‘नगद कारोबार गर्नेसँग कोरोना कर लिनुपर्छ’ – बैंकर्स संघ

‘नगद कारोबार गर्नेसँग कोरोना कर लिनुपर्छ’ – बैंकर्स संघ


काठमाडौं ।

नगद कारोबार गर्नेहरुसँग कोरोना कर लिनु पर्ने नेपाल बैंकर्स संघले जनाएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट बनाइरहेका बेला संघले नगद कारोबार गर्नेहरुसँग कोरोना कर लिन सरकारलाई सुझाव दिएको हो ।

नेपालमा ठूलो मात्रामा नगद कारोबार बढी हुने गर्छ । नगद कारोबारको व्यवस्था मिलाउन राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाको ठूलो स्रोत साधन प्रयोग गर्ने भएकाले त्यसलाई कम गर्न कोरोना कर लिने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो । त्यसका साथै सरकारले पछिल्लो समय नोटको प्रयोग घटाउन डिजिटल पेमेन्टलाई बढुवा दिइरहेको छ । डिजिटल पेमेन्टलाई सहयोग पुग्ने गरी संघले कागजी नोटको प्रयोगलाई ५ वर्षभित्र ३० प्रतिशतमा सिमित गर्ने गर्न सरकारलाई सुझाव दिएको छ ।

त्यसैगरी, संघले निर्वाहमुखी परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण र यान्त्रीकरण गरी व्यावसायिक बनाउन सुझाव दिएको छ । नेपालले बर्सेनी १ खर्ब रुपैयाँभन्दा बढीको दाल, चामल, तरकारी, फलफूल जस्ता खाद्यान्न आयात गर्ने गरेको भन्दै संघले बैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि क्षेत्रमा संलग्न गराउन सरकारलाई सुझाव दिएको छ ।

त्यस्तै, संघले ठूला र दीर्घकालिन महत्वका परियोजना बनाउन पनि सुझाव दिएको छ । निर्माण सामग्री उत्पादकहरुसँग सरकारले समन्वय गरेर उनीहरुको नाफा निश्चित प्रतिशतमा ग्यारेन्टी गर्ने तथा त्यस्तो सामग्री प्रयोग गरेर पूर्वाधार निर्माण गर्न पनि संघको सुझाव छ । त्यसैगरी, संघले ३, ४ वटा उत्तर दक्षिण राजमार्ग बनाउन पनि सरकारलाई सुझाव दिएको छ ।

Logo