#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1097555952275343277726125034
नेपाल145193191685320

नेकपामा चरम कलह : नेताहरुबीच आरोप प्रत्यारोप

काठमाडौं ।

सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो ।’

प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको दुई दिन अघि अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर दाहालले भने, ‘दिल्लीले होइन, मैले मागेको हो राजीनामा ।’

‘पार्टीका नेताहरू कुण्ठा पालेर अत्यन्तै पूर्वाग्रही भएर हिँड्न थाल्नु भएको छ । सरकारलाई घेराबन्दी गर्नु, काम गर्न नदिनु पार्टी नेताहरूको पूर्वाग्रह हो’, ओलीको जवाफ थियो, ‘सरकारले के कति काम गरेको छ म फेहरिस्त राख्न सक्छु । पूर्वाग्रह राख्ने काम नेताहरूले गर्नु हुँदैन ।’

दाहाललाई वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका थिए । उनीहरूले पनि प्रधानमन्त्री ओलीले सरकार र पार्टीका दुवै नेतृत्व नैतिकताका आधारमा छोड्नु पर्ने माग राखे । दुई दिन विश्राम लिएर पार्टी बैठकमा सहभागी हुन निर्धारित समयमै मंगलबार बिहान ११ बजे स्थायी समिति सदस्यहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली भने बैठक सुरु नगरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गए । झन्डै ४५ मिनेटपछि मात्र उनी बालुवाटार फर्के । र, बैठक सुरु भयो । अघिल्ला बैठकमा भन्दा फरक नेताहरूको कुर्सी स्थायी समितिका सदस्य बसेकै मञ्चको तल्लो लहरमा झारिएको थियो ।

बैठक सुरु गर्दै अध्यक्ष दाहालले सुरुमा आफूलाई भूमिकाविहीन बनाइएको गुनासो गरे । ‘मंसिर ४ मा मलाई कार्यकारी अधिकार दिने भनेर निर्णय गरियो । त्यसपछि सचिवालय बैठक बसियो । केन्द्रीय समितिको बैठक पनि बसियो । त्यसपछि भने पार्टी ठीक ढंगले अगाडि बढ्न सकेन । बैठक नबस्ने, बैठकप्रति नै अरुचि राख्ने काम प्रधानमन्त्रीले गर्न थाल्नुभयो । यस्तो किन भइरहेको छ ? ’ उनले भने, ‘पार्टीका कामहरू अगाडि बढ्न नदिने, सरकारका कामहरू पनि स्वेच्छाचारितामा प्रधानमन्त्रीले गर्ने अवस्था मात्रै रह्यो । मलाई प्रधानमन्त्रीले भूमिकाविहीन बनाउन खोज्नुभयो ।’

एक स्थायी समिति सदस्यका अनुसार, त्यसपछि उठाए, प्रधानमन्त्री ओलीले १४ असारमा मदन भण्डारी जन्म दिवसका दिन बोलेका अभिव्यक्तिका विषय । ‘प्रधानमन्त्रीले के बोल्नुभयो, भारतले सरकार हटाउन लागेको छ । नेपालकै नेताहरू यसमा लागेका छन् । भारतले हटाउन खोजेका भन्ने कुरा गम्भीर छ । यो झुटो प्रचारबाजी मात्र हो,’ दाहालले भने, ‘हो भने यो खेलमा को–को लागेको हो ? प्रधानमन्त्रीले ती नेताहरूका विषयमा बताउनु पर्‍यो । साँच्चै त्यस्तो हो भने पार्टी एक ढिक्का भएर लड्नु पर्नेमा किन बाहिर बोल्नुभयो ? यस विषयमा प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्‍यो ।’

त्यही सन्दर्भमा उनले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । ‘अब तपाईंबाट पार्टीको नेतृत्व पनि चल्दैन, सरकार पनि चल्दैन । राजीनामा दिनुहोस् भनेर मैले वैशाख १७ गतेको सचिवालय बैठकमै भनेको हो । तपाईंले राजीनामा दिनु भएन । त्यो बेला नक्सा त आएको थिएन नि । अनि अहिले त्यस्तो कुरा गर्ने ? ’ दाहालले भने ।

