#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19831918730176636233512739407
नेपाल2259273620616313

भूकम्पले क्षतिग्रस्त रानीपोखरीको निर्माणको काम तीव्र (भिडियोसहित)

काठमाडौं । भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ । आगामी तिहारसम्म खुल्ला गर्ने योजनाका साथ पुनर्निर्माणको काम तीव्र भइरहेको हो । पोखरीको पिंधमा कालो माटो र ईंटा बिच्छ्याउने काम सकिएको छ । पोखरीभित्र पानी रहने भागको पर्खाल निर्माणको काम पनि सकिएको छ । २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालको काम गरेको हो ।

पर्खालमा १५ देखि १८ इञ्च कालो माटो राखेर त्यसमाथि ईंटा बिच्छ्याएको छ । २०७७ बैशाख १२ गते अघि नै काम सक्ने गरी सुरु भएपनि लकडाउनका कारण केही प्रभावित भएको छ । पानी रहने पर्खाल र पिंधको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ । पुनर्निर्माण प्राधिकरणकोतर्फबाट रानीपोखरी र धरहरा हेरिरहेका सम्पदा विज्ञ राजुमान मानन्धरले पुनर्निर्माणको काम सम्पन्न हुन करिब ३ महिना लाग्ने जानकारी दिए । पोखरीको काम सकिए पनि धेरै मिहेनत गरेर गर्नुपर्ने काम बाँकी भएकाले केही समय लाग्ने उनको भनाइ छ । उपभोक्ता समितिमार्फत भएको काम सम्पन्न भएको र ठेक्कापट्टाबाट गरिएको बालगोपालेश्वर मन्दिर निर्माण, पुलको काम भइरहेको उनले बताए । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरीको सौन्दर्यको काम अहिले चलिरहेको छ । सौन्दर्य र मन्दिर निर्माणको ३५ प्रतिशत काम बाँकी रहेको उनले जानकारी दिए । मन्दिरको दोस्रो तला सम्पन्न हुने अवस्थामा रहेको मानन्धरको भनाइ छ ।

पोखरीमा आकाशको पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कुल क्षेत्रको आकाशको पानी संकलन एवं प्रशोधन गरी पोखरीमा राख्ने प्राधिकरणले व्यवस्था गरेको छ । सुरुमा पिंध निर्माणका लागि भक्तपुरबाट कालिगढ ल्याइए पनि सीप हस्तान्तरण गरी काठमाडौंका कालिगडले समेत अहिले काम गरिरहेका छन् । लकडाउन केही खुलुलो भएसँगै अहिले कामदार मन्दिर बनाउन व्यस्त छन् । रानीपोखरीमा पानी अड्याउनका लागि महानगरपालिकाले पिंधमा कंक्रिट ढलान गरेपछि त्यसको विरोध भएको थियो । अहिले पानी अड्याउनका लागि परम्परागत तरिका– कालो माटोको तह र पुरानो इँटा विच्छ्याइएको छ । शिलान्यास भएको ३ वर्षसम्म अलपत्र रहेको रानीपोखरी निर्माणको काम अहिले पुनर्निर्माण प्राधिकरण मार्फत उभोक्ता समितिले गरी रहेको छ ।

विनाशकारी भूकम्पले क्षति पु¥याएको रानीपोखरी निर्माणका लागि काठमाडौं महानगरले जिम्मा लिएपनि पोखरीभित्रको मन्दिरलाई कुन शैलीमा बनाउने भन्ने विषयमा विवाद भएपछि लामो समय काम रोकिएको थियो । अहिले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको निर्माण भइरहेको छ । पर्खालको जगमा चुना सुर्की लगाएर परम्परागत शैलीलाई कामय राखिएको छ । वि.सं १९९० सालमा आएको भूकम्पपछि क्षति पुगेको रानीपोखरी जुद्धशमशेरले गुम्बज शैलीमा निर्माण गरेका थिए । लामो समय कुन शैलीमा बनाउने भन्ने विवाद रहेपनि पुनर्निर्माण प्राधिकरणले विज्ञ समूह गठन गरेर मौलिक शैलीमै निर्माण गर्न थालेको छ ।

पूरा भिडियाे:

सम्बन्धित समाचारहरु

ताजा समाचार