बैंक, बित्तीय संस्थाहरु बन्द भएको छैन । हामी पनि आएर सेवा प्रदान गरिरहेका छौं । त्यति मात्र नभई हामी डिजिटल प्रणालीमा जाउँ भनेर प्रोत्साहन गरिरहेका छौं तर, होइन म शाखामै आउँछु भन्नेहरुका लागि पनि शाखा खोलिनै रहेका छौं । त्यसैकारण सर्वसाधारणहरुले बैंक नखोलेर पैसा निकाल्न नपाएर भोकै बस्नु प¥यो भन्ने स्थिति आएको छैन । बित्तीय सेवा पनि अरु जस्तै बन्द भएर बसेको भए आज के हालत हुन्थ्यो होला । अर्कोतिर कर्जा लिने ग्राहकहरु चाहे त्यो ठुलो लिने होस् या सानो उहाँहरुलाई एकदमै गाह्रो भएको छ । अहिले हामी नेपाल सरकारले दिएको मुलमन्त्रका साथ अघि बढिरहेका छौं । त्यो मुलमन्त्र हो ‘तपाईंहरु पनि बच्नुहोस्, र तपाईंहरुको ग्राहकहरुलाई पनि बचाउँनुहोस्’ किनभने अहिलेको यो विषम परिस्थितिमा बित्तीय संस्था नै बचेन भने खेल खत्तम भइहाल्यो । हामी पनि बच्नु प¥यो बच्नु् भनेको नाफामुखी भएर अहिले नै नाफा चाहियो भन्ने होइन तर हामी बच्नलाई हाम्रो ग्राहक पनि बच्नु प¥यो । किनकी यो भूकम्प जस्तो होइन, तराई आन्दोलन जस्तो होइन,र जनआन्दोलन पनि होइन यो एउटा अदृष्य भाइरस हो यसले एउटा शहर, एउटा देश मात्र होइन पूरै विश्व नै प्रभावित भएको छ । धेरै गाह्रो छ अहिले अर्थतन्त्रमा ।

चैत्र मसान्तमा बैंकको नाफा विवरण आउँदा पनि नाफा घटेरै आएको छ, खराब कर्जा पनि केही बैंकको बढेकै थियो । अब यो चौथो त्रैमासमा आउँदा यसको असर झनै देखिएला नि ?

लकडाउन भएको केही दिनमै नेपाल राष्ट्र बैंकले एउटा कार्यविधि निकालेको थियो । जसमा ब्याज नलिने, किस्तालाई पुनः तालिका बनाउने र त्यसको केहीपछि २ प्रतिशत ब्याज सबैको घटाइदिने भनेर आएको थियो । तर आजसम्म राहत दिने अग्रस्थानमा बित्तीय क्षेत्र आउँछ होला । हामीले सयौं करोडौं राहत दिइसकेका छौं हाम्रो ग्राहकहरुलाई यतिले पुग्दैन तर सुरुवात राम्रो भएको छ । यो ब्याज नलिनु कति गाह्रो हुने रहेछ भनेर अहिले नेपाल सरकारलाई सर्वोच्च अदालतले कर नउठाउँनु भन्दा कति गाह्रो भएको छ नेपाल सरकारलाई । कर नउँठाउनु भनेको हामीले ब्याज नलिनु एउटै कुरा जस्तो हो । त्यसैले क वर्ग मात्र होइन, ख वर्ग, ग वर्गको बित्तीय क्षेत्र पनि एकदमै मजबुद छ । हामी आफू पनि बाँच्न सक्छौं र ग्राहकलाई पनि बचाउँन सक्छौं । हो अहिले पूरा अर्थतन्त्र बिरामी भएको छ । देश बिरामी भएको छ, त्यसैले बैंकमा नाफा घटेछ भनेर आत्तिनु पर्ने आवश्यकता छैन । आउने दिनमा हामी यसलाई पार गर्न सक्छौं । यसको लागि नेपाल सरकार, बित्तिय क्षेत्र, निजी क्षेत्रहरुको रणनिती एउटै हुनुपर्छ ।

समय थप भएको छ तर बैंकले पटक पटक व्यवसायीहरुलाई फोन गरेर किस्ता तिर्न आउनुहोस् भन्ने कुराहरु पनि बाहिर आएको छ, के हो वास्तविकता ?

हामी मिलेर अगाडी बढ्नु पर्छ । जस्तै मैले कर्जा लिएको छु , किस्तामा केही दिनु पर्छ, समय थपियो भन्दैमा मैले नतिरी बसें भने ३,४, ५ किस्ता एकैचोटी तिर्न सक्दिन । कति जनाले तिर्न सक्छन् उनीहरुको व्यवसाय चलिरहेको छ । तलब आइरहेको छ भने तिरिदिनुहोस् भनेर अनुरोध गरेका हौं । नतिरे हामी ब्ल्याकमेल गर्छौ भनेर कुनै पनि बित्तीय क्षेत्रले भनेको छैन । अहिले गाह्रो सबै जनालाई भएको छ । यो कुरा हामी बित्तीय क्षेत्रले पनि बुझेका छौं । पछि गएर पनि तिर्नै पर्छ , ब्याजमा अलिकति सहुलियत पाउँनु होला तर तिर्न त पर्छ नै । अहिले व्यवसाय राम्रो चलिरहेको छ भने किन नतिर्ने भनेर मात्र भनेको हो । बैंक र ग्राहक नङ र मासु जस्तै हो भने पूरा शरीर भनेको नेपाल सरकार र अर्थतन्त्र हो । सबै मिलेर गयौं भने हामी यहाँबाट निस्किन सक्छौं । ठमेलमा भाडा तिर्न नसकेर सय वटा पसलहरु बन्द गरे । उनीहरुले बैंकबाट कर्जा लिएको हो भने २ प्रतिशत छुटले केही फाइदा गरेन । तर भाडामा छुट पाउनु भएको भए व्यवसाय चलिनै रहन्थ्यो । बैंकको राहतले सबै रोग निको हुन्छ भन्ने हुदैन ।

केही समयमा नयाँ कर्जा पनि विस्तार हुने तयारीमा छ, के छ यसको अवस्था ?

लकडाउनको सुरुवातमा बैंकहरु पनि बन्द हुने सोचले पैसा जम्मा गर्ने ग्राहकहरुको बिद्रोह धेरै देखिएको थियो । किनभने सबै जना तर्सिएका थिए । तर त्यसपछि शाखा, एटीएम, खुलेको देखेपछि डिपोजिट गर्नेहरुको संख्या बढेको बढ्दै छ । कामहरु नभएकोले कर्जाको त कुरै भएको छैन । अलिकति सामान्य स्थिति भइसकेपछि नयाँ व्यवसायीहरुका लागि धेरै अवसरहरु छन् । अनलाइन, डेलिभरी, सपिङ व्यवसायहरु आउँन सक्छ । तर यसको लागि गुरु योजना चाहिन्छ । पशुपतिनाथले हामी सबै माथि कल्याण गरेकै छन् तर अबका आउने दिनहरु पनि पशुपतिनाथले नै मार्गदर्शन गर्छ भनेर बस्यौं भने चाहीं गाह्रो होला । पशुपतिमा आरती र पूजा त गरिरहनु पर्छ तर हामीले आफ्नो बुद्धि र पसिना पनि बगाउनुपर्छ ।

सरकारले कृषि क्षेत्रलाई बढि प्राथमिकतामा राखेको छ, यसमा बैंकहरुले लगानी गर्नका लागि कस्तो योजनाहरु बनाएका छन् ?

कृषिमा सबैभन्दा महत्वपूर्ण एउटा चीज हाम्रो कृषि उत्पादन कम थियो । किन भने त्यो माटोमा आफैं उत्पन्न हुदैन किसान चाहिन्छ । हाम्रो किसान कतार, साउदी, कुवेत, मलेसिया, कोरिया र जापानमा पुगेका छन् । गाउँमा बुढाबुढी र स्कुल जाने बच्चाबच्चीहरु मात्र छन् । हामीले त्यहाँ गएर पैसा छरेर मकै, धान, गहुँ उत्पादन हुदैँन । अब जनशक्ति फर्किरहेका छन् । उहाँहरुलाई त्यहाँ गएर किसान बन्नुहोस् भनेपछि, उहाँहरुले अनि म किसान बनेर परिवार कसरी पाल्ने, बालबच्चा कसरी पढाउँने ? उत्पादन गरेको एकछाक मेरो परिवारले मात्र खान पाउने हो भने म फेरी फिर्ता जानु पर्छ । तर उत्पादन गरेको चीजहरु बजार सम्म पु¥याएर बेचेर ३ छाक खाने मात्र नभएर बच्चा राम्रो स्कुलमा जानुप¥यो, बिरामी हुँदा राम्रो उपचार गर्न सक्ने क्षमता बन्छ भने किन किसान नबन्ने ? तर त्यो काम बैंकले कर्जा दिएर मात्र हुँदैन । हामी कर्जा दिन्छौं, किसानलाई राम्रो वीउ, मल, पानी चाहियो । त्यसपछि उत्पादन भएको चीजको बजार मूल्य निर्धारण प्रणाली हुदैन तबसम्म बैंकले कर्जा दिएर किसान हुन्छ भन्ने भ्रममा नपर्नुहोस् । नेपाल कृषि प्रधान देश हो भन्नलाई मात्र सजिलो छ । त्यसैले मेरो पहिलो दायित्व डिपोजिट गर्ने प्रति छ । डिपोजरले पसिना बगाएर विश्वास गरेर बुद्धि लगाएर पैसा मेरो बैंकमा राख्नु भएको छ भने उहाँहरुको साँवा र ब्याज सुरक्षित राख्ने दायित्व मलाई छ त्यो दायित्वपूर्ण नभइञ्जेलसम्म म पैसा काँही पनि दिने वाला छैन ।

यिनै कारणले गर्दा हो बैंकले १० प्रतिशत कृषिमा लगानी गर्नुपर्छ भन्ने सीमा छ त्यो सीमा पु¥याउन पनि गाह्रो भएको ?

बैंकले गएर हामी किसान बनेर कुनै फार्म खोलेर गर्दैनौं । नेपाली जनता नै आएर म किसान बन्छु भन्नु प¥यो नि पहिला । नेपालमा उत्पादन भएका स्याउ सुन्तलाहरुलाई बिदेश पठाउन सकौं न विदेशबाट डलर यूरो ल्याउन त्यसपछि किसानले डलर खाता खोलोस् न अनि त्यसपछि नेपाली किसान हुनलाई उत्सुक हुन्छन् । बच्चाहरु पनि डाक्टर, बैंकर होइन म किसान हुन्छु । किसान भयो भने हाम्रो भविष्य उज्वल हुन्छ । किनभने जति देश बनाउँ, समाजलाई कल्याण गरौं भने पनि सर्वप्रथम सबैजनाले मेरो कल्याण कसरी हुन्छ, मेरो परिवारको कल्याण कसरी हुन्छ भनेर हेर्छ । ठुलठुला कुरा गरेपनि अन्त्यमा मेरो कल्याण हुनुप¥यो । सबैको कल्याण भयो भने नेपालको कल्याण हुन्छ । हाम्रो भविष्य कृषि र पर्यटनमा छ । तर कृषिमा कुन ठाउँमा के उत्पादन गर्न सकिन्छ उत्पादन भएका चीजहरुलाई कसरी बाहिर लान सक्ने भन्ने विज्ञहरुको रणनिति बनाउने समय आएको छ ।

सरकारले ९ प्रकारका सहुलियत कर्जाहरु ल्याएको छ, त्यसमा कृषि कर्जा पनि पर्छ । तल्लोस्तरका किसान जोसँग खेती गर्नका लागि प्रशस्त मात्रामा जमिन छैन, उनीहरुले त उत्पादन नै गर्न नपाउने भयो । उनीहरुलाई लक्षित गरेर ल्याएको हो ?

लक्षित गरेर ल्याउँदा गृहकार्य पनि त भयो होला । उहाँलाई कर्जा दियौं । उहाँले उत्पादन गर्नु भयो केही पनि बेच्नु भएन, आफैले मात्र खानु भयो अनि कर्जा तिर्ने स्थिति भएन भने अनि हामीले त्यो सानो जग्गा पनि लिलाम गर्ने त ? त्यो बिचार गरेर त पक्कै पनि यो रणनिति ल्याउनु भएको होइन होला । कर्जा लिएर गाउँमा जाँदा बिउ, मल, पानी छैन भने के गर्नु हुन्छ उहाँले दुरुपयोग गर्नुहुन्छ । वीउ किनेर बाउबाजेले जे गर्नु भयो त्यही गर्नु भयो रे , बाउबाजेले गरेको एकदम राम्रो थियो भने उहाँ खाडी क्षेत्रमा काम गर्न जानुपर्ने अवस्थै आउदैन थियो होला । त्यसैले म स्पष्ट भन्छु बैंक कर्जा दिन तयार छ । तर मेरो कर्जा फिर्ता आउनु प¥यो । ब्याजदरमा हामी एकदम सहुलियतमा दिन्छौं । किन की हामीले पनि कृषि क्षेत्रमा सम्भावना देखेका छौं । तर यो बैंकको कर्जाले मात्र रोकिएको होइन ।

सहुलियत कर्जाको रणनिति र कार्यविधि बनाइरहँदा सरकारले तपाईंहरुसँग पनि त छलफल त ग¥यो होला नि ? कर्जा दिने त बैंकले हो ?

त्यो छलफलमा अलिकति कमी भएको जस्तो लाग्छ मलाई तर ठिकै छ आउने दिनहरुमा गर्नु नै हुन्छ होला । राम्रो छलफल भएको भएदेखि धेरै ऋण गइसक्थ्यो, जस्तो लाग्छ । नेपाल सरकार ल्याएको योजना जस्तै शैक्षिक कर्जा छ । म ऋण दिन तयार छु । शैक्षिकताको प्रमाणपत्र र नागरिकता राख्छु ऋण दिन्छु । ऋण तिर्नु भयो भने ऋण बढाएर पनि दिन्छु तर तिरेन भने के गर्ने ? धितो केही पनि छैन म सँग त?

बैंकङ क्षेत्रले नयाँ कति रोजगारी सिर्जना गर्न सक्छ होला ?

हामीले गर्नै सक्दैनौं किनभने हामी २७ वटा बैंक छौं । शाखा खोलेका छौं, आफैले । तर हाम्रो माध्यमबाट धेरै रोजगारीहरु सिर्जना गर्न सक्छ । त्यो रोजगारी सिर्जना गर्ने वातावरण हामी सबैजना मिलेर बनाउनु्पर्छ । नेपाल सरकार एक्लैले पनि गर्न सक्दैन, निजि क्षेत्रले पनि सक्दैन तर हामी सबै जना मिल्यो भने नसक्ने भन्ने केही छैन । बैंकले हाइड्रो, होटल, कुषि व्यवसाय, रेष्टुरेन्ट खोल्दैन तर गर्ने व्यवसायहरुलाई हामीलाई पूँजी दिएर प्रोत्साहन गर्छौ । हाम्रो काम त्यही हो हामी गर्न तयार छौं । हामी बित्तीय क्षेत्रका लागि डर भइसकेको छ कि ढिलो भयौं कि भनेर ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक निति तयार गरिरहेको छ, बैंकहरुले सुझाव पनि पठाइसक्नु भएको छ । त्यसमा राष्ट्र बैंकले मौद्रिक नितिमा अटाउन सक्ने खालका सुझावहरु के के हुन् ?

बजेटले पुरै अर्थतन्त्रलाई प्रभाव गर्ने हो भने, मौद्रिक नितिले बित्तीय क्षेत्रको माध्यमबाट बजेटलाई सहयोग गर्ने हो । हामीले पुनर्कर्जाहरुमा लिने माध्यमहरु र संख्याहरु कसरी बढाउने भन्ने हो । अर्को नयाँ चिज भनेको डिजिटललाई प्रोत्साहन गर्ने । त्यतातिर हामी सबैको ध्यान जान प¥यो । किन भने रोग ठिक गर्ने एकातिर भयो, रोग ठिक भइसकेपछि के गर्ने भन्ने तिर पनि ध्यान दिनु पर्छ । मौद्रिक नितिमा बित्तीय क्षेत्रले खोजेको सबै चीज हुदैन । म त सकारात्मक नै छु । मेरो बिचारमा यो वर्षको मौद्रिक निति स्थिरतामा केन्द्रित हुनुपर्छ । अहिले चाहिने नै हामीलाई त्यही हो । मान्छेको विश्वास कायम होस् ।

सुझावमा बैंकको बिमाका कुराहरु पनि उठाउनु भएको छ के बैंकलाई बीमा चाहिए कै हो ?

बैंकलाई चाहिएको होईन, नेपाललाई चाहिएको हो । नेपालीहरुमाझ बीमा कसरी पु¥याउने । मापदण्डहरु ल्याउनुहोस् बैंक बीमा फेरी आयो भने राम्रै होला । अहिलेको स्थितिमा झनै बीमा कसरी बढाउने भन्नेतिर लाग्दा राम्रो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार