#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19574592724737628050112569354
नेपाल2259273620616313

सिटिजन्स बैंक र आईएमएस ग्रुपको सहयोगमा प्रेस युनियनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं ।

नेपाल प्रेस युनियनले कोरोना महामारीको बेला अग्रपंक्तिमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । नेपाल प्रेस युनियका अध्यक्ष बद्री सिग्देलको सभापतित्वमा युनियनको प्रकाशन विभागले गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगर, महासंघका महासचिव रमेश विष्ट, युनियनका महासचिव अजयबाबु शिबाकोटीसहित पत्रकारहरुको उपस्थितिमा प्रकाशन विभागले स्वास्थ्य सामग्री वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै डा. महतले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न सरकार पूर्णरुपमा असफल भएको बताए । उनले सरकारको असंवेदनशीताका कारण परिस्थिति झन भयावह हुन लागेको बताए । अहिलेको गम्भिर परिस्थतिमा सञ्चारगृहहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्नु, बेतलबी बस्न बाध्य पार्नु वा पारिश्रमिक कटौटी गर्नु अत्यन्त दूर्भाग्यपूर्ण भएको उनको भनाइ थियो ।

‘यस्तो बेला एक जना पत्रकारलाई पनि सञ्चारगृहरुले बेरोजगार बनाउन मिल्दैन,’ महतले भने, ‘पत्रकारले खाइपाइ आएको तलबमा नघटाइ, त्यसमा महामारीमा खटिने पत्रकारहरुलाई थप सुविधा दिनुपर्छ ।’ सञ्चारगृहरुले तबल दिन नसकेका पत्रकारहरुको जागिरको सुनिश्चिता गराउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाली काँग्रेसले गठन गरेको कोरोना संक्रमण तथा रोकथाम अनुगमनको संयोजक समेत रहेका महतले भने, ‘हामी टेकु अस्पताल पुग्दा अस्पताललाई सरकारले नै बेवास्ता गरेको देखियो । यतिसम्म कि स्वास्थ्यमन्त्री तथा मन्त्रालयबाट एक जना प्रतिनिधि समेत अस्पताल जान डराएको देखियो ।’ संकटको बेला सरकारले जनतालाई राहत दिनु पर्नेमा सरकार उल्टै आफू कसरी टिक्ने भन्नेमा व्यस्त रहेको उनले चर्चा गरे ।

सञ्चारकर्मीहरु अप्ठयारोमा हुँदा समेत सरकारले स्वतन्त्र पत्रकारिताको मर्ममै प्रहार गरेको महतको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कोरोना संक्रमणको बेला पत्रकारहरुको रोजीरोटी खोस्ने सञ्चारगृहका कार्यालयमा महासंघको अगुवाइमा ताला लगाउने तयारी भएको बताए ।

संकटको बेला सरकारले पत्रकारिता क्षेत्रलाई पूरै वेवास्ता गरेको बताउँदै उनले भने, ‘सरकारले संकटका बेला पनि पत्रकारहरुलाई राहत दिएन ।’ सञ्चारगृहहरुले पत्रकारहरुलाई तलब दिन तयार भएमा त्यसको मध्यस्तता गर्न महासंघ अग्रसर रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल प्रेस युयिनका अध्यक्ष बद्री सिग्देलले संकटको बेला सञ्चारगृहहरुले पत्रकारहरुमाथि अमानवीय व्यवहार गरेको बताउँदै जागिरबाट हटाइएका पत्रकारहरुलाई तत्काल पुनर्वहाली गर्न चेतावनी दिए ।

जागिरबाट निकालिएका र तलब नपाएका पत्रकारहरुको समस्या सम्बोधन गर्न नेपाल प्रेस युनियनले सुरुदेखि नै सम्बिन्धत क्षेत्रको ध्यानाकर्षण गराएको बताउँदै भने, ‘यसको लागि सुरु गरिएको आन्दोलनमा हाम्रो पूर्ण सहयोग रहन्छ । लोकतन्त्रको पक्षधर काँग्रेसको विशेष ध्यान जाओस भनेर पनि म अपिल गर्दछु ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले अहिलेको संकटका बेला बैंकको व्याजदर घटाउन, पुनर्कर्जा तथा पुनर्संरचनाको लागि आफूहरुले सरकारबाट अपेक्षा गरेको बताउँदै भने, ‘तर सरकार हाम्रो प्रस्ताव लागू गर्न उदासिन भएको देखिन्छ । खाली हुन्छ, हुन्छ मात्र भन्छ, काम गर्दैन ।’ देशको अर्थतन्त्र बलियो बनाउन उद्यमी, व्यावसाय क्षेत्रको महत्वपूर्ण योगदान हुने उनको भनाइ थियो ।

सिटिजन्स बैंकका प्रतिनिधि अमित झाले संकटको बेला सामाजिक उत्तरदायित्व ठानेर आफ्नो बैंकले कोरोना कहरमा सहयोग गरिरहेको बताए । सामाजिक उत्तरदायित्व कोषबाट बैंकले हालसम्म देशभर ६२ लाख रुपैंयाँ खर्च गरेको उनले चर्चा गरे ।

‘अहिलेसम्म हामीले प्रत्येक प्रदेशमा ७/७ लाख रुपैयाँ सामाजिक काममा खर्च गरेका छौं’, झाले भने, ‘यो सहयोग अझै जारी रहन्छ ।’ संकटको बेला पनि समाचार संकलन गरेर पत्रकारहरुले समाजलाई आफनो जिम्मेवरी निर्वाह गरेको उनले चर्चा गरे ।

कार्यक्रममा नेपाल प्रेस युयिनका महासचिव अजयबाबु शिवाकोटीले कोरोना महामारीको बेला देशभर ३ हजारभन्दा बढी पत्रकारहरु बेरोजगार भएको बताए । उनले भने, ‘सञ्चारगृहबाट निकालिएका पत्रकारहरुमा ८० प्रतिशतभन्दा बढी पत्रकारहरु लोकतान्त्रिक विचारधाराका छन् ।’ जागिरबाट निकालिएका पत्रकारहरुलाई राहत दिन नेपाली कांग्रेसले एउटा कोष खडा गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशन विभागकी संयोजक तथा केन्द्रीय सदस्य कल्पना शर्माले कोरोना संक्रमणको महामारीमा अग्रपंक्तिमा खटिने पत्रकारहरुलाई सहयोग गर्न पाएकोमा आफू खुशी भएको बताइन् । पत्रकारहरुलाई उपलब्ध गराइएको स्वास्थ्य सामग्रीमा आईएमएस ग्रुप, सिटिजन्स बैंक इन्टरनेशनल तथा अल सर्जिकल सोलुसन प्रालिले सहयोग गरेको थियो । सहयोग सामग्रीमा प्रेस ज्याकेट, के एन ९५ माक्स, सर्जिकल माक्स, रिचार्ज कार्ड, सेनिटाइजर उपलब्ध गराइएको थियो।

सम्बन्धित समाचारहरु