#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19574487724732628076812568987
नेपाल2259273620616313

गुल्मी पहिरोका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

गुल्मी।

इस्माको मल्दीमा गएको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण घाइते भएका पाँच जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

पहिरोमा परी घाइते भएका इस्मा–१ का पाँच वर्षीय अयुष खत्री, ६४ वर्षीय टीकाबहादुर खत्री, ९० वर्षीया पुतली खत्री, २२ वर्षीया सिर्जना सारु र २५ वर्षीय वसन्त सारुलाई गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले उपचारका लागि सेनाको हेलिकप्टरमार्फत शुक्रबार काठमाडौँ ल्याएका हुन् ।

सांसद विष्ट पहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गरी फर्किएका छन् । उनले पहिरोमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गरेका थिए ।

बिहीबार राति १२ बजे बस्तीदेखि पाँच सय मिटर माथिबाट पहिरो खस्दा इस्मा–१ मल्दीका १८ महिने सिजन सारु र निस्ती ढाँडफाँटकी सात वर्षीया अपेक्षा खत्रीको ज्यान गएको छ । त्यस क्षेत्रका ११६ घरपरिवार विस्थापन भएको गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताइन् ।

पहिरोसँगै निस्ती खोलामा आएको बाढीले बगाउँदा मुसिकोट नगरपालिका २ का ५५ वर्षीय भागीरथ घिमिरे बेपत्ता भएका छन् । उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । शव परीक्षणका लागि सदरमुकाम तम्घास ल्याइएको छ । पहिरोबाट विस्थापितलाई स्थानीय पालिकाले हस्तिचौरको हिमालय माध्यमिक विद्यालयमा अस्थायी रुपमा व्यवस्थापन गरेको छ । सिङ्गो गाउँमा नै पहिरोको जोखिम बढेसँगै त्यस वरपरका मानिससमेत थप त्रसित बनेका छन् । पहिरोले सडक अवरुद्ध भएकाले मानिसलाई हिँडडुल गर्नसमेत समस्या भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पठाएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए।रासस

सम्बन्धित समाचारहरु