समुदायमा कोरोना संक्रमण फैलिसकेको छ, अब के हुन्छ ? यसो भन्छन् विज्ञहरु

समुदायमा कोरोना संक्रमण फैलिसकेको छ, अब के हुन्छ ? यसो भन्छन् विज्ञहरु


काठमाडौं ।

कोरोना भाइरस (कोभिड-१९) ले नेपालमा पनि महामारीको रूप लिने संकेत देखिएको छ । पछिल्लो समय दैनिकरूपमा सङ्ख्या बढ्दै गएको छ।

नेपालमा पनि समुदायस्तरमा नै कोरोनाको संक्रमण फैलिन थालेको देखिन्छ। विगत पाँच महिना अगाडिदेखि चीनको वुहान सहरबाट सुरू भएको नोवल कोरोना भाइरस अहिले विश्वभर नै फैलिएको छ । यसरी संक्रमण फैलिएकाले रोग नियन्त्रण तथा रोकथामका लागि विश्वका अधिकांश मुलुक लकडाउनमा रहेका छन् । तर लकडाउन गरे तापनि विश्वभरि नै संक्रमण फैलिन भने रोकिएको छैन ।

कोरोना भाइरसले विश्वका कुनै पनि गरिब, धनी तथा विकसित राष्ट्र, अविकसित राष्ट्र भनेको छैन । यो एउटा अदृश्य जैविक शक्तिले यतिबेला विश्वलाई त्रसित बनाएको छ। यसले विश्व अर्थतन्त्रलाई समेत तहसनहस बनाएको छ । संक्रमण लाग्ने डरले एक सेकेन्ड पनि घर बस्ने समय नहुने मानिसलाई दुई महिनादेखि घर भित्र नै थुनिएर बस्नु परेको छ। सबै मानिसमा संक्रमण हुने सन्त्रास बढ्दै गएको छ।

कोरोनाले विश्वका विकसित राष्ट्रलाई समेत आकुल व्याकुल बनाएको छ। विकसित राष्ट्रमा भयावह नै देखिएको छ। एउटै देशमा दैनिक हजारौं मानिसले ज्यान गुमाई रहेका छन् भने यो अवस्थाबाट हाम्रो देश पनि अछुतो छैन । सानो देश त्यसमा पनि भारततर्फका सबै खुल्ला नाका भएको देश भएकाले पनि अझ बढि जोखिम बढ्दै जाने देखिएको छ । अझै पनि नेपालमा भयावहको स्थिति आएको छैन । यदि त्यस्तो भएमा शक्ति राष्ट्रहरुलाई त मुस्किल परेको अवस्थामा नेपाललाई पनि ठूलो चुनौति रहेको छ।

सुरुमा विदेशबाट आएका नागरिकमा देखिए पनि अहिले समुदायस्तरमा पनि संक्रमण फैलिन थालेकाले अझ सन्त्रास बढ्न थालेको छ । यसरी सन्त्रास बढ्न थालेकाले अब नेपालमा के हुन्छ ? कसरी अगाडि बढ्ने र सावधानी कसरी अपनाउने भन्ने विषयमा बहस हुनु जरुरी रहेको छ। यसलाई नियन्त्रणमा राख्नको लागि सरकारले उचित कदम चाल्नु पर्ने र जनता पनि सचेत हुनु पर्छ अनि मात्रै रोग नियन्त्रण भन्दा बाहिर नजाने विशेषज्ञहरुले बताएका छन् ।

विज्ञहरु अझै पनि सरकार र आम मानिसले बेलामा नै सावधानी अपनाउनु उचित रहेको बताउँछन् । नेपालमा गत माघ महिनामा चीनबाट आएका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । यसको करिव एक महिनापछि मात्रै दोस्रो कोरोना संक्रमित फेला परेका थिए । तर, अहिले दिन प्रतिदिन सय जनाको हाराहारीमा संक्रमित देखा परिरहेका छन् । त्यो पनि समुदायस्तरमा पसेको देखिन्छ ।

नेपाल र भारतबीचमा खुल्ला सीमाना भएकाले भारतबाट धेरै नेपाली नागरिक नेपाल आएको तथा अहिलेसम्म देशभन्दा बाहिरबाट आएका मानिसमा संक्रमण देखिएको र उनीहरुको माध्यमबाट नै पछिल्लो समय घर परिवार हुँदै समुदायमा पस्न थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले बताए ।

उनका अनुसार सरकारले भारतिय सीमा हुँदै नेपाल आउने भारतिय तथा नेपाली नागरिकलाई कडाइ नगरेकाले संक्रमण बढ्दै गएको हो । उनले भने, ‘भारतबाट आएका नागरिकलाई उचित व्यवस्थापन गर्न नसक्नु, तराईका जिल्लाहरुमा नागरिकलाई कोरोना भाइरसको विषयमा जनचेतना दिन नसक्नु, मानिसहरुको व्यवहार परिवर्तन नभएको तथा सरकारको सुरुदेखि टेस्टिङ र ट्रेसिङ परीक्षण सुस्त हुँदा समुदायस्तरमा नै भुसको आगोझैं भित्र भित्रै सल्कन थालेको छ ।’

सरकारले अब पनि टेष्टलाई द्रुतगतिमा अगाडि नलगे भयावह स्थिति आउन सक्छ । अहिले सरकारले बनाएका कोरोना उपचार हस्पिटलमा बस्नका लागि समेत उपयुक्त व्यवस्थापन नभएको डा.मरासिनीले बताएका छन् ।

कोरोना भाइरसको पछिल्लो समय रुप परिवर्तन भएको छ। मानिसहरुले अझै पनि सामान्यरुपमा सोच्ने गरिरहेकाले पनि यसले दोस्रो रुप लिएर गाउँ गाउँमा सम्म पुगेको देखिएको हो । अब यसलाई महामारीको रुपमा फैलिन नदिन सरकारले तीन कुरामा ध्यान दिनु पर्छ ।

सबैभन्दा पहिला भारतीय नाकाबाट आउने मानिसलाई नाकामा नै कोरोना टेष्ट गर्ने तथा सकेसम्म आउनमा कडाइ गर्नुपर्छ । दोस्रो कोरोना परीक्षण स्थानिय समुदायमा समेत गर्नु पर्छ । तेस्रो कुरा मानिस आफैं संयमित हुनुपर्ने देखिएको डा.मरासिनीको भनाइ छ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार नेपालमा संक्रमण बढ्नुको मुख्य कारण भारततर्फको खुल्ला सीमा नै हो । यहाँबाट नेपाल आउने मानिसहरुमा धेरै संक्रमण देखिएकाले यसलाई रोक्नु पर्छ, नत्र समुदायमा छिरेर यसले अझ भयावह रुप लिने उनले बताएका छन् । उनका अनुसार लकडाउन गरेकाले अहिलेसम्म नियन्त्रण तथा रोकथाम गर्न सकेको र स्थानीय समुदायमा भन्दा पनि भारतबाट आएका मानिसमा वढी संक्रमण देखिएको छ । यसले गर्दा समुदायमा फैलिन सक्छ । हामी आम सर्वसाधारणहरु समेत सचेत हुनु जरुरी रहेको छ ।

उनले भने, ‘अब हामी भाइरसबाट सचेत र सावधानी अपनाउनु पर्छ र सरकारले पनि गम्भिर भएर टेष्टिङ र खुल्ला सीमानामा कडाइ गर्नु पर्छ।’

अहिले पछिल्लो समय नेपालमा कसलाई, कसरी, कहाँ, कुन माध्यमबाट कोरोनाको संक्रमण भइरहेको छ भनेर पत्ता पनि पाउन गाह्रो भइरहेको छ । अहिले एकपछि अर्को संक्रमितको दर बढ्दै जाँदा यसले निकै भयानक नतिजातर्फ संकेत गरिरहेको संक्रमण रोग विशेषज्ञ डा. अनूप सुवेदीले बताए । उनका अनुसार मुलतः तीन कुराले गर्दा अहिले धेरै संक्रमित नदेखिएको हो ।

कोरोनाका संक्रमित यत्रतत्र भइ बसेका छन् । हामीले परीक्षण नगरेकोले नदेखिएको मात्रै हो । परीक्षण गर्दै जाँदा धेरैलाई संक्रमण भएको हुन सक्छ । अहिले परिक्षण बढाएपछि धेरै देखिन थालेका छन् ।

थ्रोट स्वाब लिंदा सावधानी अपनाए पनि क्वारेन्टाइनका व्यक्तिहरुमा कोरोना हुन सक्छ । क्वारेन्टाइनमा धेरै जना अव्यवस्थित तरिकाले राखेकाले एक जनामा कोरोना भए सबै जनामा सर्ने खतरा बढेको छ । त्यसबाट जोगिन सुरक्षा सामग्री प्रयोग नगरेको र कोरोनाको काममा पठाउँदा पनि स्वास्थ्यकर्मीहरुमा कम देखिएको हो ।

शंकास्पद बिरामी कसरी पठाउने, बिरामीको स्क्रिनिङ कसरी गर्ने बारेमा उपयुक्त ज्ञानको कमी छ ।

कोरोनाको संभावित संक्रमणबाट बच्न भन्दै सरकारले लकडाउन गर्यो । यस क्रममा धेरैको रोजीरोटी गुमाएर धेरै बेरोजगार भएका छन् । शहरमा बाँच्न नसक्ने भएपछि मजदूरहरु हिँड्दै गाउँ फर्किए । सर्वसाधारणले आफ्नो कामधन्दा छोडेर घरभित्रै बसे । सबैले आआफ्नै हिसाबले कष्ट र अप्ठ्यारा झेलिरहेका छन् । तर, यतिका अवधि घरभित्रै बसेका छन् । तर बाहिर एक ठाउँबाट अर्को ठाउँमा जाने गरेकाले संक्रमण फैलिदै गएको विज्ञहरूको भनाइ छ ।

सरकारले लकडाउनमा न सुरक्षा सामग्री भित्र्याउन सफल भयो न त यस्ता संक्रमितको सम्भावना रहेकाहरुको स्क्रिनिङ र उपचारका लागि कुनै रणनीति नै तय गर्न सक्यो । जन स्वास्थ्यसँग जोडिएको र विश्व महामारीले छोप्दै गरेको अवस्थामा हामी त्यति सर्तक, सावधान र संवेदनशिल भएनौं, जति हुनुपर्ने थियो । हामीसँग भएका स्रोत र साधन एवं जनशक्तिको समुचित परिचालन गरेर कसरी यो महामारीबाट रक्षात्मक ठाउँमा उभिने भन्ने सोचिएन । यसले भोलिका दिनमा भयानक संकट पो झेल्नु पर्ने हो कि भन्ने आशंका जन्माएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम गर्न सरकारले अब स्क्रिनिङ र रिफरल पद्धतिमा व्यापक सुधार गरि यसमा एकरुपता ल्याउनु पर्छ । उपचार केन्द्र बर्गिकरण गर्नुपर्छ । स्थान, क्षमता, सुबिधा र आवश्यक्ता अनुसार भएको उपचार केन्द्रहरु परिचालन गर्नु पर्छ । सबै अस्पताल एकै समयमा खुल्दा एकै पटक धेरै अस्पताल बन्द पनि हुन सक्छ । त्यसैले यसलाई आवश्यक छलफल र योजनाका साथ तयार गर्नुपर्ने उनीहरुले बताएका छन् ।

कोरोना भाइरस एक दुई महिनाको लकडाउनले सकिन्छ, क्वारेन्टाइनमा बसेर कोरोना कैद गर्न सकिन्छ, हामी सुरक्षित छौं, भन्ने हाम्रो सोचाइ गलत छ । यो भन्दा फरक ढङ्गले सावधानी अपनाउनु जरुरी रहेको छ ।

विश्वभर अहिलेसम्म ५१ लाख भन्दा बढि कोरोना भाइरस संक्रमित भएका छन् भने ३ लाख २९ हजार भन्दा बढिको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा विश्वभर एक लाख ४ हजार नयाँ संक्रमित भेटिएका छन् । यसरी दैनिक २४ घण्टामा विश्वभर सधैंभरि १ लाखको हाराहारीमा नयाँ संक्रमित थपिदै गएका छन् भने ४ हजार ६८५ जनाले दैनिक ज्यान गुमाउनु परेको छ ।

यसरी विश्वभर संक्रमित भएका करिब ४५ हजार ७९६ जनाको स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेको तथा २६ लाख ९० हजारको स्वास्थ्य अवस्था सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Skip This
Logo