#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1342075957972450157717825264
नेपाल1706138669510328

सलहबाट बाली जोगाउन कर्णालीमा पनि सतर्कता

फाइल फोटो

सुर्खेत ।

बाली नष्ट गर्ने सलह किरा नेपाल प्रवेश गरेसँगै यसको नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले सबै जिल्लाका कृषिसम्बद्व कार्यालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास निर्देशनालयका साथै जिल्लास्थित आफ्ना कार्यालयलाई सलह नियन्त्रणमा जुट्न निर्देशन दिएको हो ।

मन्त्रालयले सलह नियन्त्रणमा कुनै बेग्लै योजना नबनाए पनि यसलाई धपाउन वा नियन्त्रण गर्न कृषिसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग समन्वय भइरहेको जनाएको छ । मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डितले सलहले खेतीबालीमा ठूलो क्षति पुर्याउन सक्ने हुँदा धानको बीउ छोप्न, ठूलो आवाज आउने गरी ड्रम बजाउन सकिने बताए। “कर्णालीको सन्दर्भमा विषादी छर्कन सम्भव छैन”, उनले भने “सबैभन्दा उत्तम विकल्प नै ड्रम, थाली बजाउनु हो ।” ठूलो आवाज निकाल्दा सलहको बथान भाग्न सक्ने विज्ञहरु बताउँछन् ।

कर्णालीमा अहिलेसम्म सलह प्रवेश गरेको सूचना छैन । हावाको गतिसँगै सलह प्रवेश गर्न सक्ने मन्त्रालयको अनुमान छ । मन्त्रालयका कृषि अर्थ विज्ञ पण्डितका अनुसार सलहले एकपटकमा २०० किलोमिटर यात्रा गर्न सक्छ । सयौँको समूहमा उड्ने फट्याङ्ग्रा प्रजातिको किरा भए पनि यसले लगाएको बाली सखाप पारिदिन्छ ।

कृषि विकास निर्देशनालयले सुर्खेतमा पावर स्प्रेदेखि विषादी तथा गाडी तयारी अवस्थामा राख्ने भएको छ। किरा नियन्त्रणका लागि एग्रोभेट व्यवसायी सङ्घ सुर्खेतले विषादी तयारी अवस्थामा राख्नेछ भने निर्देशनालयको नेतृत्वमा कृषिसँग सम्बन्धित विभिन्न सङ्घसंस्था, सहकारी, कृषि फर्मले पावर स्प्रे र गाडीको व्यवस्थापन गर्नेछन् ।

एकीकृत कृषि प्रयोगशालाको समन्वयमा सुर्खेतका नौ वटै स्थानीय तहसँग समन्वय गरी किरा व्यवस्थापन सम्बन्धी माइकिङ लगायतका प्रचारप्रसारका क्रियाकलाप गरिनेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बराहताल, पञ्चपुरी र चौकुने तथा किसान–२ परियोजनाले लेकवेशी, गुर्भाकोट, पञ्चपुरी, वीरेन्द्रनगरका किसानलाई सलह धपाउन जनचेतना फैलाउनेछ । त्यस्तै कृषि अनुसन्धान केन्द्र दशरथपुरले लेकवेशी र गुर्भाकोट नगरपालिकालाई लक्षित गरी सञ्चारमाध्यममा प्राविधिक सूचना तयारी उपलब्ध गराउनेछ ।

यसैबीच पछिल्लो समय कर्णालीका पहाडी जिल्लामा फौजी किराको पनि आतङ्क छ । फौजी किराबाट सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जाजरकोटका किसान बढी पीडित बनेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्यसको नियन्त्रणका लागि रु पाँच लाख बजेट खर्च भइसकेको जनाएको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार