#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20892191748613636956213774016
नेपाल2495795802516837

नखाएको बिष !

  • अनामिका पराजुली

यो मेरो निजी अनुभूति हो । यो त्यो समयको कुरा हो जब भर्खर भर्खर मेरो उमेरले किशोर अवस्थामा पाइला राख्दै थियो । त्यो चञ्चलता त्यो चुलबुले बानी र त्यो उडेर कतै गइदिउँ जस्तो लाग्ने मनोविज्ञान अनि चराका भाले पोथीसँगै देख्दा पनि कुतकुती लाग्ने समय ।

त्यो समय छोराहरूलाई बोर्डिङ स्कुलमा पढाएर छोरीहरूलाई सरकारी स्कुलमा पढ्न पठाउने समय थियो । त्यही अनुसार हामी दुई दिदीबहिनी सरकारी स्कुलमा पढ्न जान्थ्यौं । मेरी दिदी स्वभावका हिसाबले केही शान्त थिई । मेरो स्वभाव अलि फरासिलो थियो, त्यही मेरो स्वभाव नै मेरो बरबादीको कारण बन्यो ।

अहिले मैले अहिलेको समयका त्यो बेलाको मेरो उमेरका किशोर किशोरीहरूलाई देख्छु । यस्तै आठ या नौ कक्षा पढ्दै गरेका साना साना नानी बाबुहरू पनि खुलेरै आफ्नो रिलेशनको बारेमा कुरा गर्छन् । कसैको त दोस्रो तेस्रो पटक ‘ब्रेकअप’ भइसकेको समेत हुन्छ ।

समाजले सामान्यरूपमा लिन थालेको छ यस्ता घटनाहरूलाई । सामाजिक सञ्जालमा त्यस्तै उमेर समूहका बाबुनानिले ‘इन्गेज, ब्रेकअप र मुभअन’ को कुरा लेखिरहेको देख्दा म भक्कानिन्छु नराम्रोसँग र कतै कुनामा गएर चिच्याएर रुन मन लाग्छ ।

नौ कक्षामा पढ्दा ताकाको कुरा हो । म त्यस्तै नजानिँदो मनोवैज्ञानिक अवस्थाबाट गुज्रिरहेकी थिएँ । आफ्नो मानसिक अवस्था र शरीरको बनावट अनि विपरीत लिङ्गी प्रतिको आकर्षणको बीचमा मेरो स्वभावले उत्प्रेरकको काम गरिरहेको थियो ।

हाम्रो स्कुलमा पढाउने एक जना शिक्षक थिए । उनी हामीले बुझ्ने भन्दा माथिल्लोस्तरमा चर्चित थिए । उनका धेरै केटी साथीहरू भएको भनेर अलि ठूलो उमेरका दिदीहरूले कुरा काट्थे । नजिकै क्याम्पस पढ्थे बिहानमा । अनि दिउसो हाम्रो स्कुलमा पढाउने काम गर्थे । मोटरसाइकल चढेर स्कुल जाने उनी मलाई निकै आकर्षक लाग्थे तर उनको उमेर र उनको चर्चाको अगाडी मेरो हैसियत केही थिएन । मैले उनलाई हेर्थें मात्र बोल्ने साहस कहिल्यै जुटाउन सकेकी थिइनँ ।

एक दिन स्कुलबाट भ्रमणमा जाने कुरा भयो । हाम्रो घरबाट पनि दिदीलाई र मलाईसँगै जाने भएपछि पठाउने कुरामा बुबा आमा पनि सहमत हुनुभयो । तीन चार दिनको भ्रमण थियो सायद । रमण सर पनि भ्रमणमा जाने रहेछन् । मलाई त्यसै त्यसै काउकुती लागे जस्तो भयो । कता कता मन रोमाञ्चित भए जस्तो अनुभव भयो । हामीहरू भ्रमणमा निस्कियौँ ।

मैले सरलाई लुकी लुकी हेर्न सुरु गरेकी थिएँ । मलाई थाहा थियो यो मेरो आकर्षण थाहा पाए उनैले मलाई गाली गर्नेछन् भन्ने । फेरि पनि मनको कुरा थियो रहरको कुरा थियो । त्यो नियन्त्रणमा रहने कुरा थिएन । उनलाई हेर्नु मात्र त अपराध थिएन । त्यसैले जता जता उनी जान्थे उतै उतै हेरिरहन्थें । मैले त्यसरी हेरेको उनी बुझ्दथे र सायद घरीघरी उनी पनि मलाई हेर्थे ।

संसारमा धेरै युवतीको पहिलो क्रस आफ्नै शिक्षकसँग हुन्छ रे । मैले अहिले मेरा छोरा छोरीहरूका कुरा सुनेर बुझ्ने गरेकी छु। सामाजिक सञ्जालमा पनि त्यस्ता कुराहरू आईरहन्छन् । ‘क्रस मात्र हुनु’ लाई अहिले अति सामान्य रूपमा लिन थालिएको छ । रमण सर पनि मेरा क्रस मात्र थिए । उनी प्रतिको आकर्षण भन्दा उनीप्रति डर धेरै थियो मेरो मनमा।

भ्रमण अगाडी बढ्दै गयो । भ्रमण सकेर फर्कने अन्तिम रात हामी कतै होटेलमा बास बसेका थियौँ । म बाहिर निस्केकी थिएँ । होटेलको प्राङ्गणमा सबै साथीहरू भेला भएर रमाइलो गरिरहेका थिए । त्यत्तिकैमा मेरो दशा बिग्रेर हो या किन हो मलाई आफ्नो कोठामा जान मन लाग्यो । किन जान मन लाग्यो थाहा छैन । या त मलाई ट्वाइलेट जान मन लाग्यो या त्यतै कतै रमण सर पनि छन् की भनेर उनलाई हेर्ने रहर लागेर जान मन लाग्यो, त्यो मैले अहिलेसम्म पनि बुझ्न सकेकी छैन ।

सबै साथीहरु तल होटेलको प्राङ्गढमा रमाइलो गर्दै खानाको प्रतीक्षा गरिरहेका थिए । म होटेलको दोस्रो तल्लामा रहेको कोठातर्फ गइरहेकी थिएँ । त्यही बेलामा उता पर आफ्नो कोठा तिरबाट रमण सर आउँदै थिए । मेरो मुटु जोडले ढुकढुक गर्न थाल्यो । अगाडी बढौँ कि पछाडि फर्केर भागौँ जस्तो हुँदा हुँदै म मेरो कोठाको ढोकासम्म पुगेँ । ढोका खुल्लै थियो म भित्र छिरें । त्यतिबेलै मेरो कोठाको ठिक अगाडी आइपुगेका रमण सरले ढोकाबाट हेरे, मेरो हालखबर सोधे ।

म अवाक्क भएर उनलाई हेरिरहेँ । मलाई डर लागे जस्तो भयो । मेरो त्यस्तो अवस्था देखेपछि उनी ढोका भित्र छिरे र म नजिकै उभिएँ । मैले आँखा अगाडी केही देखिन । अचम्मको अनुभूति भयो । त्यो अवस्थालाई मैले के भएको थियो मलाई भनेर अहिले पनि शब्दमा बयान गर्न सक्दिन । त्यसपछि उनले के भयो ? सन्चो भएन ? भनेर सोधे । मैले होइन केही भएको छैन भन्न चाहन्थेँ तर मेरो बोली फुटेन ।

रमण सरले आफ्नो यौटा हातले मेरो हात बिस्तारै समाते र अर्को हातले मेरो निधार छाम्दै ज्वरो आयो क्या हो भनेर सोधे । ज्वरो नभएको बुझेपछि उनले हिँड तल खाना खाने समय भयो भनेर मलाई डोर्याउँदै बाहिर निस्किएँ । म उनको पछिपछि कोठाबाट निस्किएँ र उनीसँगै होटेलको प्राङ्गढ सम्म पुगेँ । जहाँ हाम्रो लागि खानाको व्यवस्था गरिएको थियो।

त्यसपछि मेरो जिन्दगीको दशा सुरु भएको थियो । त्यो मेरो बरबादीको सुरुवाती समय थियो । मलाई थाहा छैन रमण सर मेरो कोठामा छिरेको कसले देखेको थियो या हामी त्यो कोठाबाट सँगै निस्केको कसले देखेको थियो तर त्यही समयबाट रमण सर र मसँगै कोठामा बसेको र सँगै निस्किएर आएको हल्ला चल्न थाल्यो ।

रमण सर मेरो कोठामा जम्माजम्मी दुई मिनेट उभिएका हुन् । म उनको अगाडी गरुढको छायाँमा परेको सर्प जस्तो लत्रिएर उभिएको पनि हो । उनले छुँदा करेन्ट लागे जस्तो भएर मेरो जिउ थुरथुर कामेको पनि हो । मेरो अनुहार डर र लाजले रातै भएको पनि हो, म पसिनाले निथ्रुक्कै भिजेको पनि हो तर त्यो भन्दा बढी मेरो जीवन नै बर्बाद हुने गरी केही भएको थिएन ।

त्यो बेलामा रमण सरले चाहेको भए उनले मलाई गलत नियतले छुन सक्थे । या त्यो भन्दा अगाडी मेरा छातीतीर हात डुलाउन सक्थे, मलाई लाग्छ उनले त्यसो गरेको भए पनि मैले विरोध गर्ने थिइन कि ? किनभने म उनी प्रति यसरी आकर्षित भएकी थिएँ कि मैले आफैं के गर्दैछु भन्ने महसुस् गर्न सकिरहेकी थिइन् ।

या मलाइ एक किसिमको भरोसा थियो कि सरले म सँग त्यस्तो नराम्रो काम केही गर्ने छैनन् अथवा अरू केही नै म सोच्थें या अरू कुनै विश्वास मेरो मनमा थियो, अहिले यसै भन्न सक्दिन म । जे भए पनि उनी आखिर मेरा गुरु थिए । हामीलाई पढाउने शिक्षक थिए । उनले मेरो अवस्था सोधे, मलाई डोर्याएर बाहिर लिएर निस्किए तर मैले बुझिरहेकी थिएँ कि उनको छुवाईमा त्यस्तो केहि थिएन । उनले अभिभावकले जसरी मेरो हात समातेका थिए र निधार छामेका थिए । त्यहाँ भएको त्यत्ति मात्र थियो।

तर रमण सर र मलाईसँगै कोठामा छिरेको र कोठाबाट निस्केको देख्ने मान्छेले हामी त्यसरी कोठामा छिरेको देख्यो या कोठाबाट निस्केको देख्यो मलाई थाहा छैन । उसले हल्ला चलाइदियो रमण र अनामिका कोठामा सँगै थिए ।। त्यसपछि के चाहियो । यो कुरा एक कान दुई कान मैदान भएर फैलियो ।

त्यसपछि मेरा साथीहरूले मेरो सङ्गत गर्न छाडे । आफ्नै दिदीले पनि सँगै स्कुल जान धक मान्न थालिन् । घरमा बा आमाको मरेको जुनी भयो । केटाहरूले ‘रमण सरसँग सुतेकी केटी’ भनेर कुरा काट्न थाले । साथीहरूले ‘चरित्रहीन’ भने । मलाई नखाएको विष लाग्यो ।

मैले यो अपमान सहेर स्कुललाई निरन्तरता दिन सकिन । बैनीको कारण दिदीको बदनाम हुने भयो भनेर अर्को वर्ष एसएलसी दिएपछि दिदीको बिहे भयो । मेरो बारेमा भने ‘यो त बात लागेकी यसलाई कसले लान्छ र’ भन्ने जस्ता तर्कहरू घरमै सुनिन थाले ।

मलाई आत्महत्या गरौँ गरौँ नभएको होइन । तर आत्महत्या गरेर आफूले नगरेको अपराध प्रमाणित गर्नु थिएन मलाई । त्यहाँ केही भएको थिएन त्यो कुरा कि रमणलाई थाहा थियो कि मलाई कि भगवानलाई थाहा थियो । यो हल्लाले रमणलाई कुनै फरक पारेन । उसको प्रकृति नै त्यस्तै थियो फेरी उसको अगाडी या पछाडि उसको कुरा काट्ने हिम्मत कसैको थिएन । उसको इज्जत यो पुरै घटनामा कतै जोडिएन । या कतै रमण आफैंले पनि मेरो कुरा काटिँदा हो मा हो पो मिलायो कि ?

दिदीको बिहे खानदानी केटा खोजेर आफू भन्दा सकेसम्म माथिल्लो खानदान र सम्पन्नशाली घरमा दिन कुनै कसर बाँकी राखेनन् बा आमाले । त्यसपछि मेरो लागि केटा खोज्ने क्रम सुरु भयो । श्रीमती मरेर या भागेर दोस्रो बिहे गर्नु परेको, गरिब या यस्तै म माथि लागेको ‘चरित्रहीन’को दागलाई स्विकार्ने किसिमको केटा खोजेर मेरो बिहे भयो ।

मलाई जिन्दगी प्रति खासै गुनासो छैन किनकी मेरो ललाटमा जे लेखिएको थियो त्यो मैले भोग्नु पर्यो । तर समाज त्यो समयको नभएर त्यो समयमा पनि समाजको चेतना आजको जस्तै हुन्थ्यो भने के म यसरी नै बरबाद हुन्थेँ होला त ? आजका त्यसबेलाको मेरो उमेरका बाबुनानीहरु बिन्दाश पाराले बाँचेको देखेर मलाई खुसी लाग्छ । सानातिना कुराहरुले अचेल जिन्दगी नै ध्वस्त हुँदैन । समय फेरिएको छ, नखाएको विष लागेर कसैको जिन्दगी बरबाद हुँदैन अचेल ।

सम्बन्धित समाचारहरु

ताजा समाचार