#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19831918730176636233512739407
नेपाल2259273620616313

कता जाँदैछ हाम्रो अर्थतन्त्र ? यसो भन्छन् विज्ञहरु

काठमाडौं ।

चीनबाट विश्वभरी फैलिएको कोरोना भाइरसका कारण विश्वका अधिकांश मुलुकहरुको अर्थतन्त्र शिथिल बनेको छ । कोरोनाका कारण विश्वका मुलुकहरुमा पर्यटन उद्योग व्यवसाय, रेमिट्यान्स, वैदेशिक लगानी, सहायता तथा आन्तरिक वितरण प्रणालीमै असर परेको छ । जसका कारण अर्थतन्त्र जरजर अवस्थामा पुगेको छ । ती मुलुकहरुले आफ्नो अर्थतन्त्रलाई कसरी पुनर्उत्थान गर्न सकिन्छ भन्ने प्रयास गरिरहेका छन् । त्यसैगरी, नेपालको सन्दर्भमा पनि अब अर्थतन्त्र कसरी अगाडि बढ्छ भन्ने जिज्ञासा जताजतै उठेको देखिन्छ । साँच्चै नै अबको अर्थतन्त्र कसरी अगाडि बढ्छ भन्ने सबैका आआफ्नै तर्क छन् । कोरोनाका कारण मुलुकका उद्योग व्यवसाय, पर्यटन, यातायात, कृषि, रेमिट्यान्स, बैदेशिक लगानी, बाह्य सहयोग लगायतका क्षेत्र प्रभावित भएका छन् । यस्तो अवस्थामा सरकारले लक्षित गरेको ७ प्रतिशतको आर्थिक वृद्धिदर पनि हासिल गर्न चुनौतीपूर्ण रहने देखिन्छ ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरन्जीबि नेपालले अबको अर्थतन्त्र कोरोनासँगै जुध्दै अगाडी बढ्नु पर्ने बताएका छन् । ‘पर्यटन उद्योग व्यापार लगायतका क्षेत्रमा बहुपक्षीय असर परेको छ । त्यसैले कोरोनासँगै सर्भाइभ गर्दै आगाडी बढ्नुपर्छ ।’ पूर्व गभर्नर नेपालले भने । नेपालको अर्थतन्त्र भीसेभ, डब्लु सेभ, एल सेभ र यु सेभको रुपमा हुन सक्ने अनुमान गरिएको छ । तर भीसेभको अर्थतन्त्र भने नहुने देखिएको उनको भनाइ थियो ।

पूर्वगभर्नर नेपालका अनुसार अत्यन्त विकसीत देशमा पनि कोरोनाको संक्रमण बढेको र ती मुलुकहरुमा लकडाउनलाई पार्सियलका रुपमा पनि लिन थालिएको बताए । कोरोना विरुद्धको भ्याक्सिन पत्ता नलागेसम्म यसले मानव सभ्यतालाई असर पार्ने उनको भनाइ थियो । कोरोनाका कारण रोजगारी गुमेकाहरुका लागि युरोपियन मुलुकहरुले १५ सय देखि ३५ सय सम्म खातामा पठाइदिने व्यवस्था गरिरहेको भए पनि हाम्रो जस्तो मुलुकमा त्यसो गर्न सक्ने अवस्था नभएको भन्दै श्रमिक वर्ग बढी पीडित हुने नेपालको आँकलन छ । कोरोनाका कारण मुलुकको आर्थिक वृद्धिदर पनि घट्ने उनले बताए । ‘हाम्रो आर्थिक वृद्धि २.४ प्रतिशत हुने भन्ने अनुमान थियो, तर त्यस्तो स्थिती होला जस्तो देखिँदैन ।’ उनले भने । हाम्रो अर्थतन्त्र कुन सेभबाट जाने हो भन्ने स्पष्ट नभएको नेपालको धारणा छ ।

सरकारले वर्षौ अघिदेखि कृषिलाई आधुनिकिकरण गरेर रोजगारी सृजना गर्नुका साथै कृषिजन्य उत्पादनको वृद्धि गर्ने योजना ल्याइरहेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि कृषिलाई प्राथमिकता दिएको छ । पूर्वअर्थसचिव कृष्णहरी बाँस्कोटा पनि प्रकृतिमा आधारित रहेर अबको अर्थतन्त्रलाई डोहोर्याइने बताउँछन् । ‘ प्रकृतितर्फ आधारित भएर अबको अर्थतन्त्र अगाडी बढ्ने देखिन्छ ।’ बाँस्कोटाले भने । उनका अनुसार कोरोना अघि पर्यटनले जुन क्षेत्र ओगटेको थियो, त्यो ठाउँ विस्तारै कृषि क्षेत्रले लिनेछ ।

कृषि क्षेत्रमा स्वरोजगार बढ्ने, कृषिमा आधारित प्रोसेसिङ, प्याकेजिङ बढ्ने, कृषिमा अर्गानिक उत्पादन बढ्दै जाने बाँस्कोटाको आँकलन छ । उनका अनुसार किसानहरुले अब धान मकै छोडेर महँगा जडिबुटीहरु गुर्जो, सूर्यमुखी, तोरी लगाउने क्रम बढ्नेछ । त्यस्तै, महँगा र रोग प्रतिरोधात्मक फलफूल ड्रागन फुड , स्टावेरी लगायतका फलफूल लगाउने क्रम बढ्न जाने बाँस्कोटाले बताए । अब मानिसमा स्वरोजगार बढ्ने पूर्वअर्थसचिव बाँस्कोटाको भनाइ छ ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.शंकर शर्माले कोरोना भाइरस कहिलेसम्म रहन्छ तथा यसको रोकथाम तथा नियन्त्रण कसरी हुन्छ भन्नेमा अर्थतन्त्र निर्भर हुने बताए । विश्वका अधिकांश मुलुकहरु कोरोना नियन्त्रणका साथै अर्थतन्त्रलाई पनि कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत भएको डा.शर्माको भनाइ थियो । शर्माका अनुसार नेपाल पनि यहि बाटोमा जानुको विकल्प छैन । नेपालको कृषि आत्मनिर्भरमुखी संक्रमणकै बिचमै पनि ग्रामिण क्षेत्रमा काम भइरहेको बताए । जसका कारण कृषि क्षेत्रले अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार