#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18956836710053610481612141967
नेपाल2139060617415156

कृषि उत्पादन वृद्धि गरेर कोरोनाको असर कम गर्न सकिन्छः प्रधानमन्त्री

file photo

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड १९– का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज दिएको सन्देशमा सदुपयोगको सिद्धान्त अनुसार जमिन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिने गरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन वृद्धिमा केन्द्रित हुनु जरुरी भएको उल्लेख गरेका हुन् । “यसका निम्ति सबै ठाउँमा धान बाली नै लगाउनुपर्छ भन्ने छैन, धान लगाएर बढी प्रतिफल लिन सकिने ठाउँमा धान लगाउने र अरु प्रकारका जमिनमा अन्य जुनसुकै बाली लगाए पनि हुन्छ, तर त्यस बालीले अधिक उत्पादन भने दिनै पर्छ,” सन्देशमा भनिएको छ ।

उनले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने उद्घोषका साथ मनाइएको धान दिवसमा कृषिमा आधारित यस प्रतिकात्मक दिवसको आयोजनाले धान उत्पादनमा वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरतातर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूति गर्नु लोककल्याणकारी राज्यको दायित्व हो र सोही अनुरुप हाम्रो संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको जानकारी दिँदै यस हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ जारी भइसकेको उल्लेख गरे ।

उक्त ऐनले हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभूतालाई कानूनी अधिकारका रुपमा स्थापित गरेको र भोकमरीको अन्त्य गर्ने लगायत दिगो विकासका लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य र पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धता पनि सुस्पष्ट रहेको पनि उनले जानकारी दिए ।

“परापूर्वकालदेखिनै नेपाली समाजमा धानको आर्थिक, सामाजिक र साँस्कृतिक महत्व रहँदै आएको पाइन्छ । अधिकांश नेपालीको आधारभूत खाद्यवस्तुको स्रोतका रुपमा रहेको धानको खाद्य सुरक्षाको दृष्टिले रणनीतिक महत्व रहेको छ । राष्ट्रिय अर्थतन्त्रमासमेत धानको महत्वपूर्ण योगदान रहि आएको छ,” प्रधानमन्त्री ओलीले भने “त्यसैगरी हाम्रो जीवन चक्रका सोह्र संस्कारमा धान, चामल र यसबाट बन्ने परिकारहरुको प्रयोग र प्रचलनको निकै लामो र समृद्ध परम्परा रहि आएको छ । यसरी हाम्रो जीवन पद्दतिसँग धानको घनिष्ठ सम्बन्ध कायम रहेको स्पष्ट छ ।”

सन्देशमा पछिल्ला केही वर्षहरुमा जनसङ्ख्या वृद्धिको साथै जनताको आर्थिक अवस्थामा सुधार आई दुवै छाक भात खाने प्रचलन र मसिनो चामलको उपभोगमा भएको वृद्धिलेसमेत धान चामलको मागमा तीव्र वृद्धि हुँदै आएको तर माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको उल्लेख छ ।

संविधानले कृषि तथा खाद्य सुरक्षा सम्बन्धी विषयमा प्रदेश सरकार र स्थानीय तहलाई बढी जिम्मेवार बनाएको सन्दर्भमा नेपाल सरकारले लिएका नीतिहरुको सफल कार्यान्वयनका लागि सहकार्य गर्दै अघि बढ्न उनले प्रदेश सरकार र स्थानीय तहहरुलाई आह्वान गरेका छन्।

कृषि क्षेत्रको विकास र वृद्धि नै हालका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार भएको उल्लेख गर्दै सन्देशमा उनले त्यसका लागि कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र मेशिनीकरण आवश्यक भएकामा जोड दिएका छन् ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार