#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19574592724737628050112569354
नेपाल2259273620616313

कांग्रेस पाँच वर्षे कार्यकालमा सरकारमा जाँदैन–प्रवक्ता शर्मा

फाइल फोटो/पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकालमा सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनैपनि हालतमा अहिले सरकारमा सहभागि नहुने प्रष्ट पारेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो या त्यो परिस्थिति उत्पन्न भएपनि अहिलेको कार्यकाल कांग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताए । प्रधानमन्त्री ओलीले सभापति देउवासँगको भेटमा विभिन्न ‘अफर’ गरेको भन्ने सन्र्दभमा उनले भने–‘यो या त्यो परिस्थिति उत्पन्न भएपनि यो कार्यकाल माग राखेर सिंहदरबार जाने कुरा बेग्लै छ । तर मन्त्रालय चलाउने मानसिकताले जाने छैनौँ ।’

त्यस्तै प्रवक्ता शर्माले प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई रमाइलोका रुपमा हेरिरहेको बताएका छन् । प्रधानमन्त्रीले देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री हुन् । कांग्रेसका दिन अब गए भनेर विगतमा दिएका अलोकतान्त्रिक अभिव्यक्ति आएकाले अहिले गुलियो प्रस्ताव आउँदैमा नलहसिने उनको भनाइ छ । उनले कांग्रेस सरकारमा जान लाग्यो की भन्ने ? आशंकामा नरहन पार्टीका कार्यकर्ताहरुलाई समेत आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र सुवास नेम्वाङले मात्रै नभएर नेकपाका अन्य नेताहरुले पनि देउवासँग भेटघाट गरेपनि पार्टीभित्रको आन्तरिक द्वन्दमा कांग्रेस नलाग्ने उनले स्पष्ट पारे ।

प्रवक्ता शर्माले नेपाली कांग्रेसले छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस भन्ने मान्यता नराख्ने उनको दाबी छ । जनताले पाँच वर्षका लागि दिएको म्याण्डेटलाई जिम्मेवार प्रतिपक्षको रुपमा घनिभूत ढंगले निर्वाह गर्ने उनले बताए । सरकारले गरेका राम्रा कामहरुको समर्थन र कमजोरी गर्दा औला उठाउनुपर्छ भन्ने मान्यता कांग्रेसले राख्ने उनले बताए ।

त्यस्तैगरी संसद अधिवेशन अन्त्य हुनुभन्दा एकदिन अगाडि सभापति देउवासँग भेट भएपनि अन्त्य गर्ने विषयमा कुनै पूर्व सूचना प्रधानमन्त्रीले नदिएको उनले बताए । विधि र प्रचलित मान्यताअनुसार अधिवेशन अन्त्यको जानकारी प्रतिपक्षी दल, सभामुख राष्ट्रिय सभाका अध्यक्षलाई दिनुपर्ने भएपनि त्यस्तो नभएको प्रवक्ता शर्माको भनाइ छ ।

उनले राष्ट्रपतिलाई संस्थाहरुको रुपमा नभएर व्यक्तिको रुपमा लिएर त्यसको गरिमा गिराउने काम भइरहेको समेत आरोप लगाए । पार्टीको केन्द्रीय कार्यसमिति बैठकका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका नेताहरुले महाधिवेशनको कार्यतालिका लगायत पछिल्ला राजनीतिक घटनाक्रमहरुका विषयमा पनि आफ्ना विचारहरु राखि रहेको जानकारी दिए ।

सम्बन्धित समाचारहरु