#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19572938724710627938712568841
नेपाल2259273620616313

अर्थमन्त्रीको हारगुहारपछि सहज बन्दै सरकारी ढुकुटी : दैनिक डेढ अर्ब राजश्व संकलन

काठमाडौं ।
कोरोना भाइरसका कारण मुलुक अर्थतन्त्र शिथिल बन्दै गएको भन्दै उद्योग व्यवसायीलाई कर तिर्न हारगुहार गरेपछि राजश्व उठ्दा राज्यको ढुकुटीमा रकम जम्मा हुन थालेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले राजश्व नउठेकाले कर्मचारीलाई तलब खुवाउन देखि दैनिक खर्च समेत चलाउन समस्या परेको भन्दै कर तिर्न हारगुहार गरेका थिए । ढुकुटी रित्तिएको भन्दै अर्थमन्त्री खतिवडाले व्यवसायीसँग हारगुहार गरेपछि सक्ने करदाताहरुले कर तिरेपछि ढुकुटी सहज हुँदै गएको हो । त्यसका साथै सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो गरेसँगै करदाताहरुले कर तिर्ने क्रम पनि बढेको छ । जसका कारण सरकारी ढुकुटी सहज बन्दै गएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १८ गते बिहिबारसम्म ७ खर्ब ६१ अर्ब ५८ करोड २३ लाख रुपैँयाँ बराबरको राजश्व संकलन भएको छ । हालसम्म कुल राजस्वको ६५.०९ प्रतिशत संकलन भएको महालेखाले जनाएको छ । १८ गते दिउँसो १२ बजेसम्म १ अर्ब ५३ करोड रुपैँयाँ राजश्व संकलन भएको छ । हिजोसम्म १७ गतेसम्म ४५ अर्ब रुपैँयाँ राजश्व संकलन भएको थियो । त्यस्तै गत जेठ ३२ गतेसम्म ५ खर्ब ८८ अर्ब रुपैंयाँ राजश्व संकलन भएको थियो । असार १७ गतेसम्म आइपुग्दा ६ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । असार लागेसँगै दैनिक डेढ अर्वको हाराहारीमा राजश्व संकलन भएको महलेखाले जनाएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारी ढुकुटी रित्तिएको भन्दै गत जेठ २५ गतेसम्म कर तिर्नु पर्ने अन्यथा कारवाही गरिने भन्दै निर्देशन जारी गरे । सो निर्देशन पश्चात अर्थमन्त्री खतिवडाको चौतर्फी विरोध भएपछि असार ७ गतेसम्म समय थप गरिएको थियो । पछि सर्वाेच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र मात्र कर तिर्दा हुने व्यवस्था गरेपछि व्यवसायीलाई पनि सजिलो भयो । सरकारको संकट बुझेर सक्ने व्यवसायीहरुले कर तिर्न थालेपछि सरकारको ढुकुटीमा रकम थपिन थालेको हो । सरकारले लकडाउन खुकुलो बनाए पनि पूर्णरुपमा खुला भने गरेको छैन । सार्वजनिक यातायात पूर्णरुपमा संचालन भएपछि मात्रै लकडाउन खुलेको मान्न सकिने सर्वोच्चले जनाएको छ ।

कोरोनाका कारण मुलुकको उद्योग व्यवसाय, पर्यटन, रेमिट्यान्स, वैदेशिक लगानी लगायतका विभिन्न क्षेत्र प्रभावित हुँदा ढुकुटी नै रित्तो भएको थियो । यस्तो अवस्था आएपछि अर्थसचिव, राजस्व सचिव तथा आन्तरिक राजस्व विभागका महानिर्देशक र राजस्वका कर्मचारीलाई ठूलो कारोबार गर्ने व्यवसायीलाई फोन गरेरै कर तिर्न अनुरोध गरेपछि सक्ने र ठूला व्यवसायीहरुले कर तिर्न थालेपछि ढुकुटीमा राजश्व संकलन हुने क्रम बढेको हो ।

सरकारले गत चैत ११ गतेदेखि मुलुकैभरी लकडाउन गर्ने घोषणा गरेको थियो । त्यस यता उद्योग व्यवसायीले कर तिरेका थिएनन् । सर्वाेच्च अदालतले कर तिर्न सहुलियत दिएको भए पनि सक्ने उद्योग व्यवसायी र बैंक तथा वित्तीय क्षेत्रले कर तिरेपछि ढुकुटी बलियो बन्दै गइरहेको अर्थमन्त्री खतिवडाले बताउँदै आएका छन् । जसका कारण अर्थतन्त्रमा विस्तारै सुधार देखिन थालेको उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु