कुटनीतिक वार्ताबाट विवाद मिलाउने तयारीदेखि सुरक्षाकर्मी उच्च जोखिममासम्म (भिडियोसहित)

कुटनीतिक वार्ताबाट विवाद मिलाउने तयारीदेखि सुरक्षाकर्मी उच्च जोखिममासम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये भारतसँगको सीमा विवाद कुटनीतिक वार्ताका माध्यमबाट मिलाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सीमा विवादको विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक नरहेको भन्दै वार्ताबाटै समधान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ एवं सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

त्यस्तै १० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजाय हुने विषयमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ । शुक्रबार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा सो सहमति जुटेको हो ।

वैदेशिक रोजगारीका लागि कतार गएका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । महोत्तरीको औराही–१ का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो । चौधरीलाई कतारी नागरिक हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो ।

त्यस्तैगरी कोरोना भाइरसलाई सामान्य रुपमा नलिन विज्ञहरुले सुझाव दिएका छन् । अंक गणितीय रुपमा बढ्दै गएको भाइरस संक्रमणको तथ्यांकले पछिल्लो हप्ता आएर ज्यामितीय रूप लिएको भन्दै यस्तो अवस्थामा सरकार, व्यक्ति तथा समुदाय स्वयं नै अझ गम्भीर बन्नुपर्नेमा विज्ञहरूले सुझाव दिएका हुन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा सुरक्षाकर्मी परेका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन कार्यान्वयन गर्न पहिलो पंक्तिमा खटिएका सुरक्षाकर्मी उच्च जोखिममा परेका हुन् । लकडाउन शुरु भएदेखि अहिलेसम्म उपत्यकामा मात्रै दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

Logo