नेपालगञ्जका २१ जनाले एकै पटक पराजित गरे कोरोना

नेपालगञ्जका २१ जनाले एकै पटक पराजित गरे कोरोना


नेपालगञ्ज ।
नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए । उनका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइने छ ।

सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरु लगायत २५ जना संक्रमितलाई राखी उपचार भइरहेको छ । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । तीन दिन अघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो । हाल सङ्क्रमित १०१ पुगेका छन् ।

थप दुईमा सङ्क्रमण
बाँकेमा बिहीबार सङ्क्रमण देखिएका दुई जना पनि एकहप्ता अघि भारतबाट आएका थिए । नेपालमा आए लगत्तै क्वारेन्टाइनमा रहेका खजुरा गाउँपालिका वडा नं ३ का ४२ वर्षीया महिला र नरैनापुर गाउँपालिका वडा नं ३ का ३२ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर प्रयोगशालामा गरिएको स्वाब नमूना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहीबार फेला परेका सङ्क्रमित एक हप्ता अघि भारतबाट आएर गाउँकै क्वारेन्टाइनमा बस्दै आएका हन् । कोरोना सङ्क्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा दुई जनामा सङ्क्रमण देखिएपछि खजुराक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । खजुरा गाउँपालिकामा पहिलो पटक बुधबार वडा नं ५ निवासी एक व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो भने बिहीबार थप एक जनामा पुष्टि भएको छ ।

खजुरामा सङ्क्रमण नभई भारतबाटै सङ्क्रमित भई आएको पाइएकाले त्रसित हुनुपर्ने अवस्था नरहे पनि सजगता अपनाउनु पर्ने भएकाले थप उच्च सतर्कता अपनाइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । सङ्कलित स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ ।

१५१ स्वाब सङ्कलन
बाँकेमा बिहीबार विभिन्न स्थानबाट १५१ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । राप्तीसोनारी गाउँपालिकाबाट ४६, डुडुवा गाउँपालिकाबाट २०, नेपालगञ्जको कल्पतरु होटलको क्वारेन्टाइनबाट १२, भेरी अस्पतालबाट सात, नेपालगञ्ज मेडिकल कलेजबाट ६ र नेपाल प्रहरीका ६० जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए । सङ्कलित स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ ।रासस

Logo