बाँकेको नरैनापुरका फरार सङ्क्रमित फेला

बाँकेको नरैनापुरका फरार सङ्क्रमित फेला


बाँके ।

बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक सङ्क्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टाइनमा रहेका १२ सङ्क्रमितमध्ये कोरोना पुष्टि भएसँगै गए राति फरार भएका एक जनालाई बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

सङ्क्रमित पुष्टि भएपछि आइसोलेशन केन्द्रमा व्यवस्थापनका लागि नेपालगञ्जबाट एम्बुलेन्ससहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली नरैनापुर पुग्दा स्थानीयवासीले अवरोध गरेपछि शुक्रबार पुष्टि भएका सङ्क्रमित क्वारेन्टाइनबाट बाहिर निस्किएका थिए । बाह्र सङ्क्रमितलाई गए राति करीब १२ बजे नेपालगञ्ज ल्याएर फरार सङ्क्रमित खोज्न खटिएको सुरक्षा टोलीले गाउँमै लुकेर बसेका अवस्थामा उनलाई बिहान फेला पारेको प्रहरी उपरीक्षक वलीले बताए ।

उनले स्थानीयवासी र अन्य सरोकार भएकाहरुले असहयोग गर्दा नरैनापुरबाट सङ्क्रमितलाई ल्याउन पटकपटक अवरोध देखिए पनि आफूहरुले धैर्यपूर्वक काम गरिरहेको बताए । नरैनापुरको अर्को विद्यालयमा रहेका क्वारेन्टाइनमा एकसहित शुक्रबार मात्रै नरैनापुरमा १३ र राप्तीसोनारीमा एक गरी बाँकेमा १४ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कोरोना महामारीको कठिन परिस्थितिमा स्वास्थ्य र सुरक्षाकर्मी तथा एम्बुलेन्स चालक जोखिममा परेर सङ्क्रमित पत्ता लगाउदै व्यवस्थापन गर्न खोज्दा बिरामीलाई क्वारेन्टाइनबाट आइसोलेशन केन्द्र र अस्पतालसम्म ल्याउन सबैको साथ नपाउनु चिन्ताको विषय भएको उनको भनाइ छ । सदरमुकाम नेपालगञ्जबाट करबी ३५ किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुर मात्रै ८७ सङ्क्रमित पुगेका छन् ।

कोरोना विजेतालाई गाउँमा स्वागत

एक्काइस सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरेर घर फर्किँदा नेपालगञ्जको जोलाहनपूर्वा टोलमा खुशियाली छाएको छ । बाइसौँ दिनमा कोरोना परास्त गरी खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालबाट शुक्रबार घर पुग्दा नेपालगञ्जको पहिलो कोरोना खतरा क्षेत्र बन्न पुगेको जोलाहनपूर्वावासीले हर्षका साथ स्वागत सम्मान गरेका थिए ।

टोलका सबैजना एकसाथ घर फर्किँदा टोलवासीमा कोरोनाको त्रास हटेर खुशीको वातावरण सिर्जना भएको स्थानीयवासी नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख समसुद्दिन सिद्दिकीले बताइन्। एकैसाथ धेरै सङ्क्रमित हुँदा निराश र त्रासमा रहेका घरपरिवार र टोलवासी बिरामी निको भएर घर फर्किँदा रमजान पर्वको पूर्वसन्ध्यामा खुशी साटासाटसमेत गर्ने वातावरण बनेको उनको भनाइ थियो ।रासस

Logo