#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1097555952275343277726125034
नेपाल145193191685320

नागरिकता संशोधन विधेयक फिर्ता लिन काँग्रेसको माग, बैठक आज पनि बस्ने

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकका केही व्यवस्था संविधानको मर्मविपरीत रहेको तर्क गर्दै फिर्ता लिन माग गरेको छ ।

मङ्गलबार अबेर रातिसम्म चलेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सोही अनुसार संसदमा प्रस्तुत हुन पार्टीको सङ्घीय संसदीय दललाई निर्देशसमेत गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्थाविपरीत र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यता विपरीत रहेको निष्कर्ष निकालेको छ ।

यस्तो संशोधनका कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलतासमेत सिर्जना हुन सक्ने प्रबल सम्भावना रहने काँग्रेसको तर्क छ । यस सम्बन्धमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पार्टीको तर्फबाट काँग्रेसका सांसदहरुले फरक मत राखिसकेका छन् ।

बैठकले दाङको शान्तिनगर गाउँपालिका–२ का काँग्रेसका तर्फबाट निर्वाचित अध्यक्ष फर्साराम डाँगीलाई मङ्गलबार उनकै कार्यकक्षमा हतियारधारी समूह प्रवेश गरी मरणासन्न हुने गरी कुटपिट गरेको घटनाको भत्र्सना गरेको छ । उक्त घटनामा संलग्न व्यक्तिहरुको तुरुन्त खोजी गरी हदैसम्मको कानूनी कारवाही गर्न र गम्भीर घाइते भएका डाँगीको उचित उपचारको प्रबन्ध गर्न काँग्रेसले सरकारसँग माग गरेको छ ।

काँग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य मीना पाण्डे र संविधानसभाका पूर्वसदस्य ज्ञानकुमारी छन्त्याल गम्भीर अस्वस्थ भई उपचारार्थ रहेकामा उनीहरु दुवैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका बारेमा छलफल जारी छ । केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्दैछ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार