#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19830355730151636251512737689
नेपाल2259273620616313

प्रधानमन्त्री ओली संकटमा फस्नुको ५ कारण

प्रधानमन्त्री केपी शर्मा ओली पार्टी भित्रै उब्जिएको कलहका कारण अब पदमा बसिरहने र छोड्ने भन्ने दोसाँधमा आइपुगेका छन् । उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद नछोड्ने जवाफ अध्यक्ष पुष्पकमल दाहाललाई दिएका छन् ।

शुक्रबारको बैठकमा ओलीले आफूलाई कारवाही गरेर देखाउन उल्टै दाहाललाई चेतावनी दिएपछि नेकपाभित्रको यो झगडाले पार्टी विभाजनसम्मको दुर्घटना हुन सक्ने आशंका उब्जिएका छन् । एकथरी नेताहरुले शिर्ष नेताहरुलाई मिलाउनका लागि प्रयत्न गरेपछि उनीहरुको प्रयासले कुनै आकार लिएको छैन ।

ओली, दाहाल र नेपाल समूह आफ्नो अडान तलमाथि नगर्दा नेकपाको विवाद जटिल मोडमा आइपुगेको छ । तत्कालिन एमालेभित्र शक्तिशाली र पछि नेकपा बनेपछि पनि एकछत्र पकड जमाइरहेका ओली अहिले कसरी कमजोर बने ? यसका पछाडि उनका आफ्नै कामकारवाही जिम्मेवार छन् । ओलीले आफैविरुद्ध घेराबन्दी हुने खालको के–के काम गरे त ?

१. पार्टीलाई नजरअन्दाज

पार्टी एकताबाट पहिलो अध्यक्ष बनेपछि ओलीले ‘पार्टी नै आफै मात्र हो’ जस्तो गरी सोचे । उनले विशेष गरी अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि छन् र दुईधारका पार्टी मिलेर बनेको हो भन्ने ख्याल गरेनन् । पहिले जसरी एमालेभित्र उनी काम गर्थे त्यही शैलीमा उनी अघि बढे ।

उनले प्रधानमन्त्री पद भएपछि पार्टीको शक्ति पनि आफै हो जस्तो गरे । यो बिषयमा नेताहरुले पटकपटक ध्यानाकर्षण गराए । कतिपय नेताहरुले पार्टीका बैठक नियमित गर्दा पनि समस्या समाधान हुन्छ भनेर सम्झाइ रहे । तर ओलीले पार्टीका फोरमहरुलाई वास्ता गरेनन् । त्यसैले उनले गरेका काममा पार्टीका अन्य नेताहरुले स्वामित्व लिएनन् । उनले स्थायी कमिटी वैठक समेत पटकपटक सार्दै
आए । पार्टीलाई नजरअन्दाज गर्दा अघि बढ्ता ओलीलाई अहिलेको संकट आइलागेको हो ।

२. दाहाल–नेपालसँगको सम्बन्ध

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल (प्रचण्ड) पार्टीका अर्का अध्यक्ष हुन् र माओवादी धारसहित पार्टी बनेकोले उनलाई पनि मिलाएर जानुपर्छ भन्ने ढंगले मात्र सुरुमा सोचे । त्यस अनुसार दाहालसंग मिलेर काम गर्न पनि खोजे । तर यसो गरिरहँदा ओलीले पूर्व एमालेका आफ्नै सहकर्मी माधव नेपाललाई बिर्से । कतिपय अवस्थामा नेपाललाई बाइपास गरेर हिड्न खोजे । एमालेको महाधिवेशनबाट नेपाललाई हराएपछि ओलीले कुनै भाउ दिएका थिएनन् ।

नेकपा बनेपछि पनि बरु दाहालसंग मिलेर जाने नेपालाई कर्नरमा पार्ने नीति अपनाए । त्यही नीतिले नै सुरुदेखि नै नेपालसमूह ओलीसँग रुष्ट रह्यो । यही बीचमा दाहालसँग पनि खटपट हुन थालेपछि दाहाल र नेपालको गठबन्धन बन्यो र ओली पार्टीभित्रै अल्पमतको अवस्थामा पुगे । उनले दाहाल र नेपालसँगको सम्बन्धलाई समदुरीमा राख्न सकेको भए यो संकट आइलाग्ने थिएन ।

३. शक्तिको अति केन्द्रिकरण

प्रधानमन्त्री ओलीले आफ्नो शक्ति अति केन्द्रिकरण गर्न खोजे । पार्टीको हरेक निर्णय आफ्नो अनुकुलतामा मात्र गर्ने गरे । आफ्नो अनुकुल नहुँदा सम्म बरु निर्णय नै नगर्ने प्रबृत्ति देखियो । त्यही कारण पार्टी एकताका काम पनि लामो समयसम्म टुंगिन सकेनन् । केही काम अझै पनि बा“की छन् । सरकारमा पनि उनले आफ्नो शक्ति बढी नै केन्द्रिकरण गरे । उनले मन्त्रीहरुमाथि लगाम लगाए ।

यसका कारण उनको सरकारमै रहेका मन्त्रीहरु पनि रुष्ट बने र अहिले पनि धेरै मन्त्रीहरु ओलीलाई रुचाउदैदनन् । आफ्नो क्याबिनेटका मन्त्रीहरु सबैसँग एउटै खालको सम्बन्ध रहेन । उनले हरेक मन्त्रालयका कामहरुदेखि स–साना नियुक्तिहरुमा पनि आफै चासो दिन थाले । त्यसो गर्दँ पनि ओलीमाथि संकटको यो अवस्था आउन मद्दत गर्यो ।

४. अन्धभक्तहरुको साँघुरो घेरा

प्रधानमन्त्री ओली आफू भनेर लाग्नेहरुलाई जहिले पनि ‘प्रोटेक्सन’ गर्छन् । उनको यो बानी प्रधानमन्त्री भएपछि सुध्रेन । उनले आफ्नो सानो कोटरीको घेरामा बसेर काम गरिरहे । धेरै कुरा सुनेनन् । सचिवालय र सल्लाहकारहरुको समूहमा त्यस्तै ‘एरोगेन्ट’ प्रकृत्तिका मानिसहरुलाई राखे, जसको सर्वसाधारणसंग कसरी डिल गर्ने भन्ने खुबी छैन ।

बरु उल्टै उनीहरुका कार्यशैलीले ओलीमाथि समेत आरोप आउने अवस्था बन्यो । आफ्नो सचिवालय, सल्लाहकार देखि पार्टी भित्रैका पनि निश्चित नेताका मात्र कुरा सुने । आलोचना र गल्ती कमजोरी औल्याउनेहरुलाई आफ्नो विरोधी ठाने । यही सां“घुरे घेरामा बस्दा ओलीको स्थिति बिग्रदै गयो र अहिलेको जस्तो कमजोर बन्ने अवस्था सिर्जना भयो ।

५.कुरा ठूला, काम कम

ओली प्रधानमन्त्री भएपछि नै निकै ठूला सपनाहरु बाँडे । उनले विकास, समृद्धि देखि भ्रष्टाचार नियन्त्रणका ठूला कुरा गरे । तर मानिसहरुको दैनिक जनजीवनमा बदलिइहाल्ने ठोस काम गरेनन् । त्यसैले आममानिसहरुमा पनि उनीप्रतिको आक्रोश चुलिदै गयो । समस्यामा परेका मानिसहरुलाई ओलीले बेला बेलामा दिने अभिव्यक्तिले झन् झर्को लगाइरह्यो ।

उनले तत्कालका व्यवहारिक समस्या समाधान गर्ने भन्दा भविष्यको कुरा मात्र निरन्तरता गरिराख्दा आम मानिसहरुले रुचाईरहेका छैनन् । आम मानिसहरुले नै पनि ओलीमाथि प्रश्न उठाउन थालेपछि त्यसको प्रभाव पार्टी भित्र पनि पर्यो । ओलीका कारण पार्टी नै बदनाम हुने वा जनमत भड्किने अवस्था आउँन दिन नहुने पार्टी नेताहरुको धारणा रह्यो । त्यसैले कुरा बढी र काम चाही ठोसरुपमा गर्न नसक्ने ओलीको शैलीले पनि अहिले उनी आफै अप्ठेरोमा परे ।

यी अप्ठेराहरुलाई पार लगाउन ओलीले आफूलाई केही समीक्षा गरेर सच्याउनुपर्ने हुनुसक्छ । यदि उनले अडान लिइराखे, सच्चिनेतर्फ लागेनन् भने नेकपा दुर्घटनामा नपर्ला भन्ने सकिन्न ।

सम्बन्धित समाचारहरु

ताजा समाचार