टोलमा तगारो थापे अब कारबाही हुने

टोलमा तगारो थापे अब कारबाही हुने


काठमाडौं ।
सरकारले आव्हान गरेको लकडाउनका बेला बाहिरी तथा नयाँ मानिसलाई टोल प्रवेशमा रोक्न अनौठा तरिकाहरू अपनाइएका छन् । बाहिर व्यक्तिको प्रवेश रोक्ने बाहानामा आफूखुसी तगारो थाप्ने काम स्थानीयले गरेका हुन्।

उपत्यकाका भित्री साँघुरा गल्लीहरूमा बाहिरी मानिसलाई रोक्न अपनाइएका तरिकाहरू अनौठा मात्रै छैनन्, अव्यवस्थित पनि छन् । नयाँ मान्छे देख्नासाथ बाटो छेक्ने, कार्यालयमा काम गरेर फर्कनेलाई अनावश्यक शंका गर्ने, आफू खुसी गेट निर्माण गर्ने, काठ र बाँसको छेकबार लगाउने जस्ता कार्यहरू स्थानीयले गर्दै आइरहेका छन् । कोरोना महामारीलाई रोक्न अपनाइएका यस्ता कार्यहरूमा सरकारले रोक लगाएको छ ।

महामारीको बेला अनावश्यक शंका गर्ने, बार लगाउने, अमानवीय व्यवहार गर्ने, टोल छिर्न नदिने, अभद्र व्यवहार गर्ने, टोल निकाला गर्ने जस्ता गलत कार्य नगर्न गृह मन्त्रालयले जेठ ४ गते विज्ञप्तिमार्फत आग्रह गरेको थियो । टोलटोलमा अनेक अनपेक्षित हर्कत हुन थालेको गुनासाहरू आएपछि गृहले विज्ञप्ति जारी गर्दै यस्ता कार्य गर्ने टोलबासीलाई कारबाही गर्ने बताएको थियो । तर उपत्यकाका भित्री सहरहरूमा भने बाहिर मानिसलाई रोक्न भन्दै अनावश्यक रूपमा छेकबारहरू तेर्स्याइएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले यसो गर्नेलाई प्रहरीले कारबाही गर्ने बताए । उनका अनुसार टोलमा छेकबार लगाउँदै कुनै आपत्ति परे बाहिर निस्कन आफैंलाई पनि जोखिम हुन्छ। घरभित्रै बसेर लकडाउनको पालना गर्नु पर्ने बेलामा टोल प्रवेश गर्न नदिने गरी बार लगाउनु गैरकानुनी हो । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई यस्तो क्रियाकलाप भए कारबाही गर्नू भनी पत्राचार गरिसकेको छ । ‘यस्तो गर्नेलाई हामीले कारबाही गर्छौं, सबै प्रहरी कार्यालयहरूलाई यस्तो कहीं–कतै देखेमा कारबाही गर्न आग्रह गरेका छौं,’ उनले भने।

तर उपत्यकाका भित्री सहरहरूका स्थानीयहरुले बढी त्रसित भएको भन्दै बाँस र काठहरू तेर्स्याउने गरेका छन् । काठमाडौंको न्युरोड, भक्तपुर र पाटन दरबार क्षेत्रमा अहिले स्थानीयले बाहिर मानिसलाई टोल प्रवेश नदिनका लागि काठ र बाँसका छेकबार लगाएका छन्, जसका कारण मानिसहरू भित्रभित्रै पनि ओहोरदोहोर गर्न छाडेको स्थानीयको भनाइ छ। ‘यस्तो बेलामा हामीले अनेक जुक्तिहरू अपनाएरै भए पनि सुरक्षित रहनुपर्छ, रातिको समयमा बाहिर मानिसहरू आएको पनि सुनियो, त्यसकारण गेट बन्द गरिएको छ,’ बसन्तपुरका स्थानीय तथा सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले भने । उनका अनुसार अहिले पुराना सहरलाई बन्द गर्नका लागि पर्याप्त गेटहरू छैनन् । बाहिरी मानिस गल्लीहरूमा ओहोरदोहोर गर्ने क्रम नरोकिएपछि उनीहरूलाई निषेध गर्न यस्तो तरिका अपनाइएको हो।नागरिकबाट

Logo