अघिल्लो पालि पनि प्रधानमन्त्रीलाई भारतले नभई आफूहरूसँगको सहमति तोडेकाले हट्नु परेको दाहालको भनाइ थियो । नक्सा सार्वजनिक गर्ने काम कुनै व्यक्तिको मात्र निर्णय र आँट नभएर पार्टी बैठकको निर्देशनका आधारमा भएको दाहालको भनाइ थियो ।

दाहाल कडा रूपमा प्रस्तुत भएपछि प्रधानमन्त्रीले कडै रूपमा जवाफ दिए ।

‘घटनाहरू भएकै छन् । भारतले हस्तक्षेप गर्‍यो भन्दा टाउको दुखाउनु पर्ने किन ? होटलहरूमा चलखेलहरू भइरहेका छन् । त्यो मलाई थाहा छ । सबै कुरा किन बताइरहनु पर्‍यो’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरू र भारतीय मिडियाका शैली मिलेको छ । यहाँ तपाईंहरू गुटबन्दी गर्नुहुन्छ । उताका मिडिया प्रचण्डको नेतृत्वमा सरकारविरुद्ध मोर्चाबन्दी भनेर समाचार दिन्छन् । मैले भनिरहनु पर्दैन ।’ उनले आफूले जे जति गरेको छु, त्यो राष्ट्रकै हितका लागि गरेको बताएका थिए ।

करिब २० मिनेट मात्र बोलेका प्रधानमन्त्री ओलीले दाहालले पार्टीमा कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न नपाएको भनी गरेको गुनासोमा पनि बोले । ‘पार्टी सचिवालय बैठकले माइन्युट गरेकै छ । कार्यकारी अध्यक्ष भनिएकै छ । अनि किन मन खुम्चाउनु ?’ उनले भने, ‘एकताका काम अगाडि बढाएको भए भइहाल्थ्यो । किन रोकिनु पर्थ्यो । यसमा मैले कहिले नाइँनास्ती गरेको छु ? ’

त्यसपछि पालो आयो वरिष्ठ नेता झलनाथ खनालको । ‘यो पार्टी सम्पूर्ण नेता–कार्यकर्ता समर्थक, शुभेच्छुकले निर्माण गरेको हो । यसलाई आफ्नो बपौती कसैले पनि ठान्नु हुँदैन । जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद निर्माण गर्ने दिशामा हामी अगाडि बढेका छौं’, उनले भने, ‘यो सरकारले तीनवटा नीति तथा कार्यक्रम र बजेट ल्यायो । तर समाजवादको कुनै चरण पनि छैन । पुँजीवादको चक्करमा घुम्ने काम बाहेक केपी ओली नेतृत्वको सरकारले केही पनि गरेन ।’

उनले पार्टीमा छलफल हुने नगरेको बताए । ‘पार्टी एकताको काम अगाडि बढेर जान पाएन । बीचबीचमा रोक्नु भएको छ । अरूलाई भन्नुहुन्छ तर तपाईंले गुट सञ्चालन गर्नु भएको छ । यसरी पार्टी चल्छ ? पार्टी र सरकार दुवै चलाउन सक्नु भएन । त्यसकारण यसमा गम्भीर छलफल गरेर यही बैठकबाट निर्णय लिनुपर्छ । प्रधानमन्त्रीको कुर्सीमा बसेर अन्तर्राष्ट्रिय सम्बन्ध जटिल बनाउने दिशामा नजानुहोस्’, उनले भने । खनालले पार्टीले स्पष्ट शैलीमा प्रधानमन्त्रीलाई हटाउने भन्यो भने तानाशाह जसरी बस्न कसैले पनि नसक्ने बताए ।अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार