आजबाट ६२ औँ वसन्तमा प्रवेश गर्दै ‘राते काँइला’

आजबाट ६२ औँ वसन्तमा प्रवेश गर्दै ‘राते काँइला’


काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित तथा सफल कलाकार सुनिल थापा (राते काँइला) को आज जन्मदिन परेको छ । सन् १९५७ मे १९ मा काठमाडौंमा जन्मिएका सुनिल आजबाट ६२ औँ बसन्तमा प्रवेश गर्दैछन् ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण उनले कुनै तामझाम नगरी घरमै परिवारसँग सामान्य रुपमा आफ्नो जन्मदिन मनाएका हुन् । यससँगै गत वर्ष आफ्नो जन्मदिनमा खिचिएका तस्विरहरु सेयर गर्दै ति पललाई ताजा पार्ने कोसिस गरेका छन् ।

प्रत्यक्ष भेटेर शुभकामना दिन नसकिए पनि सामाजिक संजालमा उनलाई जन्मदिनको शुभकामना दिने आफन्त, शुभचिन्तक तथा विद्यार्थीहरुको बिहानैदेखि ओइरो लागेको छ । हिरो बन्ने सोचसहित चलचित्र क्षेत्रमा प्रवेश गरेका सुनिल नायकमा भन्दा पनि खलनायकमा बढी जमेका छन् । तुलसी घिमिरे निर्देशित सफल चलचित्र ‘चिनो’ मा खलनायक ‘राते काँइला’ को रुपमा देखिएर चर्चा बटुलेपछि उनको उपनाम नै राते काँइला रहन गएको थियो । र अहिलेसम्म पनि उनी राते काँइलाको रुपमा चिनिन्छन् ।

नेपाली कलाकारहरुमा सुनिल थापा मात्र एक त्यस्ता कलाकार हुन् जसले सर्वाधिक विदेशी चलचित्रमा अभिनय गरेका छन् । भारतीय चलचित्र एक दुजे के लिएबाट बलिउडमा पाइला टेकेका उनले मनु द ग्रे, अल्बेला, नासिबवाला, मेरी कोम जस्ता आधा दर्जन बढी सफल भारतीय चलचित्रमा अभिनय गरेका छन् । जसकारण उनी नेपालमासँगै भारतमा पनि चर्चित छन् ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने सुनिल ६२ वर्षको उमेरमा पनि निकै मेहेनती र फुर्तिला छन् । मानसिक र शारीरिक रुपमा आफूलाई स्वास्थ्य राख्न उनी दैनिक व्यायाम गर्छन् । कलाकारिता क्षेत्रमै आफ्नो सम्पूर्ण जीवन बिताएका उनि ‘एभरेस्ट फिल्म एकेडेमी’ नामक अभिनय प्रशिक्षण केन्द्र संचालन गरिरहेका छन् ।

पछिल्लो पटक उनले गत वर्षको बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ मा अभिनय गरेका थिए । तर उक्त चलचित्र कोरोना भाइरसको कारण प्रदर्शनमा अ‌ाउन सकेकाे छैन ।

Logo