#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1343507558007250260897828914
नेपाल1706138669510328

खुमलटारमा यसरी मनाइयो धान दिवस (भिडियोसहित)

काठमाडौं ।

आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइदैछ । ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रममा उपस्थित भएका राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतीको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझैपनि बन्न नसकेको बताए । उनले अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातहरुको रोपाईं भइरहेको बताए । उनले कृषि अनुसन्धान र किसानको बीचमा ठूलो खाडल रहेकाले उन्नत जातको बीउ किसानले पाउन नसकेको उनले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले कृषिमा अनुदानको मोडालिटी परिवर्तन गरी बैंकबाट ५ प्रतिशत ब्याजमा ऋण पाउने, मल तथा बीउमा अनुदान दिने व्यवस्था गरिएको बताए । उनले जोखिम न्यूनीकरणका लागि बाली तथा पशुपन्छी बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिइएको बताए । उनले कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि कृषि उत्पादनमा लाग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खेतमै पुगेर कार्यक्रम गरिनु उचित भएको बताए ।

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक दिपक भण्डारीले नेपालमा विकास भएका धानको बीउको प्रयोग बढाउनु पर्ने बताए । नेपालमा हर्दिनाथ हाइब्रिड एक र हर्दिनाथ हाइब्रिड तीन जातको धान विकास भइसकेकाले यसको प्रयोग बढाउनु पर्ने बताए । उनले परम्परागत रुपमा धान दिवस मनाउँदै आएको र यसले किसानहरुको आत्मबल बढाउने बताए ।

नेपाल कृषि अनुसन्धान परिषद, बाली तथा बागवानीका निर्देशक हरिकृष्ण उप्रेतीले यस वर्ष असार १५ सम्म २२ प्रतिशत जमिनमा धान रोपाईं सम्पन्न भएको जानकारी दिए । उनले उच्च पहाडी क्षेत्रमा करिब ३५ प्रतिशत, पहाडी क्षेत्रमा २२ प्रतिशत र तराई क्षेत्रमा धान लगाउन सुरु गरिएको बताए ।

निर्देशक उप्रेतीले सलह किराबाट धानको बीउ जोगाउन निरन्तर अनुगमन गर्ने, झुल तथा छाप्रोको प्रयोग गर्ने लगायतका काम गर्न किसानहरुलाई सुझाव दिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार